सिनेमा हल सञ्चालकलाई नवीकरण शुल्क छुट

हिमालय टाइम्स   POSTED ON : मंसिर १६, २०७८ (८:२९ AM)

सिनेमा हल सञ्चालकलाई नवीकरण शुल्क छुट

काठमाडौं । सरकारले सिनेमा हल सञ्चालकलाई नवीकरण शुल्क छुट दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चलचित्र निर्माण, प्रदर्शन तथा वितरण सातौं संशोधन नियमावली २०७८ स्वीकृत गरेपछि सिनेमा हल सञ्चालकले नवीकरण शुल्कमा छुट पाएका हुन् ।

‘चलचित्र निर्माण, प्रदर्शन तथा वितरण सातौं संशोधन नियमावली २०७८ सरकारले स्वीकृत गरेपछि अब हल सञ्चालकले नवीकरण शुल्क तिर्नुपर्ने छैन,’ चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले भन्नुभएको छ, ‘प्रत्येक चार वर्षमा सिनेमा हल सञ्चालकले नवीकरण गर्दा सरकारले तोकेको शुल्क तिर्नु पथ्र्यो अब उक्त शुल्क तिर्नुपर्ने छैन ।’

उहाँका अनुसार सिनेमा हलको क्षमता अनुसार शुल्क निर्धारण गरिएको हुन्छ । ‘हल अनुसार शुल्क तिर्नुपर्छ । ५० हजारसम्म हल सञ्चालकले नवीकरण शुल्क तिरिरहेका छन्,’ अध्यक्ष दाहालले भन्नुभएको छ । नेपालमा कोरोना संक्रमण सुरु हुनुपूर्व १९३ वटा स्क्रिन थिए । त्यसमध्ये करिब २५ वटा सिनेमा हल बन्द भइसकेका छन् ।


Top