16th May | 2021 | Sunday | 3:24:38 AM

विकासले फेरिएको जीवन

डम्मर बुढा मगर   POSTED ON : चैत्र २७, २०७७ (८:३८ AM)

विकासले फेरिएको जीवन

बागलुङ । बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोटका भाजवीर घर्तीमगर ७३ वर्ष हुनुभयो । उमेरले बुढ्यौली लागे पनि गाउँले खानपानले गर्दा उहाँ अझै हट्टाकट्टा हुनुहुन्छ । आफ्नै रहनसहन र भाषा बोल्ने भाजवीर निकै हँसिलो हुनुहुन्छ । उहाँले जीवनका अधिकांश समय गाईभैसी र भेडाबाख्राको गोठालो गरेरै बिताउनुभयो । 

उहाँलाई सहर बजारभन्दा आफ्नै गाउँ रमाइलो लाग्छ । आफ्नै खापापखेरा रमाईलो लाग्छन् र आफ्नै गाईभैँसी प्यारो लाग्छन् । वर्षातको समयमा लेक र हिउँदको समयमा गाउँमा झर्ने भाजविर अहिले गाउँमै हुनुहुन्छ । उहाँलाई बुढेसकाल लागे पनि रंग रमाइलो र खानपान गर्न निकै सोखिन हुनुहुन्छ । 

उहाँसँग जीवनमा भोगेका अनेकौँ अनुभवहरू छन् । उतिबेला भाजवीरले भोगेका कयौँ अनुभव अहिले आफँैलाई नौलो लाग्छ । उहाँले भोगेका सयौँ अनुभवहरूमध्ये एउटा यस्तो अनुभव छ जो उहाँ कहिल्यै भुल्नुहुन्न । १५ दिनको पैदलयात्रा गरेर बुटवल पुगेर नुन बोकेर उपभोग गरेको अनुभव उहाँको मनस्पटलमा अझै ताजै छ । उहाँले यो दुःख चाहेर पनि भुल्न सक्नुहुन्न । दुर्गम गाउँ । त्यसमाथि पनि सरकारी निकायको ध्यान कम पुगेको गाउँ । विकासका कुनै पनि पूर्वाधारले नजोडिएको अवस्थामा गरेका अनेकौँ संघर्षपछि बल्ल अहिले गाउँसम्म बिजुली बत्ती र सडक पुगेको छ ।

गाउँमा यसरी मोटर गाडी गुड्ला, बिजुली बत्तीले गाउँ घर झिलिमिली होला भन्ने उहाँले कहिल्लै कल्पना गर्नुभएको थिएन । तर, अहिले गाउँ घरमै सररर गाडी गुड्दा, बिजुली बत्तीले झिलिमिली हुँदा भाजवीर दंग हुनुहुन्छ । हर्षित हुनुहुन्छ ।

१५÷१६ वर्षको उमेरमा बुटवल नुन लिन जाने क्रममा गाडी गुडे बिजुली बलेको देख्नुभएका घर्ती मगर अहिले घरमा बसीबसी त्यसको उपभोग गर्न पाउनुभएको छ । उहाँले आफ्नो बैंश काललाई सम्झिँदै भन्नुहुन्छ, ‘हाम्रो पालामा यस्तो सुविस्ता थिएन, मैले त बटौली नुन लिन जाँदाखेरि गाडी देखेको थिएँ, बिजुली बत्ती पनि उतिबेलै हो देखेको ।’

घर्तीले गाउँमा यति ठूलो परिवर्तन आउला । विकास होला भन्ने कहिल्लै सोच्नुभएको थिएन । तर, अहिले सबैतिर परिवर्तन आएपछि, गाउँ ठाउँले मुहार फेरेपछि घर्ती निकै खुसी हुनुहुन्छ । ‘हाम्रो ठाउँमा यस्तो विकास होला भन्ने त मैले कहिल्यै सोचेको थिएन, तर अहिले त हेर्नुस् गाडी सररर चल्छन्, बिजुली बत्ती पनि थिएन त्यतिबेला, हामीले त भाँङ, दियालो बालेर उज्यालो गराउँथ्यौँ, अहिले बिजुलीले झिलिमिली छ, एकदिन लाइन आएन भने अन्धकारमा बसेजस्तो हुन्छ,’ उहाँले मुस्कुराउँदै भन्नुभयो, ‘बटौलीमा गाडी देख्दा डराउँथ्यौँ, अहिले त के को डराउनु अल्ली तल जानु प¥यो भने हिँड्नै मन लाग्दैन, गाडीमै जाने भन्ने हुन्छ, गाडी नहुँदा, कोसौँ टाढा हिँडियो, अहिले सुविस्ताले गर्दा दुई÷चार पाइला पनि हिँड्न गाह्रो लाग्छ ।’

