बागलुङमा जन्ती लिएर हिँडेको तीन सवारी साधन प्रहरी नियन्त्रणमा

डम्मर बुढा मगर   POSTED ON : बैशाख २२, २०७८ (७:४२ PM)

बागलुङमा जन्ती लिएर हिँडेको तीन सवारी साधन प्रहरी नियन्त्रणमा

 बागलुङ । जिल्ला प्रहरी कार्यालय बागलुङले कोरोना महामारीमा जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्डको उल्लङ्घन गरी विवाह गरेको भन्दै तीन वटा सवारी साधन नियन्त्रणमा लिएको छ ।

सरकारले विवाहमा पाँचदेखि सात जना मात्रै उपस्थिति भएर विवाह गर्न निर्देशन गरे पनि बागलुङमा त्यसको उल्लंघन गरेपछि बुधबार एक विबाहमा प्रहरी परिचालन गरिएको हो ।

बागलुङको काठेखोला गाउँपालिका वडा नम्बर १ खहरेदेखि बागलुङ नगरपालिका वडा नम्बर ८ सिगानामा जन्ती जादा भीडभाड भएको र स्वास्थ्य सुरक्षा मापदण्ड नअपनाएको भन्दै प्रहरीले हस्तक्षेप गर्नु परेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख प्रहरी उपरिक्षक कृष्णबहादुर पल्ली मगरले जानकारी दिनुभयो ।

उहाँले सरकारको आदेश पालना नगरे अन्य विवाहमा समेत प्रहरी परिचालन गर्ने बताउनुभयो । ‘विवाहमा मापदण्ड विपरित धेरै सवारी प्रयोग गरी जन्ती गएको खबर आउनासाथ प्रहरी निरिक्षक श्रीराम भट्टको नेतृत्वमा दुलही पक्षको घर सिमानामा प्रहरी पठाइएका थियौँ’ प्रहरी प्रमुख मगरले भन्नुभयो ‘प्रहरी आएको खबरसंगै जन्तीहरु भागेको र जन्तीले प्रयोग गरेको तीन सवारी साथ नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखिएको छ, यस विषयमा थप अनुसन्धान गर्दैछौँ ।’

विवाहमा केटा पक्षले तीन बस र ६ जीपमा झण्डै २०० जन्ती लगेको प्रहरीको अनुमान छ । प्रहरी पुग्दा दुई बस र एक जीप बाहेकका सवारी साधनहरु समेत अन्यत्रै पठाएको पाइएको प्रहरीले जनाएको । थप अनुसन्धानका लागि प्रहरीले दुलहाको बुबालाई सोधपुछका लागि जिल्ला प्रशासन कार्यालयमा बोलाएको छ ।

जिल्लामा रहेक दिन ३० जनाभन्दा बढीमा कोरोना संक्रमण हुुँदै आएको छ । जिल्ला प्रशासन कार्यालय बागलुङले विवाह, ब्रतबन्ध लगायतका गतिविधि गर्न अनुमति लिनु पर्ने निर्णय गरेको थियो ।


Top