हरिवंशको गीतमा चेलिबेटी बेचबिखनविरुद्धको सन्देश

हिमालय टाइम्स   POSTED ON : पुष ३०, २०७८ (८:५४ AM)

हरिवंशको गीतमा चेलिबेटी बेचबिखनविरुद्धको सन्देश

काठमाडौं । वरिष्ठ हास्य अभिनेता हरिवंश आचार्यले नयाँ गीत गाउनुभएको छ । आफ्नै शब्द र संगीतमा रहेको ‘कर्कलो कोक्याउला’ बोलको गीतमा चेलिबेटी बेचबिखनको सन्देश दिइएको छ । 

बिहीबार काठमाडौंको राइजिङ मलमा रहेको क्युज सिनेमा हलमा एक कार्यक्रमको आयोजना गर्दै गीतको भिडियो सार्वजनिक गरियो । भिडियोमा कलाकार हरिवंशसँगै स्वस्तिमा खड्काको अभिनय रहेको छ । गीतको भिडियोलाई मानव सुवेदीले निर्देशन गर्नुभएको हो भने सुशील सापकोटाले खिच्नुभएको हो ।

कार्यक्रममा माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइरालालाई प्रमुख अतिथिको रूपमा निम्त्याइएको थियो । कार्यक्रममा कलाकार हरिवंशले जति पनि संसारभर चेलिबेटीले नरकिए जीवन बिताउनुपरेको छ । त्यस्तो काम रोकिनुपर्छ भन्ने सन्देश दिएको गीत बनाइएको बताउनुभयो । ‘हामीले यसअघि विभिन्न माध्यमबाट यस्तै सन्देशमूलक सामग्री दिइसकेका छौं । यस्तो सन्देश दिने गीतसंगीत तथा नाटकहरूमा सधैं काम गर्नेछौं’, हरिवंशले भन्नुभयो, ‘गज्जब टिभीका सरोज जीसँग कुरा भयो र कलाकार स्वस्तिमालाई भिडियोमा राख्नुपर्छ भनेर मैले कुरा निकाले र भिडियोको काम अघि बढ्यो ।’

कार्यक्रममा विशिष्ट अतिथी प्रहरी महानिरीक्षक शैलेख थापा क्षेत्रीले कलाकारले मनोरञ्जनका लागि नभएर सन्देशमूलक गीतमा काम गरेकोमा धन्यवाद दिनुभयो । साथै नेपाली प्रहरीले चेलिबेटी बेचबिखनका लागि छुट्टै समूह नै खडा गरेर काम गरिरहेको जानकारी दिनुभयो । उहाँले यसरी नै हरेक नागरिकले सन्देश फैलाउनुपर्ने बताउनुभयो ।

साथै कलाकार स्वस्तिमाले पनि आफूभन्दा अग्रज कलाकारसँग काम गर्न पाउँदा खुशी लागेको बताउनुभयो । साथै सन्देशमूलक गीतमा काम गर्न पाउँदा फरक अनुभव भएको बताउनुभयो । यस्तै भिडियोका निर्देशक मानव सुवेदीले नेपाली माटोमा भइरहेको कथालाई जस्ताको तस्तै भिडियोमा उतार्ने कोसिस गरेको बताउनुभयो । गीतमा एक स्कुले छात्रा बसमा यात्रा गर्दै गर्दा केही युवाहरूले ललाइफकाइ बेच्न लैजान खोजिएको कथा प्रस्तुत छ ।

‘नेपाली चेलीबेटी बेचबिखनसँग देशको इज्जत जोगिने भएकाले यो कुप्रथाबाट देशका दिदी-बहिनीलाई मुक्त बनाइदिन सक्यो भने हाम्रो काम सार्थक भएको हामी मान्छौं । त्यसैले यसलाई हेरेर शेयर गरिदिनुहोला’, हरिवंशले भने । किरण तुलाधरको एरेन्ज रहेको गीतको अडियो र भिडियोमा सरोज वलीको लगानी रहेको छ ।


Top