थपियो अर्को रियालिटी शो डान्स च्याम्पियन

गोपिकृष्ण चापागाईं   POSTED ON : कार्तिक १०, २०७८ (६:२९ AM)

थपियो अर्को रियालिटी शो डान्स च्याम्पियन

काठमाडौं । नेपालमा पछिल्लो केही वर्षयता रियालिटी शोहरूको बाढी नै आइरहेको छ । विभिन्न अन्तर्राष्ट्रिय रियालिटी शोहरूको फ्रेन्चाइज नेपालमा भित्रिरहेका छन् भने केही मौलिक रियालिटी शो चर्चामा छन् । गायन रियालिटी शोको कुरा गर्दा अन्तर्राष्ट्रिय बजारमा निकै चर्चामा रहेका नेपाल आइडल र द भ्वाइसले नेपालमा पनि राम्रो लोकप्रियता कमाएका छन् । यस्तै डान्सिङ रियालिटी शोमा डान्सिङ विथ द स्टारले केही हदसम्म चर्चा कमायो । यस्तै अहिले अर्को अन्तर्राष्ट्रिय बजारकै गायन रियालिटी शो सारेगम पनि प्रसारण भइरहेको छ । 

कमेडी मौलिक रियालिटी शो कमेडी च्याम्पियनले पनि लोकप्रियता कमायो । यसैबीच यही भिडमा अर्को डान्सिङ रियालिटी शो ‘डान्स च्याम्पियन’ प्रसारणमा आउने भएका छन् । यो भने अन्तर्राष्ट्रिय बजारको फ्रेन्चाइज नभई मौलिक डान्सिङ रियालिटी शो हुने बताइएको छ । इन्टरनेशनल डान्स एकेडेमी एण्ड फिल्मस् प्रालिले कि एडभर्टाइजिङ सर्भिस प्रालिका लागि कार्यक्रम उत्पादन गर्नेछ ।

मंगलबार काठमाडौंको एभरेष्ट होटलमा आयोजित पत्रकार सम्मेलनमा कार्यक्रम बारे जानकारी गराइएको थियो । कार्यक्रम यही कात्तिक २५ गते बिहीबारदेखि कान्तिपुर टेलिभिजनमार्फत प्रसारण गरिने जानकारी गराइयो । यस्तै डिजिटल राइट्स ओ.एस.आर डिटिजलले लिएको छ ।

शो प्रत्येक बिहीबार र शुक्रबार साताको दुई दिन बेलुकी ९ बजेदेखि टेलिभिजनमा प्रसारण हुने बताइएको छ । यस्तै यस शोका लागि निर्णायकहरू छनोट भइसक्नुभएको छ । पत्रकार सम्मेलनमा तीन निर्णायकको परिचय गराइयो । नेपाली चलचित्र क्षेत्रकी लोकप्रिय अभिनेत्री निरुता सिंह, डान्सर आश्मा विश्वकर्मा र कोरियोग्राफर जगत रावल निर्णायकको भूमिकामा रहने बताइयो । शोको निर्देशन गजित विष्टले गर्दै हुनुहुन्छ । यस्तै शोमा होष्टको रूपमा भने उमेश राई (फुलन्देकी आमा) र निशान्त कटुवाल रहनुभएको छ ।

कार्यक्रममा निर्देशक विष्टले शोको फर्मेट आफ्नै मौलिक हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो शो कुनै विदेशी फ्रेन्चाइज होइन, त्यसैले हाम्रो फर्मेट हुनेछ ।’ निर्देशक विष्टका अनुसार शोमा विजेता हुनेका लागि २५ लाख रुपैयाँ धनराशी पुरस्कार राखिएको छ । कार्यक्रम ३४ भागको रहनेछ ।

शोका लागि यसअघि नै डिजिटल अडिशन भइसकेको जानकारी गराइयो । निर्णायकको भूमिकामा बस्दा आफूहरूमा थप जिम्मेवारी थपिएको अभिनेत्री निरुताले बताउनुभयो । ‘यसअघि कुनै टेलिभिजन शोमा म यसरी निर्णायक बस्ने मौका पाएकी थिइन्, मेरो लागि नयाँ हो । उत्साहितसँगै जिम्मोवारी थपिएको आभास भएको छ । मेरोतर्फबाट वेष्ट गर्नेछु ।’ निरुताले भन्नुभयो, ‘अहिलेको समयमा रियालिटी शोमा दर्शकहरूको ध्यान गएको छ । विशेषगरी विदेशी रियालिटी शो नेपालमा निकै हेरिन्छ, हामी मौलिक रियालिटी शोमार्फत जोडिएका छौं, त्यसैले कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनुहुन आग्रह गर्छु ।’

निरुताले आफूलाई अभिनयसँगै नृत्यको पनि राम्रो ज्ञान भएको जानकारी गराउनुभयो । अभिनयमा बढी लोकप्रियता कमाए पनि नृत्यमा आफूलाई ज्ञान भएको र न्यायपूर्ण तरिकाले निर्णायकको भूमिका निभाउने उहाँको भनाइ थियो । नेपाली चलचित्र क्षेत्रमा दक्षिणाबाट डेब्यु गर्नुभएकी निरुताले दर्जनौं गीतमा नृत्य गर्नुभएको छ । साथै उहाँको नृत्यको तारिफ गर्ने गरिन्छ । अर्की निर्णायक आश्माले आफू सानैदेखि नृत्यमा लागिरहेको र अनुभव धेरै लिएको जानकारी गराउनुभयो । विभिन्न रियालिटी शोहरूमा विजेता बन्नुभएकी आश्मा शोका लागि उत्साहित रहेको बताउनुभयो । आश्मा डान्सिङ ग्रुप कार्टुन क्रुको सदस्य हुनुहुन्छ ।

यस्तै अर्का निर्णायक कोरियोग्राफर जगत रावल लामो समयदेखि भारतमै बसेर विभिन्न रियालिटी शोको अनुभव बटुल्नुभएको छ । उहाँले डान्स इण्डिया डान्समा आफ्नो ट्यालेन्ट देखाइसक्नुभएको छ भने थुप्रै स्टारलाई कोरियोग्राफी गरिसक्नुभएको छ । नेपाली भाषा प्रष्ट बोल्न नआउने रावलले नेपाली भाषा सिक्ने र शो सुरु हुन्जेलसम्म सकेसम्म पूरा नेपालीमै बोल्ने जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, ‘म भारतमै बढी भएकाले नेपाली भाषा पूरा आउँदैन । तर म सिक्दैछु । छिट्टै धेरै नै सिक्छु होला । शोमा नेपालीमै बोल्नेछु ।’

शोका निर्देशक विष्टले पछिल्लो समय रियालिटी शोको बाढीमै आफूहरू आउँदा झन् राम्रो हुने बताउनुभयो । उहाँले भन्नुभएको छ, ‘त्यो बाढीमै मिसिएर आइयो भने नराम्रो कुराहरूलाई बगाएर लैजान्छ । त्यसबाट राम्रो छानिन सक्छ ।’ विष्ट नेपाली चलचित्रमा अभिनय गर्ने कलाकार पनि हुनुहुन्छ । उहाँले मायाज बार, हैरान, लभ यु बाबा, धौलीलगायत चलचित्रमा अभिनय गर्नुभएको छ । थुप्रै म्युजिक भिडियो निर्देशन गर्नुभएका विष्टसँग नृत्यको पनि राम्रो ज्ञान छ ।


Top