डोजर अपरेटर नै बन्छन् इञ्जिनियर, विकासको नाममा जताततै विनाश

ध्रुवसागर शर्मा   POSTED ON : बैशाख २२, २०७८ (१०:२१ AM)

डोजर अपरेटर नै बन्छन् इञ्जिनियर, विकासको नाममा जताततै विनाश

म्याग्दी । ‘नपाउनेले केरा पायो, बोक्रैसित चपायो’ नेपालीको मुखमुखमा झुण्डिएको यो चर्चित उखानले विकासको नाममा हुने बेथिति, बेथितिको तामेली गर्ने गाउँका स्वघोषित नेता र तिनै टाठाबाठा नेताको इसारामा चल्ने डोजर अपरेटरको चर्तिकलालाई पनि राम्रैसँग चरितार्थ गरिदिएको छ ।
फिता समातेर राम्रोसँग मिटरको हिसाब किताब निकाल्न नसक्ने र भू–स्खलनको अर्थसमेत नबुझ्ने व्यक्तिहरूले मोटरबाटो मर्मत तथा निर्माण गर्ने भन्दै डोजरलाई पछि लगाएर अपरेटरलाई निर्देशन दिँदै गरेको तपाईंले देख्नुभएको छ ? यदि छैन भने म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटमा आउनुहोस्, तपाईं पनि माथिको ‘नपाउनेले केरा पायो बोक्रैसित चपायो’ भन्ने उखान सम्झिँदै पेट मिचीमिची हास्न पाउनुहुनेछ ।
चालु आर्थिक वर्षको अन्त्य हुने दिन जति नजिकिँदै छ, म्याग्दीका गाउँ–गाउँमा बजेट सक्ने मेलो पनि त्यतिकै तीव्र गतिमा जोतिँदै गएको छ । बाटो खन्ने, मर्मत गर्ने, सफा गर्ने विभिन्न शीर्षकमा बजेट छुट्याएर वातावरणीय अध्ययन र सरोकारवालाको राजीखुसी विना नै गाउँ गाउँमा डोजर पसेका छन् । म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटमा पनि यस्तै भएको छ ।
आर्थिक वर्ष ०७५÷०७६ मा बेनी नगरपालिकाको पाँच लाखको बजेटमा बेनी नगरपालिका–२ बगरफाँटको खहरेखोलादेखि जलकिनीसम्म करिब एक किलोमिटर सडक खनियो । सडक खनेपछि गत वर्ष आएको बाढीले ठाउँ–ठाउँमा सडक भत्कियो । दुई घर जोखिममा परे । वर्खाभरि रात परेपछि बस्नै नसक्ने अवस्था आयो । बाटोदेखि तलको बस्ती नै जोखिममा छ । अहिले सोही सडक मर्मतका लागि नगरपालिकाले पुनः पाँच लाख बजेट विनियोजन गरेको छ । सोही बजेटमा पीडित पक्षको सल्लाहबिना नै धमाधम सडक मर्मतको नाममा जथाभावी खन्ने काम भइरहेको स्थानीयले बताएका छन् ।
स्थानीयका अनुसार खहरे खोलाका दुई ठाउँमा ग्याविन जाली लगाएपछि बाटो सुचारु हुने अवस्थामा स्थानीय केही टाठाबाठाको व्यक्तिगत स्वार्थ पूरा हुने गरी सडकभन्दा माथिल्लोपट्टिको जमिन खनेर बाटो फराकिलो बनाइँदै छ । डोजर चालकले तिनै टाठाबाठा व्यक्तिको आदेश तामेली गर्दै जथाभावी डोजर घुमाइरहेका स्थानीयको आरोप छ । जमेर बसेको माटो डोजरले खनेर फालिदिँदा थप जोखिम बढेको स्थानीय इन्द्रबहादुर थापाले बताउनुभयो ।
सडकका कारण खहरेखोलादेखि कुरुङ्दीसम्मका पाँच घर र खड्गभवानी कोतको गुठी जग्गा उच्च जोखिममा परेका छन् । ती घर र जग्गाको संरक्षणका लागि कुनै प्रयास गरिएको छैन । न त अघिल्लो वर्षको बजेटको हिसाबकिताब गरी खर्च विवरण नै सार्वजनिक गरिएको छ ।
वतावरणीय अध्ययनबिना नै मनपरी रूपमा खनिएको सडकका कारण भू–स्खलनको जोखिम उच्च बनेको स्थानीय बुद्धिजीविहरूले बताएका छन् । खहरेखोला–कुरुङ्दी हुँदै घुमाउने ताल जोड्ने सडक भनेर बजेट निकासा गरिए पनि जरुवा क्षेत्रका बासिन्दाहरूले गाउँको माथिल्लो भागबाट सडक खन्दा जोखिम हुने भएकाले विरोध गरेपछि करिब एक किलोमिटर क्षेत्रभित्र नै बर्सेनि डोजरले फन्को मार्दै बजेट सक्ने र सोही क्षेत्रका बासिन्दाहरूलाई जोखिम बढाउने काम मात्र भइरहेको स्थानीयको गुनासो रहेको छ ।


Top