15th June | 2021 | Tuesday | 9:58:02 AM

बेनी बसपार्कलाई स्मार्ट बसपार्क बनाउने अभियान

धु्रवसागर शर्मा   POSTED ON : चैत्र २६, २०७७ (९:५६ AM)

बेनी बसपार्कलाई स्मार्ट बसपार्क बनाउने अभियान

म्याग्दी । मुक्तिनाथ प्रवेशद्वारको रूपमा परिचित म्याग्दीको सदरमुकाम बेनीस्थित कालीपुल बसपार्कलाई स्मार्ट बसपार्क बनाउन बहुवर्षीय योजनामा समावेश गरिएको छ । कालीपुल बसपार्कलाई स्मार्ट बसपार्क बनाउन सहरी विकास मन्त्रालयबाट बहुवर्षीय योजनामा समावेश पाँच करोडको बजेट प्राप्त भएसँगै स्थानीयलाई आशा पलाएको हो ।

यसअघि २१ करोडको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिए पनि हरेक वर्ष न्यून बजेटका कारण गति लिन नसकेको यो परियोजनाले अब भने गति लिने आशा जागेको बेनी नगरपालिका–८ का वडाअध्यक्ष तथा बेनी नगरपालिकाका प्रवक्ता रामकृष्ण बराइलीले बताउनुभयो । ‘आजभन्दा चार वर्ष अगाडिको प्रयासले सफलता प्राप्त गरेको छ, ‘अब बेनीबजारमा सुविधासम्पन्न बसपार्क बन्छ’ वडा अध्यक्ष बराइलीले भन्नुभयो । उहाँका अनुसार चालु आव. ७७÷७८ मा संघीय सरकारबाट ५० लाख, प्रदेश सरकारबाट ५० लाख र बेनी नगरपालिकाबाट ३४ लाखबाट निर्माणको काम भइरहेको छ ।

बेनी–जोमसोम तथा कोरला सडकको मुख्य प्रवेशद्वार कालीपुल बसपार्कमा ५० लाख विनियोजन भएकाले आयोजनालाई अगाडि बढाउन जटिलता भएकाले बहुवर्षीय योजनामा समावेशका लागि प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाले सहरी विकास मन्त्रालयलाई अनुरोध गर्नुभएको थियो । 

सांसद थापाले बहुवर्षीय योजनामा बसपार्कलाई समेट्न नसके अपूरै रहने जोखिम भएकाले बहुवर्षीय ठेक्का लगाउने व्यवस्थाका लागि निवेदन नै दर्ता गराउनुभएको थियो । सांसद थापाको प्रयासले यो कार्यमा गति लिएको बेनी नगरपालिका स्रोतले जनाएको छ ।

पक्की नालीसहित पक्कीपुलदेखि पेट्रोलपम्पसम्मको सडक कालोपत्रका लागि ढिलासुस्ती र पर्याप्त बजेटको अभावका कारण सास्ती हुने गरेको अवस्थामा पछिल्लो समय अलपत्र काममा समेत प्रगति भइरहेको छ । 

बसपार्कको गुरुयोजनामा टिकट काउन्टरलाई एउटै भवन, पार्किङस्थल, बसपार्कनजिक रहेका टहरा, पेट्रोल पम्प विस्थापन, पर्यटन सूचना केन्द्र साना र ठूला सवारीसाधन आवतजावत गर्ने मार्ग, टर्मिनल भवनलगायत नमुना बसपार्क बनाउन आवश्यक पर्ने पूर्वाधारसहितको संरचना बनाउन प्रस्ताव गरिएको छ ।

कालिपुल क्षेत्रको अव्यवस्थित बसपार्क, धुलाम्मे सडक र जथाभावी फालिने फोहोरले बाहिरी जिल्लाबाट ओहोरदोहोर गर्ने यात्रुले म्याग्दीको नकारात्मक सन्देश प्रवाह गर्ने गरेको भन्दै जिल्लामा आउने प्रदेश र संघीय सांसदलाई समेत बजेटको माग गरिए पनि सुनुवाइ हुन नसकेको स्थानीयवासीको गुनासो छ । बसपार्क क्षेत्र साँघुरो र अव्यवस्थित तवरले सवारीसाधन पार्किङ गरिँदा कुरूप देखिएको छ । करिब २७ रोपनी क्षेत्रफलमा बसपार्क फैलिएको छ ।


Views: 89