विश्व प्रेस स्वतन्त्रता दिवसमा ‘एक पत्रकार एक ल्यापटप’ अभियानको शुभारम्भ

डम्मर बुढा मगर   POSTED ON : बैशाख २०, २०७८ (६:५१ PM)

विश्व प्रेस स्वतन्त्रता दिवसमा ‘एक पत्रकार एक ल्यापटप’ अभियानको शुभारम्भ

 बागलुङ । पत्रकार महासंघ बागलुङले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर ‘एक पत्रकार एक ल्यापटप’ अभियानको शुभारम्भ गरेको छ । पत्रकार महसंघको नयाँ नेतृत्वले पदस्थापन बनाएको योजना ‘एक पत्रकार एक ल्यापटप’ अभियान विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर शुरु गरिएको पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष नरेश कँडेलले जानकारी दिनुभयो । 

सोमबार महासंघको भवनमा पत्रकार सम्मेलन गरी अभियानको शाखा अध्यक्ष नरेश कँडेलले शुभारम्भ गर्नुभएको थियो । अभियानमा हालसम्म पाँच ल्यापटपका लागि रकम जुटिसकेको र थप २० जनाले ल्यापटप खरिदका लागि रकम प्रदान गर्ने प्रतिबद्धता जनाएको अध्यक्ष कँडेलले बताउनुभयो । 

‘नयाँ नेतृत्वले ल्याएको ‘एक पत्रकार एक’ अभियानलाई विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुभारम्भ गरेका छौँ, आगीम असार २५ गते नेपाल पत्रकार महासंघ बागलुङ शाखाको स्थापना दिवस पर्छ सो अवसरमा पत्रकारलाई ल्यापटप प्रदान गर्ने छौँ” अध्यक्ष कँडेलले भन्नुभयो ‘ल्यापटप वितरणका लागि कार्यविधि तयार गरी आवश्यकता र क्रियाशिलताका आधारमा ल्यापटप प्रदान गरिने छ ।’

तीन वर्षसम्म चल्ने यो अभियानमा ७० लाख बराबरको ल्यापटप खरिद गरेर पत्रकारलाई वितरण गरिने योजना रहेको संघका कोषाध्यक्ष खेमराज गौतमले बताउनुभयो । 

‘घर पछिको रहर : सही सूचना प्रविधियुक्त हात, हरेक पत्रकार ल्यापटपका साथ’ अभियानको औपचारिक शुभारम्भ भएकै दीन करिब पाँच पत्रकारलाई ल्यापटप प्रदान गर्न सकिने अर्थिक संकलन भएको गौतमले जानकारी दिनुभयो ।

पत्रकार महासंघले अघिल्लो कार्यकाल दिल शिरीषको नेतृत्वमा ‘हामी सबैको रहर पत्रकार महासंघको घर’ सञ्चालन गरी झण्डै एक करोड २० लाख लागतमा बागलुङ बजारमा आफ्नै सुविधा सम्पन्न भवन निर्माण गरिसकेको छ । 

पत्रकार जुनसुकै ठाउँमा पुगेर पनि सही र सत्य सूचना सम्प्रेसण गर्न हसज प्रदान गर्नका लागि ‘एक पत्रकार एक ल्यापटप’ अभियान चलाइएको महासंघका सचिव विजय रानाले बताउनुभयो । उहाँले गाउँ–गाउँमा रिपोर्टिङ गर्न पुग्दा समाचार सम्प्रेसण गर्न पत्रकारलाई कठिन हुने गरेको भन्दै त्यस समस्याको समाधानका लागि यो अभियान चलाइएको बताउनुभयो ।

पत्रकारलाई प्रविधिले निकै खर्चिलो बनाउँदै गएका कारण पत्रकार महासंघले पत्रकारहरुलाई प्रविधि मैत्री बनाउने अन्य उपकरण समेत प्रदान गर्ने लक्ष्य राखेको छ । पत्रकारलाई क्यामेरा, ल्यापटप, कम्युटर, हार्ड डिक्स, मेमोरी कार्ड मोवाईल वाइफाई, इन्टरनेट तथा पेनड्राइभ अति आवश्य वस्तु भएपनि कतिपय पत्रकारहरुले आर्थिक अवस्था कमजोर र न्यूनतम पारिश्रमिक नपाउदा खरिद गर्न समस्या हुँने गरेको छ । 

अभियानको पहिलो दिन पूर्व अध्यक्ष नारायणदत्त कँडेल, पूर्व अध्यक्ष हरिनारायण गौतम, पत्रकार महासंघ बागलुङ शाखाको अध्यक्ष नरेश कँडेल, पत्रकार महासंघ धौलागिरी शाखाका पूर्व उपाध्यक्ष दिपक गौतम, पत्रकार महासंघका साधारण सदस्य श्रीधर कँडेलले रु. ५० हजारका दरले रकम सहयोग गरेको पत्रकार महासंघ बागलुङ शाखाले जनाएको छ । 


Top