2nd March | 2021 | Tuesday | 6:55:30 AM

१० महिनापछि खुले म्याग्दीका तातोपानी कुण्डहरु

ध्रुर्बसागर शर्मा   POSTED ON : माघ १४, २०७७ (७:०९ PM)

१० महिनापछि खुले म्याग्दीका तातोपानी कुण्डहरु

म्याग्दी । प्राकृतिक चिकित्सालयको नामले चर्चित म्याग्दीका तातोपानी कुण्डहरु १० महिनापछि संचालनमा आएका छन् ।

कोरोना (भाइरस)को जोखिमका कारण २०७६ सालको चैत ४ गतेदेखि बन्द भएका तातोपानीका कुण्डहरु मंगलवारदेखि सञ्चालनमा आएका बेनीनगरपालिका ४ सिंगा तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रमान शाक्यले जानकारी दिए ।म्याग्दीमा एक दर्जन बढी तातोपानीका कुण्डहरु रहेका छन् ।

तातोपानी कुण्डमा एक सातासम्म डुबेर उपचार गरेपछि चर्म रोग, हाडजोर्नी, ग्याष्टिक, युरीक ऐसिड, भाचिएको र्मकेको जस्ता रोग निको हुने विश्वास रहेको छ । 

केही समयदेखि स्थानीय ब्यक्तिहरुका लागि मात्र खुला गरिएको तातोपानी कुण्डमा अब बेजिल्लाबाट आएकाहरुलाई पनि स्नान गर्न पाउने ब्यवस्था मिलाइएको कुण्ड ब्यवस्थापन समितिका पदाधीकारीहरुले जानकारी दिएका छन् ।

 सिंगा तातोपानी कुण्ड ब्यवस्थापन समितिका अध्यक्ष शाक्यले दुरि कायम र भिड नहुने गरि समूह ब्यवस्थापन गरेर स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर कुण्डमा स्नान गर्न सकिने जानकारी दिए । ‘हामीले तातोपानी कुण्डमा डुब्न आउने बिरामीलाई सुरक्षा मापदण्ड पालना अनिबार्य गर्नुपर्छ’ उनले भने, ज्वरो परिक्षण गर्ने ब्यवस्था मिलाइएका छौँ ।

यसैगरी पर्यटकीय स्थल भुरुङ–तातोपानी कुण्ड ब्यवस्थापन समितिका अध्यक्ष अमृतमान शेरचनले सबै किसिमका पाहुनाहरुका लागि स्नानका लागि खुल्ला गरिएको बताए । अन्य पर्यटकीय स्थल र मुस्ताङको पर्यटन खुलाएकाले स्थानीय होटल ब्यवसाय र अर्थतन्त्रलाई चलायमान बनाउन कुण्ड सञ्चालनको निर्णय गरेको उनको भनाइ छ  । कुण्डमा आउने बिरामी तथा पर्यटकको माध्यमबाट कोरोना भित्रने जोखिमलाई मध्यनजर गर्दै कुण्ड बन्द गरिएको थियो ।

सिंगाको तातोपानी कुण्ड प्राकृतिक चिकित्सालय र भुरुङ्ग–तातोपानी कुण्ड पर्यटकीय स्थलको रुपमा परिचित छ । पालिका र प्रशासनसँग समन्वय गरेर कुण्ड सञ्चालन गरिएको ब्यवस्थापन समितिले जनाएका छन् ।

म्याग्दी नदीको किनारमा जमिनभित्रबाट बिरेनुनको गन्धमा निस्कने ५० डिग्री सेल्सीयस तातोपानी संकलन गरीएको तलाउमा स्नान गरेमा ग्यास्ट्रिक, बाथरोग, ढाड दुख्ने, छाला, सुन्निएको, बज्ररिएको, मर्कीएको, पेट दुख्ने, खाना रुची नहुने लगायतका स्वास्थ्य समस्या निको हुने विश्वास छ ।

वीरेनून र गन्धन (सल्फर) तत्व सहितको ४५ देखि ५७ डिग्री सेल्सीयस तातोपानी निस्कने मुहान रहेको छ । सिंगाका साथै मुस्ताङ जाने बेनी–जोमसोम सडक अन्तरगत अन्नपूर्ण गाउपालिका–२ भुरुङ्ग तातोपानीमा कालीगण्डकी किनारमा रहेको तातोपानी कुण्ड पर्यटकीय स्थलको रुपमा परिचित छ ।

अन्नपूर्ण गाउपालिकाको पाउद्धार, पोखरेबगरको रातोपानी, दोवाको सेकार्कु, रघुगंगा गाउपालिकाको दर्मीजा, धवलागिरी गाउपालिकाको बगर र गुर्जामा प्राकृतिक तातोपानी कुण्ड छन् । यी कुण्डहरुमा पनि स्नान गरेर उपचारका लागि बिरामीहरु आउँछन् ।

कोरोनाले थला पारेको होटल र पर्यटन ब्यवसाय पूर्ण रुपमा चलायमान हुन अझै समय लाग्दे देखिएको छ । फाट्टफुट्ट पर्यटक आउन थालेपछि ब्यवसायमा राहत महशुस गरेका छन् । तर अघिल्ला बर्षहरुमा यो समयमा बिरामीको चाप हुने तातोपानी कुण्डहरु यो बर्ष बल्ला चलयमान हुन थालेका छन् । यसले थलो परेको पर्यटन र होटल व्यवासायीहरुमा राहत मिलेको छ ।


Views: 78