रमरम मरौटीको करोड भ्युज सेलिब्रेशन

गोपिकृष्ण चापागाईं   POSTED ON : मंसिर ५, २०७८ (८:१२ AM)

रमरम मरौटीको करोड भ्युज सेलिब्रेशन

काठमाडौं । डेढ महिनाअघि सार्वजनिक नेपाली लोक तथा दोहोरी गीत ‘रमरम मरौटी’लाई युट्युबमा करोडभन्दा बढी पटक हेरिएको उपलक्ष्यमा यस गीतको निर्माण टिमले केक काटेर सेलिब्रेशन गरेको छ । 

शनिबार काठमाडौंमा पत्रकार भेटघाट गर्दै गीतको टिमले केक काटेर अडियो तथा भिडियोमा आबद्ध कलाकार तथा प्राविधिकहरूलाई मायाको चिनो प्रदान गरेको थियो । साथै केही सञ्चारकर्मीलाई पनि मायाको चिनोसँग सम्मान पत्र प्रदान गरिएको थियो । ५० दिनअघि ओबी रायमाझी युट्युब च्यानलबाट अपलोड गरिएको यस गीत एक महिनामै करोड पटक हेरिएको थियो भने अहिले यस समाचार तयार पार्दासम्म १ करोड २५ लाख पटक हेरिएको छ ।

कार्यक्रममा यस गीतका गायक तथा संगीतकार खेम सेञ्चुरीले छोटो समयमै ‘रमरम मरौटी’लाई दिएको ठूलो साथप्रति सम्पूर्ण दर्शक तथा श्रोतालाई धन्यवाद व्यक्त गर्नुभयो । ‘दर्शक तथा श्रोतालाई पनि विशेष धन्यवाद दिनैपर्छ । हामीले बनाएका हरेक गीतलाई उत्तिकै माया गरिरहनुभएको छ’, खेमले भन्नुभयो, ‘अर्को कुरा यो गीतमा अडियोदेखि भिडियोमा पर्दा अगाडि र पछाडि धेरैले महत्वपूर्ण भूमिका निभाउनुभएको छ । उहाँहरूलाई विशेष सम्झिउको छु ।’ गायिका अस्मिता अधिकारीले पनि राम्रो गीत गाउन दिएकोमा खेमसँगै टिमलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।

गीतका मोडल तथा गीत बनाउन माहौल बनाउनु हुने ओबी रायमाझीले पनि आफूले काम गरेको गीतलाई दिएको मायाले आफू निकै खुशी भएको र भोलिको दिनमा अझ राम्रो काम गर्दै जाने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा भिडियोकी कलाकार पूजा शर्माले लोक तथा दोहोरी गीतमा काम गर्दा निकै आनन्द आउने र नेपाली संगीतको स्रोत नै लोकगीत भएको जनाउनु भएको थियो । ‘कतिपयले मलाई अझै पनि सोध्नुहुन्छ, किन दोहोरीमा काम गरेको, किन यस्तो गीतहरूमा काम गर्छाैं भन्नुहुन्छ, नेपाली गीतसंगीतको इतिहास हेर्ने हो भने लोकगीतबाटै सुरु भएको हो । त्यसैले मैले लोक तथा दोहोरी गीतलाई सधैं माया गर्छु’, पूजाले भन्नुभयो, ‘म लोकगीत सुनेरै हुर्किएकी हुँ त्यसैले लोकगीतमा काम गर्न पाउँदा सधैं खुशी हुन्छु ।’ पूजाले सुरुमा गीतमा प्रयोग भएका मरौटी र करौटीको अर्थ नबुझेको र पछि कोरियोग्राफर तथा निर्देशक रामजी लामिछानेले बुझाएपछि सुन्दा झनै आनन्द लागेको बताउनुभयो । कार्यक्रममा एरेन्जर श्याश्वेत रसाइलीले पनि आफ्ना भनाइ राख्नुभएको थियो । 

युट्युबमा करोड भ्युज पुगेपछि आम्दानी भने सार्वजनिक गरिएको थिएन । गीत अपलोड गरिएको उक्त युट्युब च्यानलका सञ्चालक ओबी रायमाझीले गीतले लगानी उठाएको र केही मुनाफा भएको तर निकै धेरै आम्दानी भने करोड भ्युज पुग्दैमा नहुने बताउनुभयो । जापानमा रहनुभएकी प्रिन्सेस खरेलको लगानी रहेको यस गीतमा नेत्र अर्यालको शब्द छ ।

Top