काठमाडौंमा १३औं इजरायली चलचित्र महोत्सव सुरु

हिमालय टाइम्स   POSTED ON : मंसिर १२, २०७८ (८:०५ AM)

काठमाडौंमा १३औं इजरायली चलचित्र महोत्सव सुरु

काठमाडौं । १३औं इजरायली चलचित्र महोत्सव काठमाडौंमा सुरु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेमबहादुर आलेले बिहीबारबाट साँझ होटल सोल्टीमा आयोजित एक कार्यक्रमबीच महोत्सवको उद्घाटन गर्नुभयो ।

कार्यक्रममा मन्त्री आलेले इजरायली फिल्म निर्मातालाई नेपालको मनोहर दृश्य र सौन्दर्य आफ्नो फिल्ममा पनि समेट्न आग्रह गर्नुभयो । देशको पर्यटन प्रवद्र्धनमा विदेशी फिल्मको छायांकनले सकारात्मक प्रभाव पार्ने बताएका मन्त्री आलेले नेपाल छायांकनमा आउने फिल्मलाई राहत प्याकेजको व्यवस्थासमेत गर्न लागेको जानकारी दिनुभयो ।

इजरायली संस्कृति, कला र परम्पराको प्रवद्र्धनका साथै दुई देशबीचको जनस्तरको सम्बन्ध मजबुत बनाउन महोत्सव आयोजना गरिएको कार्यक्रममा नेपालका लागि इजरायली राजदूत हनान गोडेरले बताउनुभयो । त्यस्तै अभिनेता राजेश हमालले फिल्म सिमानारहित र तिनको सन्देश सार्वभौमिक हुने विचार राख्नुभएको थियो । 

इजरायली राजदूतावासले यो पटकको महोत्सव इन्टरनेशनल साउण्ड सर्भिसेसको प्राविधिक सहकार्यमा ‘ड्राइभ-इन शो’ ढाँचामा आयोजना गरेको हो । एफएम रेडियो जडित सवारीसाधनमा बसेर सोल्टी होटलको पार्किङमा ठूलो पर्दामा महोत्सवका फिल्म हेर्न सकिनेछ । विश्वमा ‘ड्राइभ-इन शो’ नौलो होइन । तर नेपालमा भने यो पहिलो पटक आयोजना भएको हो ।

Top