11th April | 2021 | Sunday | 7:42:47 PM

स्कुल अफ डेमोक्रेसी स्याङ्जाद्वारा महिलालाई सम्मान

युवराज पौडेल   POSTED ON : फाल्गुन २४, २०७७ (९:२५ PM)

स्कुल अफ डेमोक्रेसी स्याङ्जाद्वारा महिलालाई सम्मान

स्याङ्जा । स्कुल अफ डेमोक्रेसी स्याङ्जाले आठ मार्च अर्थात् अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ‘शान्ति, लोकतन्त्र र स्थायित्वका निम्ति महिलाहरूको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम एवम् प्रजातन्त्र प्राप्तिका निम्ति भूमिका खेल्नुभएका अग्रज महिलाहरुको सम्मान कार्यक्रम’ सम्पन्न गरेको छ । लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने स्याङ्जा जिल्लामा क्रियाशील महिलाहरूलाई संस्थाले सम्मान गरेको छ । नेपाली कांग्रेस स्याङ्जाको पार्टी कार्यालयको हलमा सञ्चालन गरिएको उक्त सम्मान कार्यक्रममा स्याङ्जा जिल्लामा रही लोकतन्त्र र समाजवादका क्षेत्रमा सक्रिय भएर प्रेरणादायी भूमिका निर्वाह गर्ने महिलाहरूलाई सम्मान गरिएको छ । सम्मानित हुनहेरूमा मीना सिंह, विष्णुमाया राना, नन्दकलि पौडेल, गीता भट्टराई, मखमली श्रेष्ठ, डाँसीकला सिग्देल, लालुमाया रेग्मी, हिरादेवी शर्मा, प्रेमकला रेग्मी, अम्बिका पौडेल, राधा घिमिरे, राजकुमारी गुरुङ छन् । 

कायक्रममा स्वागत मन्तव्य राख्दै स्कुल अफ डेमोक्रेसीकी जिल्ला सदस्य दुर्गा सारुले महिलाहरू चुलोचौकोबाट बाहिर निक्लेर समाजका लागि काम गर्नुपर्ने धारणा राखिन् । नेपाल महिला संघकी जिल्ला सचिव तारा मल्लले लोकतन्त्र स्थापनाका लागि महिलाहरूले ठूलो योगदान पु¥याएको बताउँदै अझै पनि महिलाहरू खुलेर बाहिर आउन नसकेको दुःखेसो व्यक्त गरिन् । भीरकोट नगरपालिकाकी उपमेयर सीमा कर्माचार्यले महिलाहरू आत्मनिर्भर बन्दै राजनीतिमा आउनुपर्ने धारणा व्यक्त गरिन् । महिला नेतृ देवी अर्यालले आफूहरू राजनीतिमा आउँदा निकै सङ्घर्ष गर्नुपरेको भए पनि अबको पुस्ताले आफूहरूको जस्तो सङ्घर्ष गर्नु नपर्ने विचार व्यक्त गरिन् । स्कुल अफ डेमोक्रेसीका अध्यक्ष अनुप श्रेष्ठले स्कुल अफ डेमोक्रेसीले औपचारिक मञ्चीय कार्यक्रमको ढाँचा फेर्दै नयाँ सोच प्रस्तुत गरिरहेको बताउँदै लोकतन्त्रको चुनौतीपूर्ण लडाइँमा चुलोचौकोबाट बाहिर निस्केर सङ्घर्ष गर्ने अग्रज महिला अगुवाहरु आफूहरुका लागि सधैं सम्मानयोग्य रहेको धारणा राखे । कार्यक्रममा महिला नेतृहरू– हीरादेवी शर्मा, मखमलि श्रेष्ठ, अम्बिका पौडेल, नन्दकलि पौडेल, डाँसीकला सिग्देल, राजकुमारी गुरुङ लगायतले मन्तव्य राखेका थिए । 

सम्मान कायक्रमको सभापतित्व स्कुल अफ डेमोक्रेसीका जिल्ला सदस्य तथा कार्यक्रम संयोजक रीता गुरुङले गरेकी थिइन् । कार्यक्रममा प्रमुख अतिथि नेपाल महिला संघकी केन्द्रीय उपाध्यक्ष सरस्वती तिवारी थिइन् भने कार्यक्रमको सञ्चालन स्कुल अफ डेमोक्रेसी क्षेत्र नं. १ की संयोजक विदुशा बस्नेतले गरेकी थिइन् । 


Views: 325