15th June | 2021 | Tuesday | 9:54:07 AM

नवीन्द्रराजको स्मृतिमा कांग्रेस स्याङ्जाले ग-यो शोक सभा

युवराज पौडेल   POSTED ON : चैत्र २५, २०७७ (५:३८ PM)

नवीन्द्रराजको स्मृतिमा कांग्रेस स्याङ्जाले ग-यो शोक सभा

स्याङजा । नेपाली कांग्रेस स्याङ्जाले स्वर्गीय नेता नवीन्द्रराज जोसीको स्मृतिमा स्याङ्जामा शोक सभा गरेको छ । पार्टी कार्यालयमा भएको श्रदाञ्जली सभामा नेपाली कांग्रेस स्याङ्जाका नेता, कार्यकर्ता तथा शुभचिन्तकहरुको उपस्थिति रहेको थियो । नेता नवीन्द्रराज जोशीको निधनको १३ औं पुण्य तिथिमा गरिएको उक्त सभामा बोल्दै प्रमुख अतिथि नेपाली कांग्रेसका सँगठन विभाग प्रमुख तथा पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले जोशीको लोकतान्त्रिक योगदानको स्मरण गर्नुभयो । उहाँले नेता जोशी कुशल संगठनकर्ता र आदर्श नेता भएको स्मरण गर्दै जोशीको निधनले कांग्रेसले एक होनहार र लोकप्रिय नेता गुमाएको धारणा व्यक्त गर्नुभयो । त्यस्तै नेपाली कांग्रेस स्याङ्जाका पूर्व सभापति तथा बौद्धिक व्यक्तित्व विश्वप्रेम अधिकारीले कांग्रेसको एक आशालाग्दो र शालीन नेताको निधनले लोकतन्त्र र मुलुकलाई ठूलो क्षति पुगेको धारणा व्यक्त गर्नुभयो । त्यस्तै, जिल्ला कार्यवाहक सभापति बुद्धिबहादुर राना ‘कुमार’ ले नवीन्द्रराज जोशी विद्यार्थीकालबाटै आफ्नै क्षमता र योगदानमा राजनीतिमा अगाडि बढ्न सफल एक आदर्श नेता भएको धारणा राख्दै जोशीको निधन कांग्रेसको लागि मात्र नभएर मुलुककै लागि दुर्भाग्य भएको विचार व्यक्त गर्नुभयो । 

उक्त श्रदाञ्जली सभाको सभापतित्व नेपाली कांग्रेसका कार्यवाहक सभापति बुद्धिबहादुर रानाले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सचिव इन्द्रबहादुर गोदारले गर्नुभएको थियो । सो सभामा गण्डकी प्रदेशका संसदीय दलका उपनेता मेखलाल श्रेष्ठ, गण्डकी प्रदेश सांसद भागवत् प्रकाश मल्ल लगायतका नेताहरुको उपस्थिति रहेको थियो । 


Views: 298