11th April | 2021 | Sunday | 7:02:50 PM

अवैध रुपमा कालीगण्डकी दोहन, सम्बन्धित निकाय मुकदर्शक

डम्मर बुढा मगर   POSTED ON : फाल्गुन १९, २०७७ (५:४२ PM)

अवैध रुपमा कालीगण्डकी दोहन, सम्बन्धित निकाय मुकदर्शक

बागलुङ । शालीग्राम शीलाको नदी भनेर चिनिने कालीगण्डकी नदी लामो समयदेखि अवैध रुपमा दोहन हुँदै आएको छ । नदी निरन्तर दोहन भइरहेपनि सम्बन्धित निकाय मुकदर्शक बनेको छ ।

कालिकगण्डकी नदिमा मात्र पाइने शालीग्राम हिन्दु धर्मावलम्बीका लागि निकै बहुमुल्य मानिन्छ । दोहनका कारण शालिग्राम शिला हराउँदै जान थालेको प्रति स्थानीयले गुनासो गरेका छन् ।

प्रदेश सरकारले नदीजन्य वस्तु निकाल्नका लागि मापदण्ड बनाए पनि त्यसको कार्यान्वय हुन सकेको छैन । व्यवसायीहरुले आफू खुसी गिटी बालुवा निकाली रहेका छन् ।

व्यवसायीहरुले रातको समयमा समेत नदी उत्खन्न गर्दै आएका छन् । नदीजन्य पदार्थ उत्खन्न् तथा निकासीका लागि सरकारले मापदण्ड बनाएर सोही अनुसार निर्देशित गरे पनि व्यवसायीहरुले दिउसोको समयमै ठूला मेशिन लगाएर दोहन गरिरहेका छन् ।

बागलुङ र पर्वत जिल्लाको विभिन्न स्थानमा अहिले दोहन भइरहेको छ । अवैध रुपमा भएको दोहनले नदीको धार परिवर्तन गरेर बस्ती तिर जाने संभावना देखिन्छ  । 

मापदण्ड मिचेर नदी दोहन गर्दा बागलुङ नगरपालिका नगरपालिका वडा नम्बर १ मा रहेको  माझी बस्ती, मालढुङ्गा तथा कालाखोला बगर क्षेत्रका घरहरु समेत उच्च जोखिममा पर्न थालेका छन् । 

उनीहरुले हिउँदमा अवैध दोहनका कारण बर्खामा बस्ती जोखिममा पर्दै आएको बताएका छन् । बागलुङ र पर्वत जोड्ने गरि निर्माण भएको विश्वको लामो झेलुङ्गे पुल मुनि केही दिनदेखि २÷२ वटा जेसिभीले अवैध रुपमा उत्खनन गरिएका छन् ।

ढुङ्गा, गिट्टी, बालुवा, उत्खनन तथा सञ्चालन व्यवस्थी गर्न गण्डकी प्रदेशले तयार गरेको कार्यविधि २०७५ अनुसार राष्ट्रिय वन, आरक्षण क्षेत्र, संवेदनशील क्षेत्रबाट ढुंगा, गिट्टी, बालुवा, माटो, चट्टान, दहत्तर, बहत्तर उत्खनन गर्दा डोजर, स्क्याभेटर, लोडर जस्ता हेभी इकयूपमेन्ट प्रयोग गर्न नपाइने उल्लेख छ । 

अन्य क्षेत्रको हकमा स्वीकृत प्रारम्भिक वातावरणीय परीक्षण वा वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनमा उल्लेख भए बमोजिमका मेशिन औजार मात्र प्रयोग गर्नु पर्नेछ ।

नदी दोहन भइरहे पनि कारबाहीको दायरामा ल्याउने स्थानीय प्रहरी, प्रशासन र सरोकारवाला निकाय भने गम्भीर नदेखिएको नागरिक स्थानीयले बताए । सामाजिक अभियान्ता राम शर्माले नदीजन्य पदार्थको अवैध उत्खन्नले कालीगण्डकी सभ्यतामै समस्या र संकट पर्न थालेको बताउनुभयो ।

शर्माले व्यवसायीहरुले मापदण्ड विपरित मनोमानी ढंगले नदी उत्खनन गर्दा सम्बन्धित निकायको ध्यान जान जरुरी रहेको बताउनुभयो ।

कालीगण्डकी दोहन रोक्नका लागि जिल्लाका अगुवा तथा सामाजिक अभियान्ताहरुले अवैध दोहन रोक्नका लागि अभियान चलाए पनि व्यवसायीहरुले अटेरी गरेको पाइएको छ ।

‘राजश्व बुझाएर नदीजन्य पदार्थ निकाल्न पाइने भए पनि ठूला उपकरणको प्रयोग गरेर निकाल्न पाइदैन’ शर्माले भन्नुभयो ‘यहाँ त मनपरी ढंगले ठूला मेशिन लगाएर निकालिएको छ, यस तर्फ सम्बन्धित निकायले छानकिन गर्न जरुरी छ ।’

नदीभन्दा ५ सय मिटर नजिक भएका क्रसर उद्योग सार्न गृह मन्त्रालयले निर्देशन दिए पनि बागलुङ र पर्वतको बिच भागबाट बग्ने कालीगण्डकी नदी छेउछाउमा भएका क्रसर उद्योग अधिकांश मापदण्ड विपरित छन् । गण्डकी प्रदेश सरकारले बनाएको कार्यविधिमा राजमार्ग, बस्तीभन्दा ५ सय मिटर टाढा क्रसर उद्योग राख्ने उल्लेख छ ।

नदी दिउँसै दोहन भइरहेको खबर प्रहरी प्रशासनलाई जानकारी गराउँदा पनि सम्बन्धित निकायले बेवास्ता गरेको सरिता रानाले बताउनुभयो । ‘यसरी नदी दोहन भइरहेको छ, कसैले रोकेको छैन्’ उहाँले भन्नुभयो ‘वर्खा लाग्यो भने रातको समयमा घरमा बस्नै डर हुन्छ, कति बेला आएर बगाउँछ भन्ने त्रास हुन्छ ।’

प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले गाउँ तथा नगरपालिका जसले ठेक्का लगाएर नदीजन्य पदार्थ उत्खनन गर्न लगाए पनि ठूला उपकरण प्रयोग गर्न नपाईन बताउनुभयो । यहाँले यसरी नदीजन्य पदार्न निकाल्नु मापदण्ड विपरित हुने बताउनुभयो ।’

‘बागलुङ तर्फ खासै दोहन भएको छैन, पर्वत खण्डमा बढी दोहन भइरहेको पाइन्छ,’ उहाँले भन्नुभयो ‘बागलुङमा हुने दोहनलाई हामीले निरन्तर खबरदारी गरेर रोकेका छौँ, त्यो समस्या पनि छैन, निरन्तर प्रहरी समेत परिचालन गरेर अहिले त्यस्तो छैन, मेरो सरुवा भइसकेको छ, यस तर्फ स्थानीय सरकार जिम्मेवार हुनु पर्छ ।’

फोटो : कालीगण्डकी नदीमा अवैध रुपमा ठूला उपकरण प्रयोग गरेर भईरहेको दोहन ।

तस्वीर : डम्मर बुढा मगर÷हिमालय टाइम्स


Views: 58