21st October | 2020 | Wednesday | 7:21:18 AM

तीन जिल्लाको भारी बोक्ने भरिया दाइको अवसान

ध्रुर्बसागर शर्मा   POSTED ON : आश्विन १०, २०७७ (८:३५ PM)

तीन जिल्लाको भारी बोक्ने भरिया दाइको अवसान

“सिमली छायाँमा बसी भरिया लामो सास फेरेको

उमेर भैसक्यो असी झन ठूलो दुःखले घेरेको ” 

म्याग्दी । 

प्रगतिशील गायक जीवन शर्माको यो गीतले भने जस्तै झन्डै ५ दशक निधारमा नाम्लो र पिठ्यूँमा भारी बोकेर ज्यान पाल्दै आएका  ‘मुदी लातुु’ भनिने एक वृद्धाको भीरबाट घाइते भै उपचारका क्रममा पोखरामा मृत्यु भएपछि दुःख र श्रद्धाञ्जलिका शब्द र तस्वीरले सामाजिक संजाल रंगिएको छ ।

बेनी नगरपालिका–१ रत्नेचौरको रानीवन जंगलको पहिरोमा चिप्लिएर करिब २५ मिटर तल खसेर अचेत अवस्थामा भेटिएका उनको रत्नेचौर स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरी बेनी अस्पताल हुदै गण्डकी अस्पताल पोखरामा उपचारकै क्रममा बिहीबार मृत्यु भएको थियो ।

म्याग्दी, बागलुङ र पर्वत जिल्लाको सदरमुकामदेखि ग्रामिण क्षेत्रसम्म भारी बोक्ने भरियाको रुपमा चिनिएका बृद्ध  ‘मुदी लातु’ यस क्षेत्रमा सबैका प्रिय व्यक्ति थिए । उनी मंगला गाउँपालिका २ बाबियाचौरका रहेको मृत्यु पछि खुलेको छ ।

भारी बोकेरे धेरैलाई आफ्नो बनाएका बृद्धको उपचारको क्रममा मृत्यु हुदाँ गुमनाम भएनन् ।

पसलका सामान बोकेर ग्राहकको घरमा पुग्ने, विवाहमा दुलाह पक्षबाट भारी बोकेर जन्तीसँगै जाने, अन्य विभिन्न काममा भारी बोकेरै पेट पाल्ने गरेका ‘मुदी लातु’ घाईते अवस्थामा भेटिदाँ उपचारमा समेत आर्थिक अभाव हुन नदिने धेरैले प्रतिबद्धता जनाएका थिए ।

उपचारको क्रममा पोखरामा मृत्यु भएपछि म्याग्दी,पर्वत र बागलुङबाट उनलाई चिनेकाहरु अस्पतालसम्म पुगे । धेरैले सामाजिक सञ्जालमा उनका पुराना तस्वीरहरु समेत पोष्ट गरे ।

‘मेरो विवाहमा पनि भारी बोकेर जानुभएको थियो,‘उपचारमा आवश्यक सहयोगका लागि पोखराका डाक्टरलाई पनि सहयोग मागे’ बागलुङका जिल्ला समन्वय अधिकारी राजु पौडेलले भने ।

गाउँघरमा भारी बोकेर हिड्ने भएपनि धेरैले उनलाई आफ्नो गाँस समेत काटेर खुवाउने गरेको पौडेलको भनाई छ । 

‘निधारमा नाम्लो र ओठमा हाँसो कहिल्यै टुटेन’ फेसबुकमा श्रद्धाञ्जली दिदैं बागलुङ शिवनगर टोलका सुमन शर्माले लेखेको छन् । शर्मासँगै धेरैले मृत्यु भएको खवरले दुखी भएको बताएका छन् ।

यता म्याग्दीका प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले एउटा समान्य भरियाका बारेमा सामाजिक सञ्जाल, फोनमा समेत धेरै चासो ब्यक्त भएकै कारण आफन्तको पहिचान भएको बताए ।

‘बोल्न नसक्ने भरियाका लागि बोलिदिने धेरै भेटिनुभयो,शब आफन्तले लैजानुहुन्छ’ प्रनाउ कुँवरले भने । मृतकको शब लिन मंगला गाउँपालिका–२ बावियाचौरका वडा अध्यक्ष धनबहादुर खाती क्षत्री पोखरामा गएका छन् ।


Views: 300