कलाकर्मीमा पनि महाधिवेशनको चटारो

हिमालय टाइम्स   POSTED ON : मंसिर ९, २०७८ (७:०० AM)

कलाकर्मीमा पनि महाधिवेशनको चटारो

काठमाडौं । यतिबेला देशभर विभिन्न राजनीतिक दलहरू महाधिवेशनको चटारोमा छन् । यसैबीच केही नेपाली कलाकर्मीहरू पनि राजनीतिमा चासो व्यस्त गर्छन् । कतिपय कलाकर्मी खुलेरै विभिन्न दलहरूको प्रचारमा हिँड्छन् । यसैबीच कांग्रेसको चौधौं अधिवेशन नजिकिएसँगै कांग्रेस निकट नेपाली फिल्मकर्मीको दौडधुप सुरु भएको छ । 

चलचित्र निर्माता संघका महासचिव तथा निर्माता रोज राणा प्यूठानबाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन हुनुभएको छ । प्यूठानका क्षेत्रीय सभापति समेत रहनुभएका राणा कांग्रेसका सभापति शेरबहादुर देउवा निकट मानिनुहुन्छ । चलचित्र निर्देशक सम्झना उप्रेती रौनियार (मधेसी कोटा) पनि प्रदेश सभा क्षेत्र नं-१ काठमाडौंबाट कांग्रेसको महाधिवेशन प्रतिनिधिमा विजयी हुनुभएको छ ।

त्यस्तै, निर्देशक तथा नेपाल सांस्कृति संघका सभापति तीर्थ थापा बेसीशहर लम्जुङबाट महाधिवेशन प्रतिनिधि र चलचित्र प्राविधिक संघका पूर्वअध्यक्ष मनोज केसी प्रदेश प्रतिनिधिमा काठमाडौं जिल्ला क्षेत्र नं–१ प्रदेश (क)बाट विजयी हुनुभएको छ । हेटौंडा निवासी कलाकार सुशान्तकुमार श्रेष्ठ भने मकवानपुरको प्रतिनिधि सभा क्षेत्र नं-१ प्रदेश सभा (क)को सभापतिमा निर्विरोध चुनिनु भएको छ । 

कोरियोग्राफर तथा ‘इन्टु मिन्टु लण्डनमा’ की निर्देशक रिनाशा वान्तवा राई (राणा)ले पनि कांग्रेस महाधिवेशन प्रतिनिधिका लागि इलाम क्षेत्र नं-२ बाट आदिवासी जनजाति महिला कोटामा महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दिनुभएको थियो । तीनजना महाधिवेशन प्रतिनिधि चयन हुने आदिवासी जनजाति महिला कोटामा पाँचजनाको उम्मेदवारी परेको थियो । रिनाशाले पाँचांै मत पाउनुभयो र पराजित हुनुभयो ।

यतिबेला इलाममा रहनु भए राईले गाउँ समाजको परिवेश र समाजसेवा गर्ने ध्येयले आफूलाई राजनीतिमा सक्रिय बन्न प्रेरित गरेको बताउनुभएको छ । 

Top