16th May | 2021 | Sunday | 6:04:16 PM

स्याङ्जामा फैलियो डढेलोको प्रकोप : रोकथामको प्रयास न्यून

युवराज पौडेल   POSTED ON : चैत्र ३१, २०७७ (८:१७ AM)

स्याङ्जामा फैलियो डढेलोको प्रकोप : रोकथामको प्रयास न्यून

स्याङ्जा ​। यतिबेला स्याङ्जा जिल्लाका विभिन्न स्थानहरूमा आगलागीको प्रकोप बढेको छ । खासगरी बनजङ्गल क्षेत्रमा डढेलोको प्रकोप दिनहुँ बढिरहेको छ । लामो समयदेखि पानी नपरेको सुख्खा मौसम, हावाहुरीको समय, उच्च तापमान लगायतका विविध कारणहरूले डढेलो प्रत्येक दिनजसो फैलिँदै गइरहेको छ । फागुनदेखि जेठसम्म डढेलोको बढी प्रकोप हुने समय हो । बेलाबेलामा पानी परेको भए डढेलो कम हुन्थ्यो तापनि पानी नपर्नाले यो सम्भावना पनि टर्दै गएको छ । यतिबेला वनजङ्गल क्षेत्रमा पतझर वस्तुहरु सुकेर बसेका, झिँजा दाउराहरु सुकेर ज्वलनशील बनेका अवस्थामा आगलागीको जोखिम बढेको छ, साथै बेलाबेलामा चल्ने चैते हावहुरीले समेत आगलागीलाई थप मद्दत गरिरहेको छ । 

यतिबेला स्याङ्जाका पुतलीबजार, वालिङ, भीरकोट नगरपालिका तथा आँधीखोला, फेदीखोला, अर्जुनचौपारी लगायतका विभिन्न स्थानका वनजङ्गल, भीरपाखा, खरबारी आदिमा डढेलो फैलिएको छ । पुतलीबजार–३, बाडखोलामाथिको वन इन्द्रेषमा लागेको डढेलोले प्रसिद्ध नुवाकोट सम्पदा वरिपरिको स्थललाई समेत सङ्कटमा पारेको छ । ऐतिहासिक, पुरातात्विक, जैविक विविधताका दृष्टिले निकै महत्वपूर्ण मानिने कालाभैरव मन्दिर, नुवाकोट टावर लगायतका विभिन्न सम्पदाहरु समेत जोखिममा पर्ने चिन्ता बढेको छ । वनस्पति र जडीबुटीका दृष्टिले तथा दृश्यावलोकनका लागि महत्वपूर्ण मानिएको खर्सुको वनमा समेत डढेलो सुरु भएको छ । खर्सुको लेक यस स्याङ्जाका महत्वपूर्ण वन क्षेत्रहरुमध्ये महत्वपूर्ण वन क्षेत्र हो । त्यस्तै नेपालको पहिलो होमस्टे सिरुबारीको शीर मानिने डहरे देउराली तथा गोरुजुरेको विशाल वनमा समेत डढेलो सुरु भएको छ । यी त केही उदाहरणमात्र हुन्, स्याङ्जाका दर्जनौं ठाउँहरुबाट आगोका मुस्लाहरु निरन्तर आकाशमा मडारिएका छन् । डढेलोको कारण आकाशमा कालो धुँवा मडारिएको देखिन्छ भने वायुमण्डल नै धमिलो देखिएको छ । आगलागीका कारण वरिपरि एकप्रकारको गन्ध फैलिएको छ भने खरानी उडेर टाढाटाढासम्म मानिसहरुका घरभान्छासम्म पुगेको छ । आँखा पोल्ने, नाक पोल्ने जस्ता समस्या पनि डढेलोका कारण सिर्जित भएको स्थानीयहरुले बताएका छन् । ठाउँठाउँको आगोको कालो मुस्लो वायुमण्डलमा धुम्मिएको टाढैबाट देख्न सकिन्छ । 

