बेनी नगरपालिकामा १० दिनका लागि निषेधाज्ञा जारी

ध्रुवसागर शर्मा   POSTED ON : बैशाख २१, २०७८ (११:४५ AM)

बेनी नगरपालिकामा १० दिनका लागि निषेधाज्ञा जारी

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका यही २२ गते वुधबार राती १२ बजेबाट १० दिनका लागि निषेधाज्ञा जारी गरिएको छ । बेनी नगरपालिकाले हिजो सोमवार सर्वदलीय सर्वपक्षीय बैठकको आयोजना गरि बेनी नगरपालिकालाई यही २२ गते रातीबाट १० दिनका लागि लकडाउन गर्न डिसीसीएमसीलाई सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा मंगलबार (आज) बिहान बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को बैठकले उक्त निर्णयलाई अनुमोदन गरेको हो । जिल्लामा कोरोना संक्रमणको दर बढेको र थप जोखिमलाई न्यूनिकरण गर्न पहिलो चरणमा बेनी नगरपालिकामा निषेधाज्ञा जारी गरिएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेशवहादुर अधिकारीले जानकारी दिए ।
नगरपालिका भित्र कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि नगरपालिका भित्र अत्यावश्यक बाहेकका सेवाहरू बन्द गरिएको प्रमुख जिल्ला अधिकारी अधिकारीले बताए । ‘जिल्लाका अन्य स्थानीय तहमा यो निर्णय लागु हुदैन्,पहिलो चरणमा पूर्णरुपमा लकडाउन नगरी निषेधाज्ञा मात्रै गरेका छौँ’ उनले भने ।  जिल्लाभित्र निश्चित स्थान तोकेर आंशिक निषेधाज्ञा जारी गरिएकाले बेनी नगरबाहिर मंगला, मालिका, धवलागिरी, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाभित्र विद्यालय बाहेक सबै सेवाहरू सुचारु अवस्थामै रहने छन् । जिल्लाका अन्य पाँच स्थानीय तहमा ठेगाना भएका संक्रमतिहरु समेत बेनीबजार भत्रै होम आइसोलेसनमा रहेकाले संक्रमणको गतिलाई ‘चेनब्रेक’ गर्न नगरपालिकाले सोमबार सर्वदलिय बैठकमार्फत १० दिन पूर्णरुपमा लकडाउन गर्न सिफारिस गरेको भएपनि डिसिसिएमसिले अत्यावश्यक सेवाहरु सञ्चालन गर्ने गरी निर्णय गरेको छ । सुरक्षा निकायका प्रतिनिधि, राजनीतिक दल, सरोकारवाला निकायहरुको उपस्थितीमा १० दिने निषेधाज्ञाको अवस्था हेरेर अर्को निर्णय गरिने डिसिसिएमसिले जनाएको छ । म्याग्दीमा कोरोनाको दोस्रो लहरपछि २३ जना उपचारपछि घर फर्किएका छन भने ७३ जना सक्रिय संक्रमित रहेका छन् ।


Top