18th May | 2021 | Tuesday | 8:16:41 AM

आगलागीबाट डेढ करोड बढीको क्षति

डम्मर बुढा मगर   POSTED ON : बैशाख ३, २०७८ (९:१६ AM)

आगलागीबाट डेढ करोड बढीको क्षति

बागलुङ । बागलुङमा पछिल्लो समय आगलागीका घटनाहरू बढी रहेका छन् । जंगलमा तथा घर गोठमा आगलागी हुँदा लाखौँको क्षति भएको छ । चालु आर्थिक वर्षको हालसम्म आगलागीबाट एक करोड ८७ लाख ६३ हजार पाँच सय रुपैयाँबराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङले तयार पारेको तथ्यांकअनुसार आठ महिनाको अवधिमा आगलागीमा परि तीन जना घाइते, २९ चौपायाको मृत्यु र १८ चौपाया घाइते भएका छन् । त्यस्तै १९ घर र १५ गोठ मा पूर्ण रूपमा क्षति भएको छ ।

आगलागीमा फर्निचर, कपास उद्योग, होटलसमेत रहेको प्रहरीले जनाएको छ । जिल्लामा २९ वटा जंगलमा समेत आगलागी भएको जिल्ला डिभिजन वन कार्यालय बागलुङ जनाएको छ ।

वन कार्यालयमा आएको जानकारी अनुसार २९ स्थानको ३३० हेक्टर क्षेत्रफल जंगलमा आगलागी भएको सहायक वन अधिकृत मदन कँडेलले जानकारी दिनुभयो । गलकोट, काठेखोला, बरेङ, तमानखोला, ढोरपाटनलगायतका सामुदायिक वन तथा निजी वनमा आगलागी भएको कँडेलले बताउनुभयो । लामो समयको खडेरी र मानवीय लापरबाहीका कारण वर्षेनी आगलागीका घटनाहरू हुने गरेको उहाँको भनाइ छ । जिल्लामा सबैभन्दा बढी काठेखोलाको धम्जा र बरेङ गाउँपालिकाको जंगलमा आगलागी भएको कँडेलले बताउनुभयो ।

‘लामो समयदेखि खडेरी परेको छ, खेडरीले गर्दा सबै पातपतिंगर अन्य वस्तुहरू सुकेका हुन्छन्, थोरै संवेदनशील भइएन भने आगलागी भई हाल्ने डर हुन्छ, यस्तो समय निकै संयमता अपनाउनुपर्छ,’ कँडेलले भन्नुभयो, ‘सबैभन्दा बढी मानवीय लापरबाहीका कारण लागलागी भएको पाइएको छ, स्थानीय सचेत नभएसम्म आगलागी भइरहन्छ ।’ 

उहाँले जंगलमा आगलागी हुँदा मानवीय र वन्यजन्तुमा ठूलो क्षति नभए पनि बोट विरुवाहरू भने सखाप भएको बताउनुभयो । ठूला–ठूला रूखहरूमा पनि धेरै क्षति भएको भन्दै वन्यजन्तहरू तितरवितर हुने अवस्था आएको उहाँ बताउनुहुन्छ ।

‘३३० हेक्टर क्षेत्रफल जंगलमा आगलागी हुँदा कुनै पनि मानवीय क्षति भएको हाम्रो जानकारीमा आएको छैन, तर वन्यजन्तु र साना बोट विरुवाहरूमा भने ठूलै प्रभाव परेको छ,’ उहाँले भन्नुभयो, ‘जंगलमा आगलागी हुँदा साना बोट विरुवासँगै महŒवपूर्ण जडीबुटीहरू पनि नष्ट भएका छन् भने वन्यजन्तुहरू पनि तिरवितर भएर स्थानान्तर गरेको पाइन्छ ।’

नेपालमा डढेलो ९५ प्रतिशत मानवीय कारणले लाग्ने गरेको पाइएको छ । बागलुङमा अन्य कारणभन्दा मानवीय लापबाहीका कारणले गर्दा आगलागीका घटनाहरू हुने गरेको सहायक वन अधिकृत कँडेल बताउनुहुन्छ । स्थानीयहरूले घाँसको लोभमा जानीजानी आगो लगाउने गरेको उहाँको भनाइ छ ।

‘मानवीय लापरबाही अन्य कारणले जिल्लामा आगलागी हुने सम्भावना कम छ, पछिल्लो समय गाउँमा पनि मान्छेहरूले पशुपालन कम गर्न थाले, त्यसले गर्दा जंगलमा झाडी बढ्दै गयो र त्यसैमा घाँस राम्रो पलाउने भन्दै स्थानीयहरूले आगो लगाउँछन्,’ उहाँले भन्नुभयो, ‘यसले गर्दा पनि हाम्रो जिल्लामा आगलागी बढी हुने क्षति हुने गरेको छ, यसको लागि हामी नै सजक हुन जरुरी छ ।

आगलागीका घटनाहरूलाई कम गर्नका लागि वन कार्यालयले जिल्लाका आठ वटै सव डिभिजन कार्यालयमार्फत जनचेतनामूलक कार्यक्रमहरू गरेको र स्थानीय, सुरक्षा निकायहरूलाई डढेलो नियन्त्रण गर्ने सामग्रीहरू वितरणसमेत गरेको बताउनुभयो ।

समुदायमा जनचेतना फैलाउनका लागि सञ्चारमाध्यममार्फत जनचेतनामूलक कार्यक्रम तथा सूचना समाचार प्रकाशन प्रशारण गर्दै आएको उहाँको भनाइ छ । ‘आगलागीका घटनाहरूलाई रोक्नका लागि विभिन्न निकाय र स्थानीयहरूसँग सहकार्य गरिरहेका छौँ र समुदायमा त्यो किसिमको सन्देश दिनका लागि सञ्चारमाध्यमबाट सूचनाहरू पनि प्रशारण तथा प्रकाशन गरि रहेका छौँ’ उहाँले भन्नुभयो, ‘जिल्लामा रहेका सबै वन कार्यालयबाट स्थानीयहरूलाई सजक गराउने र डढेलो नियन्त्रणका लागि सुरक्षा नियकायहरूलाई सामग्रीहरूसमेत वितरण गरिरहेका छौँ ।’


Views: 81