‘एक मुठ्ठी बादल’लाई रोट्रेड्याम अवार्ड

हिमालय टाइम्स   POSTED ON : मंसिर १२, २०७८ (८:०७ AM)

‘एक मुठ्ठी बादल’लाई रोट्रेड्याम अवार्ड

काठमाडौं । सहारा शर्माको लेखन र निर्देशन रहने ‘एक मुठ्ठी बादल’ ले भारतको नेशनल फिल्म डेभलपमेन्ट कर्पोरेशन (एनएफडीसी) मा रोट्रेड्याम अवार्ड पाउन सफल भएको छ । यो अवार्ड पाएसँगै चलचित्रले नेदरल्याण्डको रोट्रेड्याम ल्याबमा जाने मौका पाएको छ । 

फिल्म बजारको को-प्रोडक्सन मार्केटको कार्यक्रम २० देखि २५ नोभेम्बर सम्म भर्चुअल रूपमा चलेको थियो । चलचित्र ‘एक मुठ्ठी बादल’का निर्माता अभिमन्यु दीक्षितलाई यो अवसर प्रदान गरेको जनाइएको छ । दक्षिण एसियाका उदाउँदो निर्माताको रूपमा दीक्षितलाई यो अवसर दिइएको हो । ‘एक मुठ्ठी बादल’ ले विदेशी चलचित्रकर्मीहरूसँग सहनिर्माण गर्ने मौका पाएकोमा निकै खुशी लागिरहेको निर्माता अभिमन्यु दीक्षितले फेसबुकमा उल्लेख गर्नुभएको छ । 

एनएफडीसीले एक महिनाअघि ११ देशबाट छनोट भएका २० फिल्मको सूची सार्वजनिक गरेको थियो । जसमा नेपालबाट ‘एक मुठ्ठी बादल’को स्क्रिप्ट छनौट हुन सफल भएको थियो । गौंथली इन्टरटेन्मेन्टको प्रोडक्सन रहेको यस फिल्ममा अभिमन्यू दीक्षित र अभिनेत्री ऋचा शर्मा निर्माताका रूपमा रहनु भएको छ ।

केही अप्रत्यासित र दुर्भाग्यपूर्ण घटनाहरूपश्चात् आमा र उहाँको परिवारले वर्षौं देखिको रहस्य र कुन्ठाहरू कसरी सामना गर्न बाध्य हुन्छन्-त्यही कथाको सेरोफेरोमा फिल्म ‘एक मुठ्ठी बादल’ आधारित छ । चलचित्रका निर्माता अभिमन्यु नेदरल्याण्डमा आउँदो जनवरी २६ देखि फेब्रुवरी ६ सम्म चल्ने फिल्म फेस्टिभलमा सहभागी हुनुहुनेछ । जहाँ फिल्मकर्मी बाहेक सेल्स एजेन्ट र वितरकको पनि सहभागिता रहनेछ ।

Top