मुनामा विकासको बाधक बन्यो घुम्ती गोठ, आय आर्जनसँग जोडिनै चाहँदैनन् किसान

ध्रुवसागर शर्मा   POSTED ON : बैशाख २४, २०७८ (९:५६ AM)

मुनामा विकासको बाधक बन्यो घुम्ती गोठ, आय आर्जनसँग जोडिनै चाहँदैनन् किसान

म्याग्दी । दक्षिण–पूर्व लमतन्नै पसारिएको भिरालो पाखो । वर्षौं पहिले त्यही पाखोलाई सम्याएर बनाइका बारीका ठूल्ठूला गह्रा । गह्राको डिलमा डाले घाँस । गह्राको बीचमा गाईभँैसी बाँध्ने अस्थायी (टहरा) गोठ ।
सिञ्चाइको सुविधा भएको र जे लगाए पनि राम्रो फल्ने मलिलो माटो । तर, म्याग्दीको धौलागिरि गाउँपालिका वडा नं ३ मुनाको हजारौं रोपनी जग्गा कहिकतै फाट्ट–फुट्टरूपमा आलु खेतीबाहेक अरू जमिन बाँझै पल्टिएको छ । त्यही बाँझो जमिनलाई स्थानीयले गाईभैैंसी, गोरु र बाख्रा पाल्ने अस्थायी गोठको रूपमा प्रयोग गरेका छन् ।
करिब ६०० घर परिवारको बसोबास रहेको बाक्लो बस्ती भएको गाउँ हो मुना । पश्चिम म्याग्दीको प्रमुख व्यापारिक केन्द्र तथा मालिका गाउँपालिकाको केन्द्र दरबाङबाट गाडीमा साढे दुई घण्टाको यात्रापछि पुग्न सकिने मुना पाँच वर्षअघिसम्म अत्यन्त दुर्गम मानिथ्यो । अहिले यातायातको पहुँच पुगेसँगै सुगम त भएको छ, तर स्थानीयको परम्परागत मान्यता र सोचाइमा भने परिवर्तन आउन नसकेको धवलागिरि गाउँपालिका–३ मुनाका अध्यक्ष पुर्म पुन बताउनुहुन्छ ।
वडा अध्यक्ष पुनका अनुसार उन्नत तरिकाको खेतीपाती, व्यावसायिक पशुपालन र आयआर्जनमूलक कार्यक्रममार्फत यस गाउँको विकास गर्न सकिने प्रशस्तै सम्भावनाहरू छन् । तर, यी सबै कुराहरू केवल सपना मात्र भएका छन् । किनभने यहाँका स्थानीयहरू खाली जग्गालाई घुम्ती गोठको रूपमा बाहेक अरू कुरामा प्रयोग गर्न मान्दैनन् ।
अध्यक्ष पुन भन्नुहुन्छ, ‘घुम्ती गोठ यहाँको विकासका लागि बाधक बनेको छ, गाउँभरि ८० भन्दा बढी घुम्ती गोठहरू रहेका छन्, खेती गर्नुपर्ने जग्गालाई बाँझै पल्टाएर घाँस उमारेपछि खाद्यान्नलगायत अन्य बालीमा कहिले आत्मनिर्भर हुन सकिन्छ ?’ वडाअध्यक्ष पुनले उल्टै प्रतिप्रश्न गर्नुभयो ।
जनतालाई विकास र आयआर्जनसँग जोड्ने काम त जनप्रतिनिधिको पो हो त भन्ने जिज्ञासामा अध्यक्ष पुनले भन्नुभयो–‘माने पो ¤ परम्परागत कुराहरूलाई छोड्न यहाँका बासिन्दा ज्यान गए तयार छैनन् । प्रविधिको प्रयोग नै गर्दैनन् । सरकारी सेवा सुविधमा विश्वासै छैन, अनि कहाँबाट विकास गर्न सकिन्छ ।’
