फेरिँदै गाउँघरको मुहार : ‘पहिले बटौलीमा गाडी गुड्थे, अहिले घरअघि नै गुड्छन्’

डम्मर बुढा मगर   POSTED ON : बैशाख २३, २०७८ (१०:१२ AM)

फेरिँदै गाउँघरको मुहार : ‘पहिले बटौलीमा गाडी गुड्थे, अहिले घरअघि नै गुड्छन्’

बाग्लुङ । ‘१८ सालमा बटौलीमा नुन लिन गएका थियौं, मोटर सररर चलेको देख्दा रमिता हेथ्र्याैं, बिजुली बलेको देख्दा अचम्म लाग्थ्यो, अहिले त घरैअगाडि मोटर गुड्छ, बिजुलीले घरै झलमल छ ।’ बाग्लुङको तमानखोला गाउँपालिका–४ लाम्मेलाका ७६ वर्षीया हर्कबहादुर छन्त्याललाई आफ्नै जीवन र आँखाअगाडि आएको परिवर्तन कथाजस्तै लाग्छ । उहाँले आफ्ना जवानीमा भोगेका कंैयन् वास्तविकता सुन्दा सुनाउँदा वास्तवमा नै मुलुकमा धेरै परिवर्तन भएको आभास हुन्छ ।
१८ सालदेखि लामो समयसम्म बुटवलबाट खाद्यान्न तथा नुन बोकेर उपभोग गर्दै आउनुभएका छन्त्याल अहिले आफ्नै घरअगाडि ती सामान पाउँदा दंग हुनुहुन्छ । अनेकौं उतारचढाब पार गर्दै अहिलेसम्म आउँदा आफूले सोच्दै नसोचेको विकास भएको उहाँको भनाइ छ ।
‘हामीले बटौलीमा गाडी गुडेको देख्दा हाम्रो गाउँमा आउन पचास सय वर्ष लाग्छ भन्ने अनुमान गरेका थियौं, हामीले अहिले नै यसरी हाम्रै घरअगाडि सररर गाडी गुड्ला, बिजुलीले घर झिलिमिली होला भन्ने लागेकै थिएन तर आयो, निकै सुबिस्ता भएको छ,’ छन्त्यालले भन्नुभयो, ‘विगतलाई सम्झिँदा त अहिले स्वर्गमा आएजस्तै भएको छ, कम्ता दुःख थियो त्यसबेला ।’
बुटवलबाट नुन लिएर घर आउँदा आधा महिना बित्ने गरेको भन्दै अहिले एकै दिनमा आउनजान सकिने भएको छन्त्याल बताउनुहुन्छ । उहाँले नुन ल्याउन जाँदा खर्चपर्च बोकेर जाने गरेको सुनाउँदै बाटोमै कयौं रात बिताउनुपरेको नमिठो अनुभवसमेत सुनाउनुभयो ।
‘गाउँका थुप्रै तरुनीतन्नेरी भएर बटौली नुन ल्याउन जान्थ्यौं, बाटोमै खाना पाएर खान्थ्यौं, बाटोमै सुत्थ्यौं, निकै रमाइलो पनि हुन्थ्यो, कष्ट पनि,’ उहाँले भन्नुभयो ‘धेरै भएर जाँदा बाटोमा तरुनीसँग गीत गाउने पनि गथ्र्यौं, कति साथीले त त्यही समयमै बिहेसमेत गर्थे, उतिबेलाको कुरा सम्झिँदा अहिले झसंग हुन्छु, त्यस्तो पनि गरेका थियौं र भनेर आफैंलाई प्रश्न गर्छु ।’
छन्त्यालले आफू ३५ वर्षको उमेरमा गाडी चढ्दाको रमाइलो अनुभव सुनाउँदै अब कुनै पनि नागरिकले पहिलेको जस्तो दुःख भोग्नुनपर्ने बताउनुहुन्छ । उहाँ गाउँभन्दा कोसौं टाढा पुगेर गाडीमा सवार गरेको सम्झनुहुन्छ ।
‘जेठो छोरा जन्मिएपछि म ३५ वर्षको थिएँ, त्यसबेला नै नौडाँडाबाट गाडीमा चडेको थिएँ, त्यसभन्दा अगाडि बटौलीमा नुन लिन जाँदा गाडी त देखेको थिएँ तर चढेको थिएन,’ उहाँले आफ्नो विगत सम्झँदै भन्नुभयो, ‘पहिलोपटक गाडीमा चढ्दा निकै मन फुरुंग भएको थियो, खुसीले संसारै जितेको जस्तो लागेको थियो, घर फर्किंदा उही गोरेटोमा यात्रा गर्नुपथ्र्यो ।’
उहाँले उतिबेला गाउँमा उपचारका लागि स्वास्थ्य संस्था, घर–घरमा धारा, टाढा पुग्नका लागि गाडीको सुविधा नभएको भन्दै अहिले गाउँहरू विस्तारै सबै विकासका पूर्वाधारले जोडिँदै गएको बताउनुहुन्छ । छन्त्यालले उतिबेला स्वास्थ्य उपचार समयमै नपाउँदा धेरैले ज्यान गुमाउनुपरेको भन्दै अहिले गाउँ–गाउँमा स्वास्थ्य उपचार हुने हुँदा खुसी व्यक्त गर्नुभयो ।
‘हाम्रो पालामा त स्वास्थ्य संस्थाहरू केही थिएनन्, कोही बिरामी प¥यो भने काठमाडौं, पोखरा लैजानुपथ्र्यो, समयमा उपचार नपाउँदा कतिले ज्यान गुमाउनुप¥यो,’ उहाँले विगतलाई सम्झँदै भन्नुभयो ‘अहिले त गाउँमै उपचार हुन्छ, यहाँ हुन नसके पनि ठूला अस्पतालमा छिट्टै पु-याउन सकिन्छ, अकालमा ज्यान गुमाउनुपर्ने अवस्था छैन ।’
तमानखोला अझै पनि जिल्लाको सबैभन्दा दुर्गम ठाउँ मानिन्छ । स्थानीय सरकार गठन भएपछि विस्तारै सुगम बन्दै गएको छ । भौगोलिक विकटता र सदरमुकामभन्दा टाढा हुँदा त्यस क्षेत्रका जनताले वर्षौंदेखि सास्ती खेप्दै आएका थिए । प्रशासनिक तथा अन्य कामका लागि जिल्ला सदरमुकाम आउनै उनीहरूलाई एक हप्ताभन्दा बढी लाग्थ्यो ।
तर, अहिले स्थानीय सरकारबाटै धेरै काम हुने भएपछि त्यत्ति जिल्ला सदरमुकाम आउनुपर्दैन, आउनैपरे पनि सडक सञ्जालले जोडिएको हुँदा एकै दिनमा काम सकेर फर्किन सक्ने अवस्था छ । साँच्चिकै पहिलेको तमानखोलालाई सम्झिने हो भने विकासले फड्को मारेकै हो भन्न सकिन्छ ।


Top