उहाँले जिल्ला सदरमुकाम बागलुङ बजार आउजाउ गर्न दुई साता लागेको सुनाउँदै तत्कालीन समयमा पश्चिम बागलुङका जनताले निकै दुःख पाएको सुनाउनुहुन्छ । ‘कागज पत्रको काम गर्न बागलुङ जानुपथ्र्यो, उतिबेला गाडीको बाटो आएकै थिएन, हिँड्दै जानुपथ्र्यो, यहाँबाट हिँडेर बागलुङ पुग्दा सात दिन, फर्किँदा सात दिन लाग्थ्यो, बाटोमा चोर लाग्ने, निकै डर पनि हुन्थ्यो, महिला केटाकेटीलाई झन् धेरै समस्या हुन्थ्यो,’ घर्तीले भन्नुभयो, ‘अहिले त बिहान सररर गाडीमा जाउँ उस्तै पर्ने हो भने साँझ आँटो खान घरै आइन्छ, यस्तो सुविस्ता होला भन्ने त कसले सोचेको थियो होला र ?’

उहाँले अहिले गाउँ–गाउँमा मोटर गाडी आउन थालेपछि १५ दिन लगाएर नुन ल्याउनुपर्ने बाध्यता हटेको भन्दै यसले आफ्नो चोली फेरिएको जस्तो भएको बताउनुभयो । ‘पहिलेको दुःखलाई सम्झिँदाखेरि त अहिले जुनी फेरिएको जस्ता लाग्छ, पहिलो कस्ता थिए ती दिन ?, अहिले कस्तो भयो ?, उतिबेला भोगेको दुःखलाई सम्झिँदा अहिले त कथा जस्तो लाग्छ,’ घर्तीले भन्नुभयो, ‘अहिले त सबथोक छ, के छैन ?, उतिबेला घ्यू बोकेर १५÷१५ दिन लगाएर बटौली पुगेर नुन, चामल बोकेर आउने दिन गए, अहिले त घरमै जे भन्यो त्यही एकैछिनमा आउँछ ।’

घर्तीले आफूले गाई गोठ, भैँसी गोठमा धेरै समय बिताएको भन्दै अबका पुस्ताले आफूहरूको बिँडो नथाम्ने चिन्ता व्यक्त गर्नुहुन्छ । ‘मैले जन्मेको ५÷६ वर्षदेखि नै गाई भैँसीको गोठालो गर्न थालेको हुँ, हाम्रो जमानामा पढ्ने लेख्ने भन्ने केही थिएन, अहिले त, जन्मिँदाबित्तिकै पढ्न जान्छन्,’ उहाँले भन्नुभयो, ‘यस्तो पढ्ने लेख्ने केटाकेटीले के गाई, भैँसी, भेडाबाख्राको गोठोले गर्थे ?, अब पछि–पछि त यो गाई भैँसी भन्ने चिज पनि पाइँदैन कि क्या हो ।’

उहाँले आफ्नो जवानीको रमाइलो कुरासमेत सुनाउनुभयो । ‘हाम्रो बैँसमा त गोठमा बस्ने, धेरै गाई भँैसी पाल्ने, ठूला–ठूला बठेकीमा मोही पार्ने, साँझ परेपछि झाँङ बालेर तरुनीहरूसँग गीत गाउन जान्थ्यौँ, अब ती दिन त कहिले आउलान् र ? अहिले त त्यो सबै हराउँदै गयो,’ उहाँले विगतलाई स्मरण गर्दै भन्नुभयो, ‘कस्ता थिए ती दिन, अहिले त आफू पनि बूढो भइयो, उतिबेलाका दावली पनि अहिले कता–कता छन् ?, कोही बितिसके, अहिले त त्यही पुरानो कुरा सम्झेर चित्त बुझाउनबाहेक केही गर्न सकिँदैन ।’


Views: 84