‘हामीलाई यसैमा आनन्द छ, वर्षामा पशुगोठ बुकी (लेक) मा लैजान्छौं, हिउँदमा वेसी झार्छौं, पशु पाल्छौं, दूध,मही खान्छौं, यसैगरी यत्रो जीवन बाँचियो, अब मर्ने बेलामा किन नानाभाँती गर्नुप¥यो’ मुनाका ७९ वर्षीय पमबहादुर पुनले भन्नुभयो । ‘खै के के जाति हो दिन्छ भन्छन्, पशु गोठ दर्ता गरे र पशुपालन गरे अनुदान हो कि के पाइन्छ पनि भन्छन्, पैसा नभए जग्गा धितो राखेर बैंकले पैसा दिन्छ पनि भन्छन्, तर यी सबै कुरामा हामीलाई चासो छैन, जे छ त्यसैमा खुसी छौं’ अर्का ७४ वर्षीय शेरबहादुर पाइजाले भन्नुभयो– ‘पैसा तिर्न नसके बैंकले जग्गा खाइदिन्छ रे ¤ गोठ भएका ठाउँमा अरू बाली लगाए हुन्छ हुँदैन ठेगान छैन, त्यसैले बाजे, बराजुको पालादेखि जे चलेको थियो त्यसैलाई हामीले पनि थामेका हौं ।’
कृषि र पशुपालनमा प्रशस्तै सम्भावना भएको यस ठाउँबाट स्थानीयले लाभ लिन नसकेका वडाअध्यक्ष पुन स्वीकार्नुहुन्छ । घुम्ती गोठलाई व्यवस्थित बनाई त्यहाँ व्यावसायिक कृषि गर्ने सोच भएपछि स्थानीयहरूको बेवास्ताका कारण त्यसो गर्न नसकिएको उहाँको भनाइ छ ।
यहाँका युवा पुस्तालाई कृषि र पशुपालनतर्फ कुनै रुचि छैन । उनीहरू वैदेशिक रोजगारका लागि मरिहत्ते गर्छन् । बूढा पुस्ता आफ्नै रैथाने तरिका परिवर्तन गर्न चाहँदैनन् । ‘गाउँपालिका र वडाले पैसा दिन्छ, अलि फरक तरिकाले पशुपालन गरौं न भन्दा पनि मान्नुहुन्न’ वडाअध्यक्ष पुनले बताउनुभयो ।
अध्यक्ष पुनका अनुसार यहाँका बासिन्दाको आम्दानीको मुख्य स्रोत भनेकै वैदेशिक रोजगार हो । विदेशबाट आउने रेमिट्यान्सले नै यहाँको दैनिकी धानिएको छ । यहाँको जमिनलाई राम्रोसँग सदुपयोग गर्न सक्ने हो भने रोजगारीका अनेकौं अवसरहरू यहाँ छन् । तर, ती अवसरहरू त्यतिकै खेर गइरहेका छन् ।
जाडो–गर्मी छल्न पनि घुम्ती गोठकै भर
चिसो बढेसँगै मुना, लुलाङ र गुर्जाका किसानहरूले घुम्ती गोठहरू बेँसी झार्ने गर्दछन् । अब गर्मी सुरु हुन लागेको र गाउँमा कोरोना संक्रमणको जोखिम पनि उच्च रहेकाले उनीहरूले गोठलाई लेक लैजाले तयारी गरिरहेका धवलागिरि गाउँपालिका–२ लुलाङका वडा सदस्य मतिप्रसाद पाइजाले बताउनुभयो । हिमाली जिल्ला म्याग्दीका उच्च बस्तीहरूमा रहेका घुम्ती गोठहरू यतिबेला लेक जाने तयारीमा रहेका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले जनाएको छ ।
जिल्लाका लेकाली क्षेत्रहरूमा प्रशस्तै मात्रामा पशुपालन गरिन्छ । निर्वाहमुखी पशुपालन भनिए पनि भेडाबाख्राबाट भने यहाँका किसानले राम्रै आम्दानी पनि गरेका स्थानीय तमबहादुर विकले भन्नुभयो, ‘गर्नेले राम्रै पनि गरेका छन्, भेडाबाख्रा बेचेर वार्षिक पाँच लाख कमाउने व्यक्तिहरू पनि पश्चिमी क्षेत्रका लेकाली बस्तीहरूमा भेटिन्छन् ।’
विकका अनुसार भेडाबाख्रा, गाई, भैंसी, याक÷चौँरीका लागि गाउँमा घाँसको कमी हुन जान्छ । आहाराको अभावले पशु चौपाया मर्ने समस्या हुनसक्छ । त्यसैले गर्मी र चिसो छल्नका साथै पशुलाई आहाराको कमी हुन नदिन किसानहरूले चिसोको समयमा घुम्ती गोठहरू बेँसी झार्छन् भने गर्मीको समयमा लेकतर्फ उकाल्ने गर्दछन् ।
