काठमाडौंमा बेड नपाएपछि संक्रमितलाई बागलुङ ल्याइयो

डम्मर बुढा मगर   POSTED ON : बैशाख २१, २०७८ (१०:१६ AM)

काठमाडौंमा बेड नपाएपछि संक्रमितलाई बागलुङ ल्याइयो

बागलुङ । काठमाडौंको अस्पतालमा बेड नपाएपछि एक संक्रमितलाई उपचारका लागि बागलुङ ल्याइएको छ । ढोरपाटन नगरपालिका वडा नम्बर ३ घर भई काठमाडौं बस्दै आएकी ३१ वर्षीया महिलालाई बागलुङको धौलागिरी अस्पतालमा ल्याइएको हो ।
काठमाडौंका अस्पतालहरुमा बिरामीहरुले बेड पाउन मुस्किल भएपछि उपचारका लागि एम्बुलेन्स मार्फत बागलुङको धौलागिरी अस्पताल ल्याइएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।
उहाँलाई ५० हजार भाडा तिरेर एम्बुलेन्स मार्फत धौलागिरी अस्पतालमा ल्याइएको घिमिरेले बताउनुभयो । उहाँले संक्रमित भएपछि काठमाडौंको अस्पतालहरुमा बेड खोजी गर्दा सहज तरिकाले बेड नपाएपछि धौलागिरी अस्पतालमा बेडको व्यवस्थापन गरी ल्याइएको बताउनुभयो ।
दिनहुँ सयौँ सक्रमित बढेपछि काठमाण्डौ बेड अभाव हुन थालेको हो । उहाँलाई धौलागिरी अस्पतालमा हालसम्म बेड खाली भएको हुँदा काठमाडौँबाट बागलुङ ल्याइएको धौलागिरी अस्पताल बागलुङका मेडिकल सुपरिटेन्डेण्ट डा. शैलेन्द्र विक पोखरेलले बताउनुभयो ।
उहाँलाई सोमबार राती धौलागिरी अस्पतालको आइसोलेसनमा भर्ना गरी उपचार थालिएको पोखरेलको भनाई छ । संक्रमित महिलालाई ज्वरो, खोकी र अक्सिजनको कमि रहेको अस्पतालले जनाएको छ ।
उहाँ काठमाडौँ डेरा गरि बस्दै आउनु भएको थियो । कोरोना संक्रमण भएपछि उहाँलाई स्वासप्रस्वासमा र अन्य स्वास्थ्य समस्या देखिएपछि धौलागिरी अस्पतालमा ल्याएको बताइएको छ ।


Top