‘लाखे’ चलचित्र बन्ने, नयाँ कलाकारको खोजी

हिमालय टाइम्स   POSTED ON : मंसिर १६, २०७८ (८:३८ AM)

‘लाखे’ चलचित्र बन्ने, नयाँ कलाकारको खोजी

काठमाडौं । नयाँ नेपाली चलचित्र ‘लाखे’ निर्माण हुनेभएको छ । चलचित्रका लागि केही चर्चित कलाकार छनोट भइसक्नुभएको छ भने केही नयाँ कलाकारको खोजी गरिएको बताइएको छ । चलचित्रलाई यसअघि नेपाली चलचित्र ‘पासवर्ड’ निर्देशन गरिसक्नु भएका सम्राट बस्नेतले निर्देशन गर्दै हुनुहुन्छ ।

चलचित्रका लागि सौगात मल्ल, अनुपविक्रम शाही, आर्यन अधिकारी, अर्पण थापा, सुशील सिटौला, विजय बराल, सुनिल थापालगायत कलाकार फाइनल भइसक्नुभएको छ । चलचित्रका लागि अझै केही कलाकार छनौटको क्रममा छन् । बाँकी कलाकार अडिशनमार्फत छनौट हुने निर्देशक बस्नेतले बताउनुभयो ।

‘प्रतिभा भएर पनि अभिनय अवसर नपाएका र कलाक्षेत्रमा करियर बनाउन चाहनेलाई अवसर दिन अडिशन गर्न लागिएको हो’, निर्देशक बस्नेतले भन्नुभएको छ, ‘अडिशनले फिल्म क्षेत्रमा नयाँ तथा प्रतिभावान व्यक्ति पाउँछ भन्ने विश्वास छ ।’ चलचित्रको करिब आधादर्जन चरित्रका लागि कलाकार अडिशनमार्फत छान्न लागिएको हो ।

निर्देशक बस्नेतका अनुसार चलचित्रका लागि १८ देखि २४ वर्षसम्मको एक मुख्य अभिनेत्री, ८ देखि १० वर्षको एक बालकलाकार, १७ देखि २४ वर्षसम्मको एक महिला कलाकार र २६ देखि ५० वर्षसम्मको १० पुरुष सहायक कलाकार छानिनेछ । 

कलाकार छनौटका लागि अडिशन आगामी शनिबार अर्थात् मंसिर १८ गते कान्तिपुर फिल्म एकेडेमीमा बिहान ११ः३० बाट राखिएको फिल्मका कार्यकारी निर्माता हरि मल्ल ठकुरीले जानकारी दिनुभयो । ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टर प्रालि र औरियन प्रोडक्सन प्रालिको व्यानरमा निर्माण हुने चलचित्रका निर्माता सिजन अर्याल हुनुहुन्छ । 

कथासमेत निर्माता अर्यालकै रहेको चलचित्रको गणेश मल्ल ठकुरीको प्रस्तुकर्ता र हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहनुभएको छ । चलचित्र आउँदो पुसबाट छायांकन हुनेछ । ठूलो बजेटमा निर्माण हुने बताइएको चलचित्रको नाम ‘लाखे’ राखिए पनि नेपाली संस्कृतिमा रहेको लाखे परम्परा विषयवस्तुमा पुरै नसमेटिएको निर्देशक बस्नेतले बताउनुभयो । 

Top