आगलागी  वा डढेलोको विभिन्न कारण छन् तापनि यतिबेलाको डढेलोमा मूलतः प्राकृतिकभन्दा मानवीय कारण नै बढी जिम्मेवार देखिन्छ । खरबारी बनाउने चाहना, मिचाहा प्रजातिका वनस्पतिको नियन्त्रणको प्रयास, नयाँ रुखहरु सप्रिने विश्वास, जङ्ली जनावरको आतङ्कबाट मुक्तिको खोजी आदि डढेलो फैलिनुका मुख्य कारण देखिएका छन् । खासगरी यतिबेला गाउँघरमा मानिसहरूको संख्या न्यून छ । सहरमा बसाइँसराइ गर्ने प्रवृत्तिका कारण गाउँघरमा ऊर्जाशील जनशक्ति निकै कम छ । भएकाहरूले पनि आधुनिकताको प्रभावका कारण भान्छामा सिलिण्डर ग्याँसको प्रयोग गर्न थालेका छन् । जङ्गलमा गएर पहिलेको जस्तो काठदाउरा काट्ने मानिस पनि छैनन् भने दाउराको आवश्यकता पनि पहिलेको जस्तो छैन । यसका कारण वनजङ्गल र झाडी विगत केही वर्षदेखि बढिरहेको देखिन्छ । वनजङ्गल बढ्दा स्वभाविक रूपमा वन्यजन्तु पनि बढेका छन् । वन्यजन्तु बढ्दा तिनको प्रभाव मानवीय बस्तीसम्म विस्तार भइरहेको छ । जङ्गल क्षेत्र बढ्दै जाँदा किसानहरूको खेतीबाली र तरकारी बालीमा वन्यजन्तुको आक्रमण पनि बढिरहेको अवस्था छ । 

झाडी बढ्दै जाँदा दुम्सी, बाँदर, खरायो, लोखर्के जस्ता वन्यजन्तुहरुले बालीनाली सखाप पारेर किसानलाई ठूलो समस्यामा पारिरहेको आँधीखोला गाउँपालिका–६ का अगुवा कृषक गणेश ढकालले बताए । उनले भने, ‘कहिले बाँदर, कहिले खरायो, कहिले दुम्सी पालैपालो दुःख गरेर लगाएको तरकारी एकै छिनमा विनास गरिदिएपछि खेती गरेर के नै फाइदा हुने भयो र ?’ वन्यजन्तु नियन्त्रणका लागि सरकारले प्रयास नगर्ने हो भने कृषकहरु गाउँघरमा बस्नै नसक्ने स्थितिमा पुगेको उनको गुनासो छ । पुतलीबजार–३ कि दुर्गा क्षेत्रीले भनिन्, ‘बाँदर नियन्त्रण गर्न भनेर नगरपालिकाबाट ल्याएको ‘एयर गन’ (पाइपको ढुम्रो) बाट सुरुमा बाँदर डराए पनि पछि बाँदरले जति पड्काउँदा पनि टेर्न छाडेपछि समस्या उत्पन्न भएको छ ।’ बाँदर नियन्त्रणका लागि स्याङ्जाका स्थानीय निकायहरुले अनुदानमा पड्काउने ‘एयर गन’ वितरण गरेका थिए । 

यसरी जङ्ली जनावरको बढ्दो अतिक्रमणले कृषि कर्म नै सङ्कटमा पुगेका बेलामा यतिबेला स्याङ्जामा कतिपय किसानहरूका बिचमा आफ्ना खेतबारी नजिकैको जङ्गलमा आगो लगाउने एक प्रकारको अघोषित प्रतिस्पर्धा नै चलिरहेको छ । जङ्गलमा आगो लगाएपछि जनावरको बासस्थान सखाप हुने र बासस्थान नभएपछि जनावरले खेतीबाली खान सक्दैनन् भन्ने विश्वासका कारण आगलागी दिनहुँ बढिरहेको स्थानीयहरूको भनाइ छ । वारिपारिका अरूका जङ्गलमा आगो लगाएपछि भएभरका जनावर आफ्नै जङ्गलमा आउने खतरा बढेपछि किसानहरुले आगो लगाउने क्रम बढेको छ भने सुन्दर हरिया वनक्षेत्रहरु एकाएक खण्डहर बनिरहेका छन् । अन्यत्र वनमा आगलागी भएपछि त्यहाँका जनावरसमेत आफूहरुको वनमा आउने र भविष्यमा आफूले लगाउने बालीनालीको थप क्षति हुने सन्त्रासका कारण कृषकहरु यस्तो गलत कार्यमा प्रेरित भइरहेको देखिन्छ । 

