15th June | 2021 | Tuesday | 10:21:53 AM

स्याङ्जामा माधव–खनालको समानान्तर कमिटी गठन

युवराज पौडेल   POSTED ON : चैत्र २५, २०७७ (१२:०८ PM)

स्याङ्जामा माधव–खनालको समानान्तर कमिटी गठन

स्याङ्जा । केही दिन अगाडि गण्डकी प्रदेशमा केन्द्रीय स्तरका नेताहरुसहित प्रदेश कमिटी गठन गरेको नेकपा एमालेको माधव–खनाल समूहले स्याङ्जा जिल्लामा चैत्र २४ गते समानान्तर कमिटीको गठन गरेको छ । यसभन्दा अगाडि नै अध्यक्ष र सचिवको टुङ्गो लगाएको भए पनि पूर्ण कमिटी गठन भइसकेको थिएन । नेपाल–खनाल समूहका नेताहरुको जिल्ला भेलाले नयाँ कमिटी गठन गरेको हो । नवगठित कमिटीको अध्यक्षमा रामचन्द्र भट्टराई, उपाध्यक्ष सर्मिला पौडेल, सचिव भूपराज अधिकारी, उपसचिवमा सन्तोष केसी, टीकाराम नेपाली, खड्कराज सुबेदी चयन भएका छन् । यसका साथै स्याङ्जा जिल्लाका सबै स्थानीय तहहरुबाट समावेशी ढङ्गबाट १७५ सदस्यीय जिल्ला कमिटीको नामावली तयार पारिएको छ । 

सो भेलाले जिल्लाका सबै स्थानीय तहमा पार्टी युवा संघ तथा अनेरास्ववियु गठन गरेको छ । भेलाले ज्येष्ठ सल्लाहाकार सदस्यमा लोकराज शर्मा, नीलकण्ठ वाग्ले, ज्येष्ठ कम्युनिष्ट मञ्चमा शेखर प्रधान र नारायण गिरीलाई चयन गरेको छ । त्यस्तै, युवा संघ स्याङ्जाको अध्यक्षमा सन्तोष सापकोटा र सचिवमा मिलन भण्डारी चयन भएका छन् । त्यस्तै, अनेरास्ववियु स्याङ्जाको अध्यक्षमा सन्तोष वस्ती र सचिवमा शिव भट्टराईलाई चयन गरिएको छ । 

नेकपा एमाले जिल्ला अध्यक्ष रामचन्द्र भट्टराई (आरसी) को अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव भुपराज अधिकारीले गरेका थिए । सो कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य  तथा स्याङ्जा जिल्ला इन्चार्च चुडामणि जंगलीले सम्बोधन गर्दै केपी ओलीको निरङ्कुश प्रवृत्तिको आलोचना गरेका थिए । पार्टीलाई जिल्लामा सुदृढ बनाएर लैजाने नवगठित कमिटीकी उपाध्यक्ष सर्मिला पौडेलले बताइन् । 


Views: 252