इजरायली चलचित्र महोत्सव हुने

हिमालय टाइम्स   POSTED ON : मंसिर ४, २०७८ (७:३२ AM)

इजरायली चलचित्र महोत्सव हुने

काठमाडौं । काठमाडौंमा १३औँ इजरायली चलचित्र महोत्सव आयोजना हुने भएको छ । इजरायली राजदूतावासले इन्टरनेसनल साउण्ड सर्भिसेसको प्राविधिक सहकार्यमा महोत्सव गर्न लागेको हो । मंसिर १० देखि ११ गते अर्थात् (२६-२७ नोभेम्बर २०२१) मा होटल सोल्टीको प्रांगणमा आयोजना हुने महोत्सवमा नेपालमा एक पृथक् किसिमको चलचित्र शो ‘ड्राइभ-इन शो’ भित्र्याउने प्रयास हो । विश्वमा ‘ड्राइभ-इन शो’ नौलो होइन । तर, नेपालमा भने यो पहिलोपटक आयोजना हुँदैछ ।

आफ्नै गाडीभित्रको सुरक्षित घेरामा बसेर हेर्ने ‘ड्राइभ-इन शो’ ले कोरोनाका कारण शिथिल भएको फिल्म क्षेत्रलाई टेवा दिने अपेक्षा राखिएको इजरायली राजदूतावासले विज्ञप्तिमार्फत् जनाएको छ । आफ्नो परिवारसँग बसेर सामाजिक दूरी कायम राखेर चलचित्र हेर्न चाहने कुनै पनि व्यक्तिका लागि यो शो खुला रहनेछ । तर, आफ्नो पार्किङ स्थान सुरक्षित गर्नका लागि सोल्टी होटलको वेबसाइटमा गई फर्म भर्नुपर्नेछ । यस्ता सांस्कृतिक महोत्सवले दुई देशका जनताबीचमा प्रगाढ सम्बन्ध विस्तार गर्न मद्दत पुग्ने विश्वास राजदूतावासले लिएको विज्ञप्तिमा उल्लेख छ ।


Top