आइसोलेसनका उपकरण गोदाममा अलपत्र, संक्रमित भने घरघरमा छट्पटाउँदै

ध्रुवसागर शर्मा   POSTED ON : बैशाख २०, २०७८ (२:५५ PM)

आइसोलेसनका उपकरण गोदाममा अलपत्र, संक्रमित भने घरघरमा छट्पटाउँदै

म्याग्दी  । ‘माएर चाल नपाए पछि कस्को के लाग्छ र ?’ म्याग्दीको सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा रहेको शैक्षिक तालिम केन्द्रको भवनमा रहेको एउटा कोठाभित्रको दृष्यले उक्त भनाइलाई चरितार्थ गरिदिएको छ ।

 म्याग्दी कोरोना संक्रमणबाट ग्रस्त भएको छ । आजका दिनसम्म दोस्रो लहरको कोरोना संक्रमणबाट ७० जना भन्दा बढी होम आइसोलेशनमा छन् । बेनी बजारमा कोरोना भुसको आगो झैं भित्रभित्रै फैलिइरहेको छ ।

तर गतबर्ष कोरोना संक्रमण र्फैलिएसँगै जिल्लाका सबै स्थानीय तह, बेनी अस्पतालको लगानीमा स्थापना भएको संक्रमतिलाई राख्ने आइसोलेसन कक्षका लागि खरिद गरिएका आवश्यक उपकरणहरू भने गोदाममा  अलपत्र अवस्थामा छन् । 

१० वटा बेड बेनी नगरपालिकाले, ५ बेड स्थानीय तह, बाँकी विपद् व्यवस्थापन र बेनी अस्पतालले खर्चमाबाट स्थापना गरिएको थियो । दोस्रो लहरसँगै म्याग्दीमा ७०जना सक्रिय संक्रमित पुग्दा समेत बिरामीको उपचारका लागि जनशक्ति र पूर्वाधार अझै ब्यवस्थापन हुन सकेको छैन् ।

२० बेडको आइसोलेसनको भवन अहिले लथालिङ छ । आइसोलेसन कक्ष सञ्चालन गरिएको शैक्षिक तालिम केन्द्रको भवनमा कार्यालय सञ्चालन भएपछि बेनी अस्पतालमा बनाउन लागिएको कक्षको तयारी अझै पुरा भएको छैन्। 

संक्रमतिको संख्या दिनप्रति दिन ह्वात्तै बढ्दा समेत संस्थागत आइसोलेसनमा बस्न चाहने संक्रमतिलाई राख्न माउण्ट एभरेष्ट आवासीय माविको हिलसाईटको भवन प्रयोग गरिएको छ । कोठामा परिवारसँगै बसेका संक्रमतिलाई आवश्यक पर्ने आइसोलेसन कक्षको तयारी नहुदाँ संक्रमित अलमलमा पर्ने गरेका छन् । 

अक्सिजन सिलिण्डर, बिरामी सुत्ने आरामदायी बिस्तारा, औषधी राख्ने ठाउँ लगायत कोरोना संक्रमितको उपचारमा आवश्यक पर्ने हुने उपकरणहरु प्रयोगबिहिन भएका हुन् । स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बेनी अस्पतालको निर्माणाधिन भवनमा स्थापना गर्न लागिएको आइसोलेशनमा ती सामग्री प्रयोग हुने बताए । 

बेनी अस्पतालमा सञ्चालन गरिएको ६ बेड क्षमताको आइसियू कक्षसमेत जनशक्ति अभावका कारण सञ्चालनमा आउन सकेको छैन । बेनी अस्पतालको नयाँ भवनमा आइसोलेसन कक्ष बनाउन लागिएको छ ।

 बेनी नगरपालिकाले माउण्ट एभरेष्टको भवनमा ४ बेडको तयारी भएको छ भने २० बेडसम्मको तयारी भइरहेको नगर स्वास्थ्य संयोजक लिला गौतमले बताईन्। ‘थप आवश्यक परेपनि विस्तार गछौं,‘होम आइसोलेसनमा बस्न नसक्नेहरुलाईत्यहाँ राखिन्छ’ गौतमले भनिन्। कोरोना संक्रमित र जटिल अवस्थाका बिरामीलाई लक्षित गरी अस्पतालमै स्थापना गरिएको ६ बेड क्षमताको आइसोलेसन वार्डसमेत नियमित सञ्चालनमा छैन । 

आइसोलेसनका लागि आवश्यक पर्ने जनशक्ति अभाव हुँदा अहिले अस्पतालले तीन बेडको प्रिआइसोलेसन वार्ड रहेको छ ।

 जिल्लाका अन्य पाँचवटै गाउँपालिकाले अक्सिजन सेवासहित पाँच–पाँच बेड क्षमताको कोरोना अस्पताल सञ्चालन गरेका छन् । ती अस्पतालमा अक्सिजनको उपलब्धता गराइएको भए पनि भेन्टिलेटरसहितको उपचार गर्न पूर्वाधार र जनशक्ति व्यवस्थापन भने हुन सकेको छैन्  । हरेक बर्ष लाखौंको साम्रागी खरिद गर्ने तर निरन्तर प्रयोगमा चासो नदेखाउदाँ अनावश्यक रुपमा लाखौं खर्च भएको छ । 

तस्वीरमा अलपत्र अवस्थामा रहेको आइसोलेन कक्षका उपकरणहरु । 


Top