अभिनेता महेश क्यान्सरमुक्त

एजेन्सी   POSTED ON : कार्तिक १०, २०७८ (६:४८ AM)

अभिनेता महेश क्यान्सरमुक्त

मुम्बई । अभिनेता एवं चलचित्र निर्माता महेश माञ्जरेकर क्यान्सरमुक्त हुनुभएको छ । केही समयअघि क्यान्सरबाट पीडित महेश दुई महिनापछि क्यान्सरमुक्त हुनुभएको हो । दुई महिनाअघि उहाँको सर्जरी गरिएको थियो । 

यो सर्जरी मुम्बईको एचएन रिलायन्स फाउण्डेसन अस्पतालमा गरिएको थियो । सर्जरीपछि उहाँ केही समय अस्पतालमै बस्नुभएको थियो । उहाँले भन्नुभएको छ, ‘मैले ३५ किलो तौल कम गरेको छु । फिल्म ‘अन्तिम’को समयमा म क्यान्सर पीडित रहेको थाहा पाएँ । मैले फिल्मको अन्तिम भागको सुटिङ त्यो बेला गरें, जुनबेला मलाई क्यान्सर थियो र मेरो किमोथेरापी चलिरहेको थियो । तर म आज तपाईंहरूलाई यो कुरा सुनाउन पाउँदा हर्षित छु कि म क्यान्सरमुक्त भएँ ।’

उहाँले आफूलाई क्यान्सरको बारेमा थाहा पाउँदा डर नलागेको खुलाउनुभएको छ । उहाँ भन्नुहुन्छ, ‘धेरै मानिसहरू जसलाई क्यान्सर भएको छ, उनीहरू लड्छन र जिन्दगी जिउछन् । त्यसकारण यसले मलाई ठूलो समस्या दिएन । मेरो टिमले मेरो स्याहार गरिरहेको थियो । त्यसकारण मलाई कुनै समस्या आएन ।’ 

महेशले सन् १९९२ मा रिलिज मराठी चलचित्र ‘जीवा सखा’बाट आफ्नो करियर सुरु गर्नुभएको थियो । उहाँले मराठीका अलावा कैयौं हिन्दी फिल्ममा काम गर्नुभएको छ । उहाँले ‘प्लान’, ‘जिन्दा’, ‘मुसाफिर’, ‘काँटे’, ‘दश कहानियाँ’, ‘वान्टेड’, ‘रेडी’ र ‘दबंग’जस्ता चलचित्रमा अभिनय गरिसक्नुभएको छ भने ‘आई’, ‘वास्तव’, ‘निदान’ र ‘विरुद्ध’ जस्ता फिल्मको निर्देशन गरिसक्नुभएको छ ।


Top