विकले दिएको जानकारीअनुसार मुनादेखि माथिका बस्ती (लुलाङ,मुदी,गुर्जा) का गोठहरूमा झण्डै दुई हजार गाई, भैंसी र गोरु पालिएका छन् भने भेँडी गोठमा झण्डै आठ हजारको हाराहारीमा भेडाबाख्रा पालिएका छन् ।
चिसोमा बेँसी झारिएका घुम्ती गोठहरू गर्मी सुरु भएसँगै लेकतिर सारिन्छ । ‘चिसो महिनामा माथिल्लो क्षेत्रमा रहेका गोठहरू बेँसी सारिन्छ । चैत–वैशाखदेखि बेँसी झारिएका घुम्ती गोठहरू विस्तारै माथिल्लो क्षेत्रतर्फ सारिन्छन्,’ उहाँले भन्नुभयो ।
आय आर्जनसँग जोडिएन पशुपालन : फेरिएन अवस्था
पशुपालन गर्नु निकै दुःखको पेसा हो । तर,यति धेरै दुःख गरेर धानिएको यो पेसा आजसम्म पनि आय आर्जनसँग जोडिन सकेको छैन । गोठभरी गाईभैंसी, हलगोरु र भेडाबाख्रा हुँदा पनि घुम्ती गोठका गोठालाहरूको अवस्था भने ज्यूँका त्यूँ छ । गर्मीमा उनीहरूको जिउमा रहेका एकसरा कपडाले नै जाडोपनि कटाउने गर्छन् । छोरा, नाति विदेश भएपनि उनीहरू आफ्नै इच्छा र परम्परागत लुगामा नै रमाउन अभ्यस्त छन् । वडाअध्यक्ष पुन भन्नुहुन्छ, ‘पैसा नभएर पनि होइन, छोरा नाति, अमेरिका, अष्ट्रेलिया छन् । यिनीहरूले जे मागे पनि पु¥याइ दिन्छन् । तर, लगाउँदै नलगाए पछि उनीहरू पनि के गरून् ।’
धौलागिरि गाउँपालिकाको केन्द्र मुनाको वडा नं ३ को वडा कार्यालयको तल्लोपट्टि मुना–मटला सडकखण्ड मुनिको घुम्ती गोठमा चार वटा गाई गोरु र तीन वटा भैँसी पालेर बस्नुभएका डबहादुर विकले दिन कटाउन सजिलो हुने भएको र (गोरस) दूध, मही खान पाइने भएकोले पशुपालन गरेको बताउनुभयो ।
यति धेरै पशु पालेर पनि उहाँले घिउ मात्र बेच्ने गर्नुभएको छ । ‘दूध बिक्री गर्ने ठाउँ छैन, मोही पा¥यो, यसो कहिलेकाहीँ घिउसम्म बेचिन्छ’ उहाँले भन्नुभयो, ‘दुःख धेरै छ, आम्दानी त छैन सरोवर ।’
वडाअध्यक्ष पिर्म पुनले पशुपालक कृषकहरूलाई आयआर्जनसँग जोड्न वडाले पटक–पटक गरेको प्रयास पनि उहाँहरूकै बेवास्ताका कारण असफल भएको बताउनुभयो । उहाँका अनुसार परम्परालाई छोड्न नसक्नु नै यहाँका पशुपालक कृषकहरू आयआर्जनसँग जोडिन नसक्नुको मुख्य कारण हो ।
घुम्ती गोठकै कारण नासिँदै पनि छ जैविक विविधता
पश्चिम म्याग्दीका लेकाली जंगल र खर्कहरू जैविक विविधताले भरिएका छन् । यहाँ यार्सागुम्बा, कटुकी, निरमसी, बोधो, सतुवाजस्ता बहुमूल्य जडीबुटी पनि पाइन्छन् । तर, खर्कहरूमा चरिचरन खुला गरिँदा यस्ता बहुमूल्य जडीबुटीहरू पशुचौपायाका आहारा बनेका स्थानीय लखबहादुर भण्डारीले बताउनुभयो ।
त्यसैगरी, यहाँ मृग, चितुवा, बनविरालो, बाँदर जस्ता जंगली जनावर र डाँफे, मुनाल, गिद्ध, ढिकुर, तित्रा, उल्लु, चिल जस्ता पक्षीहरूको वासस्थान पनि रहेको छ । तर गोठ सर्दा मानिसहरू पनि सँगै हुने र उनीहरूले गाउँमा मानिसलाई बोलाएर शिकार गर्ने हुँदा जैविक विविधताका स्रोतहरू पनि नासिँदै गएका त्यस क्षेत्रका जनप्रतिनिधिहरूले बताएका छन् ।


Top