डढेलो एक विनाशकारी विपत् हो । कहिलेकाँही प्राकृतिक रुपमा आगो लाग्नु तथा मानवीय कारणले पनि झुक्किएर आगलागी हुनु व्यावहारिक हिसाबले स्वभाविक हुनसक्ला तर नियतवश वनजङ्गलमा आगजनी गर्नु अपराध हो । यसले किसानलाई क्षणिक फाइदा गरेजस्तो लागे पनि यसले समग्र पर्यावरण र पारिस्थितिक प्रणालीमा पार्ने असर निकै गम्भीर र दीर्घकालीन हुने निश्चित छ । डढेलोका कारण वनपैदावरहरु तथा हाम्रा अमूल्य सम्पदाहरु विनाश भइरहेका छन् । सुन्दर जङ्गली जनावरहरु मर्नुका साथै घाइते भएका छन् । जङ्गली जनावरहरुको वासस्थान पूर्ण रुपमा खलबलिएको छ । रुखका बोक्राहरु र पातहरुसमेत जलेर काला भएका छन् भने माटो धोल्लो भएको छ । बहुमूल्य जडीबुटीहरु सखाप भएका छन्, भने वनको सौन्दर्य समाप्त भएको छ । 

स्याङ्जाका पञ्चासे, डहरे, खर्सु, गोरुजुरे लगायतका जैविक विविधता र धार्मिक तथा पर्यटकीय दृष्टिकोणले निकै महत्वपूर्ण मानिने विशाल जङ्गलहरू समेत आगलागीको चपेटामा पर्ने सम्भावना बढेर गएको छ । वरिपरि नजिकैका वनमा दिनहुँ लागिरहेको आगलागीले यी क्षेत्रहरूसमेत असुरक्षित भइरहेको महसुस गरिएको छ । स्याङ्जाका विभिन्न जङ्गलमा फैलिएको आगो बस्तीमा समेत फैलिँदा कतिपय ठाउँमा बाख्रा, भैंसीसमेत जलेर मरेका छन् । आँधीखोला–२ ओहियामा रहेको बाख्रा फार्ममा केही दिन अगाडि जङ्गलको आगो सल्किँदा फार्ममा रहेका उन्नत जातका बाख्राहरु मर्नुका साथै भौतिक संरचनामा समेत ठूलो क्षति भएको स्थानीय रविन्द्र क्षेत्रीले बताएका छन् । 

आगलागीबाट दिनहुँ स्याङ्जाका विभिन्न वनजङ्गल खण्डहर भइरहँदा पनि सम्बन्धित निकायहरूको भने आश्चर्यजनक मौनता देखिएको छ । आगलागी कसले ग¥यो भन्ने कुरा स्थानीयलाई थाहा भए पनि विभिन्न कारणले सूचना सम्बन्धित निकायमा नपु¥याइदिने समस्याले पनि दोषीलाई कानुनी दायरामा ल्याउन समस्या भइरहेको स्याङ्जाका प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले बताए । आगलागी नियन्त्रणमा स्थानीय निकायको पनि सकारात्मक चासो नदेखिएको स्थानीयहरूको गुनासो छ । स्थानीय निकायका विपत् व्यवस्थापन संयन्त्रहरूले अन्य सरोकारवालाहरुसँग समन्वय गरेर आगलागी नियन्त्रण र रोकथाममा प्रभावकारी कदम चाल्न नसक्ने हो भने स्याङ्जाका महत्वपूर्ण वनपैदावार क्षेत्र उजाड काला पहाडमा परिणत हुने सन्त्रास बढेर गएको छ  । 

मुलुकी ऐन, वन ऐन, वन्यजन्तु संरक्षण ऐन लगायत थुप्रै ऐन र निर्देशिकाहरुमा आगो  लगाउने कार्यलाई कानुनी अपराधका रुपमा व्याख्या गरिए पनि यस सम्बन्धी आवश्यक सचेतता स्थानीय स्तरसम्म नपुग्दा डढेलो ठूलै विपत् तथा गम्भीर समस्या बनिरहेको छ । यसका लागि स्थानीय स्तरमा डढेलोका कारण वनजङ्गलमा पर्ने असर, समग्र वातावरण र पर्यावरणमा यसका दीर्घकालीन प्रभावहरू तथा पारिस्थितिक प्रणालीको चक्रमा वनडढेलोबाट सिर्जना हुने गम्भीर असन्तुलनका सम्बन्धमा नबुझेका मानिसलाई विभिन्न कार्यक्रममार्फत् चेतना अभिवृद्धि गर्न ढिलाइ गर्नुहुँदैन । फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदी भन्छन्, ‘यस्ता विषयहरूलाई स्थानीय तहका पाठ्यक्रम तथा पाठ्यपुस्तकमा समेत महत्वका साथ समेट्नुपर्ने आवश्यकता बढेको ठानेर नै हामीले ‘हाम्रो फेदीखोला’ नामक स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तकमा आगलागीलगायतका पहाडी क्षेत्रमा देखिने प्रकोपहरूलाई उच्च महत्वका साथ समेट्न लागेका छौं ।’ 

Views: 335