पुतलीबजार नगरपालिकाद्वारा अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय

युवराज पौडेल   POSTED ON : बैशाख २२, २०७८ (६:४५ PM)

पुतलीबजार नगरपालिकाद्वारा अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय

स्याङ्जा  । कोभिड–१९ को दोस्रो लहर देशभरि बढ्दै जाँदा दैनिक जनजीवन जटिल बनिरहेको अवस्थामा स्याङ्जामा पनि कोभिड सङ्क्रमित बिरामीहरू दैनिक रूपमा बढिरहेका छन् ।

वैशाख २२ गतेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ३३१ पुगेको छ भने ५ जना सङ्क्रमितको ज्यान गएको छ । यही परिस्थितिलाई मध्यनजर गरी पुतलीबजार नगरपालिकाले नगरपालिका कार्यालय र सम्पूर्ण वडा कार्यालयहरूबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरू बन्द गरेको छ । स्याङ्जामा कोरोना सङक्रमितको सङ्ख्या बढेको भन्दै सो निर्णय गरिएको जनाइएको नगरपालिका स्रोतले जनाएको छ । 

पुतलीबजार नगरपालिका र वडा कार्यालयहरूबाट सम्पादन हुने स्वास्थ्य सेवा, फोहोरमैला व्यवस्थापन, दमकल लगायतका अत्यावश्यक सेवाबाहेक अन्य सेवाहरू अर्को व्यवस्था नभएसम्मको लागि बन्द गर्ने निर्णय गरिएको हो । प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्माद्वारा जारी सूचनामार्फत् नगरबासीलाई कोभिड–१९ बाट जोगिन संवेदनशील भइदिनका लागि अनुरोध समेत गरिएको छ । 

यस्तै पुतलीबजार नगरपालिकाभित्र सञ्चालन हुने भनिएको कक्षा ८ को पूर्व निर्धारित परीक्षा अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको छ भने अन्य विद्यालय तहका सम्पूर्ण परीक्षाहरू पनि तत्कालका लागि स्थगित गरिएको परीक्षा समिति सदस्य–सचिव गोविन्दराज सुबेदीद्वारा प्रेषित सूचनामा जनाइएको छ ।   


Top