धौलागिरि हिमालमा पनि पुग्यो कोरोना : चारजना शेर्पा संक्रमित, उद्धारका लागि गएको हेलिकोप्टर बिचबाट नै फर्कियो

ध्रुबसागर शर्मा   POSTED ON : बैशाख २३, २०७८ (६:४४ PM)

धौलागिरि हिमालमा पनि पुग्यो कोरोना : चारजना शेर्पा संक्रमित, उद्धारका लागि गएको हेलिकोप्टर बिचबाट नै फर्कियो

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका ४ मुदीमा पर्ने धौलागिरि हिमाल आरोहणका लागि गएका आरोहीलाई कोरोना संक्रमण भएको छ ।

दुई साता अघि नेपाली र विदेशी गरी १३ जनाको टोली धौलागिरि हिमाल आरोहणका लागि गएको थियो । 

तीमध्ये चारजना शेर्पालाई कोरोनाको लक्षण देखिएपछि तीन दिन पहिले हेलिकोप्टरमार्फत काठमाडौं लगेर परीक्षण गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएको आरोहण दलमा संलग्न पर्यटन व्यवसायी इन्द्रमान शेरचनले जानकारी दिनुभयो ।

 उहाँका अनुसार अन्य आरोहीहरु विरामी छन् । उनीहरु धौलागिरि आधार शिविरभन्दा माथि रोकिएका छन् ।  उनीहरुको उद्धारका लागि विहीबार (आज) काठमाण्डौंबाट धौलागिरि हिमालको आधार शिविरतिर उढेका तीनवटा हेलिकोप्टर खराब मौसमका कारण मुदीबाट नै फर्किएका शेरचनले बताउनु भयो ।

 विभिन्न देशबाट आरोहणका लागि आएका १० जना विदेशी फर्किने तयारीमा रहेको बताइएपनि आरोहण दलमा रहेका पत्रकार पूर्णिमा श्रेष्ठ सहित तीन जना नेपाली आरोही फर्किने वा बेसक्याम्पमै बस्ने भन्ने बारेमा अझै जानकारी आएको छैन । आरोहण दलमा १० जना विदेशी र ३ जना नेपाली रहेको जनाइएको छ ।

विरामी आरोहीहरुको उद्धारका लागि गएका अल्टच्यूट कम्पनिका २ र कैलासको एउटा गरी ३ वटा हेलिकोप्टर विचबाटो बाट नै खाली काठमाडौं फर्किएका छन् ।

 


Top