ढोरपाटन सिकार आरक्ष : दोस्रो सिकार याममा नौ नाउर र चार झारलको सिकार

डम्मर बुढा मगर   POSTED ON : बैशाख २४, २०७८ (९:५१ AM)

ढोरपाटन सिकार आरक्ष : दोस्रो सिकार याममा नौ नाउर र चार झारलको सिकार

बागलुङ । नेपालको एक मात्र सिकार ढोरपाटनमा यस वर्षको दोस्रो सिकार सिजन सकिएको छ । दोस्रो सिजनमा नौ नाउर र चारवटा झारलको सिकार भएका छन् । विदेशी व्यावसायिक शिकारी ढोरपाटन पुगेर निर्धारित कोटा अनुसारको नाउरको सिकार गरेका हुन् ।
यस सिजनमा सिकारीले एक वटा झारलको शिकार गर्न चुके । दोस्रो सिजनलाई पाँचवटा झारलको कोटा निर्धारण गरिएको थियो । दोस्रो यामको सिकारबाट झण्डै २५ लाख रुपैयाँ राजस्व संकलन भएको आरक्ष कार्यालय ढोरपाटनले जनाएको छ । यो वर्ष लिलाम बढाबढ गर्दा नाउरको एक लाख ८१ हजारदेखि एक लाख ९५ हजार र झारलको एक लाखसम्म तोकिएको थियो ।
हरेक वर्ष पहिलो सिकार याम असोज–कात्तिक र दास्रो सिकार याम चैत–वैशाखमा हुने गर्छ । पहिलो सिजनमा नौ नाउर र पाँच झारलको सिकार अनुमति दिइएको थियो तर कोभिड–१९ महामारीका कारण सिकार हुन सकेको थिएन ।
पहिलो याममा एक झारल र एक नाउरको सिकार भएकोमा दोस्रो याममा भने लक्ष्यअनुरूप नै सिकार भएको ढोरपाटन सिकार आरक्षण प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले बताउनुभयो ।
आरक्षको फागुने, बार्से, सेङ, दोगाडी, घुस्तुङ, सुर्तिबाङ र सुनदह गरी सात ‘ब्लक’ मा सिकार खेल्ने गरिएको थियो । सिकार कम्पनी नेपाल ट्राभल एक्सपिडिसन प्रालि ललितपुर, हिमालयन वाईल्डलाइफ आउटफिर्टस प्रालि, ग्लोबल सफारिज प्रालि. ठमेल काठमाडौं र हिमालयन सफारिज नक्साल काठमाडौंमार्फत सिकारी ढोरपाटन पुगेका थिए ।
बन्दुक, गोलीगठ्ठा र सहयोगीसहित सिकारी आरक्ष आउने गरेको अधिकृत कँडेलले बताउनुभयो । खर्चिला र साहसी सिकारीले विकटमा रहेका ‘ब्लक’ मा सिकार खेल्न रुचि राख्छन् । सिकारीसहितको टोलीले १५ दिन जंगलमै समय बिताउने गर्छन् । दोस्रो याममा अमेरिका, रुस, प्रान्स, युक्रेन र स्पेनका पेशेवर सिकारीले सिकार गरेका हुन् ।
दोस्रो यामको पहिलो सिकार रुकुम पूर्वको सेङ ‘व्लक’मा चैतको २३ गते १२ वर्षको नाउर मारेर सुरु भएको थियो । अन्तिम सिकार पनि सोही ब्लकमा वैशाख ७ गते आठ वर्षको नाउरको सिकार गरेका थिए ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले हरेक सिकार याममा बोलपत्र आह्वान गरेर सिकारको कोटा र राजस्व दर निर्धारण गर्छ । साहसिक यात्रा र रोमाञ्चक सिकार अनुभवका लागि ढोरपाटन विदेशीको आकर्षक गन्तव्य बनेको छ । अधिकांश सिकारीहरू हेलिकोप्टरमार्फत ढोरपाटनमा आउने गर्छन् । पछिल्लो समय गाडी सडक सञ्जालले सिकार आरक्ष क्षेत्र जोडिएको हुँदा गाडीमार्फत पनि सिकारी पुग्ने गरेका छन् ।


Top