16th May | 2021 | Sunday | 5:43:14 PM

बागलुङमा शव फेला परेको घटनामा संलग्नको आरोपमा पक्राउ

डम्मर बुढा मगर   POSTED ON : बैशाख २, २०७८ (९:०२ PM)

बागलुङमा शव फेला परेको घटनामा संलग्नको आरोपमा  पक्राउ

 बागलुङ । बुधबार दिउँसो ढोरपाटन नगरपालिका वडा नम्बर २ खल्टुबोट नजिक खोल्सामा जमिन मुनी गाडीएको अवस्थामा शव भेटिएका व्यक्तिको शव पहिचान भएको छ । भेटिएको शव गत चैत्र ४ गतेदेखि वेपत्ता बनेका नवलपरासीको देवचुली घर भई रुपन्देही बस्दै आएका ३२ वर्षीय नारायण बस्याल रहेको प्रहरीले जनाएको छ । 

समाचार माध्यमहरुमा आएका समाचारको आधारमा परिवारका सदस्यले मृतक आफ्नो परिवारको सदस्य भएको भन्दै हुलियाको आधारमा शव पहिचान भएको हो । शवको पहिचान भएपछि पोष्टमार्टम गर्न धवलागिरी अञ्चल अस्पताल बागलुङ पठाइएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख जयराम वन्तले जानकारी दिनुभयो । 

बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा शवको पोष्टमार्टम गर्ने स्वास्थ्यकर्मी नभएका कारण बागलुङ पठाइएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ । 

बुधबार ढोरपाटन नगरपालिका वडा नम्बर २ खल्टुवोटका स्थानीयले गाडिएको अवस्थामा शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय बुर्तिबाङको टोलीले गाडिएको शव निकालेर बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याएको थियो । 

शवको पहिचान हुन नसकिरहेको अवस्थामा बिहिबार मात्रै परिवारका सदस्य आइपुग्दा मात्रै शवको पहिचान भयो । गत चैत्र ४ गते रुपन्देहीदेखि एकाएक वेपत्ता बनेका वस्याल एक महिना बित्नै लाग्दा समेत परिवारका सदस्यको सम्पर्कमा आएनन् ।

परिवारका सदस्यले विभिन्न स्थानमा खोजी कार्य जारी राखे तर कुनै स्थानमा फेला नपरेका नारायण गाडीएको अवस्थामा ढोरपाटन नगरपालिका वडा नम्बर २ मा फेला परेका हुन । बस्याल चार फिट गहिराईमा घाँटीमा डोरीले कसिएको, दुवै खुट्टा बाँधिएको अवस्थामा थिए ।

घटनामा संलग्न रहेको आशंकामा प्रहरीले ढोरपाटन नगरपालिका वडा नम्बर २ रिनामका एक पुरुषलाई रुपन्देहिबाट पक्राउ गरेको छ । रुपन्देहिमा विद्यालयको क्यान्टीन सञ्चालन गर्दै आएका दुई दाजुभाई मध्ये लालबहादुर खनाललाई प्रहरीले पक्राउ  गरेको हो । 

नारायण वस्याल सम्पर्क विहिन भएदेखि क्यान्टिन तथा पेशा व्यवसाय बन्द गरेका र आफु बस्दै आएको घरदेखि सम्पर्क विहिन बनेका मित्रलाल खनाल र निजका दाई गौरीश्वर खनाल प्रहरीको शंकाको घेरामा रहेका थिए  । 

बिहिबार मित्रलाललाई प्रहरीले प्रकाउ गरेसँगै आफुहरुले नै नारायण वस्यालको ज्यान लिएको बताएको प्रहरीले जनाएको छ । बुटवल इलाका प्रहरी कार्यालयका प्रमुख टंक चुँडालीका अनुसार मित्रलाल पक्राउ परे पनि गौरीश्वर अझै सम्पर्कमा आएका छैनन् । 

किन र कसरी हत्या गरीयो भन्ने विषय अनुसन्धानपछि मात्रै थाहा हुने चुँडालीले बताउनु भयो । घटनाको प्रकृति हेर्दा चैत ४/५ गते नै हत्या गरी गाडेको हुनसक्ने बताइएको छ । मित्रलाल र गौरीश्वर दुई दाजुभाईले नारायण वस्याललाई रुपन्देहि देखिनै हत्या गरे पश्चात खल्टुवोटमा लिएर गाडेको हुन सक्ने स्थानीयले आशंका गरेका छन् ।

Views: 58