मानन्धरको कृति ‘हट चेयर’माथि चर्चा

हिमालय टाइम्स   POSTED ON : मंसिर ५, २०७८ (८:२३ AM)

मानन्धरको कृति ‘हट चेयर’माथि चर्चा

भक्तपुर । त्रिरत्न मानन्धरको संस्मरणात्मक कृति ‘हट चेयर’माथि चर्चापरिचर्चा सम्पन्न भएको छ । नागरिक उड्डयनका क्षेत्रमा तीन दशक बढी कार्यरत मानन्धरले कार्यक्रममा किताबको नाम ‘हट चेयर’ राख्नुको कारण पनि खुलाउनु भयो ।  

शनिबार बिहान रिडर्स हब, कौशलटारद्वारा आयोजित ‘सिर्जना र अनुभूति’ कार्यक्रममा उक्त चर्चा सम्पन्न भएको हो । एटिसी (एभर ट्राफिक कन्ट्रोलर)बाट उड्डयन विभागका महानिर्देशकसम्मको जिम्मेवारी सम्हाल्नु भएका मानन्धरले एउटा एटिसीले कामका क्रममा हमेसा हट चेयरमा बस्नुपर्ने भएकाले पुस्तकको नाम नै ‘हट चेयर’ राखेको बताउनुभयो । उहाँले विभिन्न उदाहरण दिँदै उड्डयनका क्षेत्रको काम कठिन भएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा सर्जक तथा रेडियो कार्यक्रम प्रस्तोता प्रकाश सायमीले ‘हट चेयर’ले पाठकलाई नौलो विषय पस्केको बताउनुभयो । कार्यक्रममा रमेशानन्द वैद्य, प्रा.डा सनतकुमार वस्ती, तुलसीहरि कोइराला, अश्विनी कोइराला, सीताराम उप्रेती, नरेन्द्रप्रसाद घिमिरे, केशव घिमिरे, जीवनारायण श्रेष्ठ, ढकाल राधेश्याम, अनुप आचार्यलगायतले बोल्नुभएको थियो ।

Top