विवाह भोजमा सहभागी २५ जनामा कोरोना संक्रमण, गाउँमा अरु धेरै बिरामी

डम्मर बुढा मगर   POSTED ON : बैशाख २४, २०७८ (५:०१ PM)

विवाह भोजमा सहभागी २५ जनामा कोरोना संक्रमण, गाउँमा अरु धेरै बिरामी

बागलुङ । बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर ४ जलजलाका २५ जनामा कोराना संक्रमण पुष्टि भएको छ । संक्रमति भएका अधिकांश केही दिन अगाडि सोही गाउँमा भएको एउटा विवाह समारोहमा सहभागी थिए । गाउँमा कोरोना संक्रमणको शंकास्पद बिरामी बढ्न थालेपछि बडिगाड गाउँपालिकाले कोरोना परीक्षण गरेको थियो । 

बिहीबार गाउँका २९ जनाको स्वाब परीक्षण गरिएकोमा शुक्रबार २५ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित भएका सबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको बडिगाड गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक चुडमणी कँडेलले जानकारी दिनुभयो ।

गाउँपालिकामा संक्रमण तीव्र गतिमा फैलिएको हुँदा थप सतर्कता अपनाउनु पर्ने कँडेलको भनाई छ । गाउँम नै संक्रमण फैलिएपछि रोकथामका लागि आफूहरु लागि रहेको उहाँको भनाई छ । गाउँमा सरकारले निर्देशन गरेको स्वास्थ्य मापदण्ड नअपनाउँदा संक्रमणको दर बढेको कँडेल बताउनुहुन्छ ।

‘गाउँमा बढि भिडभाड हुने र अन्य सार्वजनिक क्रियाकला हुने गरेको थियो, बाहिरबाट पनि आवतजावत बढी भएको हुँदा अहिले संक्रमणको जोखिम निकै बढेको छ, गाउँमा धेरै मान्छेहरु बिरामी भएका छन्,’ स्वास्थ्य शाखा प्रमुख कँडेलले भन्नुभयो ‘शंकास्पद बिरामी भएको पाइएपछि हामीले परीक्षण गरेका हौँ, परीक्षण गरेका मध्ये धेरैलाई संक्रमण पुष्टि भयो ।’

जलजला गाउँसँगै अन्य गाउँमा पनि संक्रमणको जोखिम बढेको भन्दै उहाँले सबै तिर परीक्षण गर्न सुरु गरेको बताउनुभयो । संक्रमणहरुको व्यवस्थापनको लागि गाउँपालिकाले आइशोलेसन तथा अन्य व्यवस्थापनलाई तीव्रता दिएको छ ।

विवाह समारोहमा सहभागी भएका दुलाहा पक्षका आफन्तहरु तथा अन्य गाउँका अधिकांश मानिसहरु बिरामी परेको बडिगाड गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष प्रेम गलामी मगरले जानकारी दिनुभयो । अध्यक्ष मगरले गाउँमा पछिल्लो समय बाहिरबाट आवतजावत बढी भएको र विवाह लगायतका कार्यक्रमहरु हुँदा खेरी जोखिम बढेको बताउनुहुन्छ ।

‘अहिले संक्रमित भएकाहरु अधिकांश विवाहमा सहभागी भएका छन्, केही उनीहरुसँग सम्पर्कमा रहेका छन्,’ अध्यक्ष मगरले भन्नुभयो ‘पछिल्लो समय गाउँमा भिडभाड हुने खालका गतिविधिहरु भएको र त्यहीबाटै कोरोना फैलिएको भन्ने लाग्छ, गाउँमा अरु पनि धेरै बिरामी पर्नु भएको छ तर अवस्था सबैको समान्य छ ।’

गाउँ कोरोना संक्रमणको उच्च जोखिममा परेपछि केही दिनका लागि गाउँ नै सिल गरेको भन्दै संक्रमितहरु सबैको अवस्था सामान्य हुँदा होम आइशोलेसनमा राखिएको अध्यक्ष मगरको भनाई छ । गाउँमा संक्रमण बढ्दै गएपछि स्थानीयहरु समते त्रसित भएका छन् ।

‘अहिले कसैलाई लानि त्यस्तो बढी समस्या भएको छैन सबैलाई ज्वरो आउने, रुघा खोकी लगायतका समस्याहरु देखिएको छ, त्यसो हुँदाखेरी सबैलाई घरमै राखिएको छ,’ उहाँले भन्नुभयो ‘संक्रमणको दर अझै धेरै बढ्ने देखिन्छ, गाउँभरीका धेरैजसो बिरामी परेको हुँदा थप सजकता अपनाएका छौँ ।’

केही दिन अगाडी गाउँमा भएको विवाह समारोहमा जलजला गाउँसँगै अन्य विभिन्न स्थानबाट पनि मानिसहरु सहभागी भएको बताइएको छ । उक्त विवाहमा करिब ४०० जना सहभागी भएको स्थानीयको भनाई छ । विवाहमा सहभागी भएका ८७ वर्षीय वृद्धको बिहिबार धौलागिरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । उहाँको मृत्युपछि गाउँमा थप त्रास फैलिएको छ ।

तस्वीर ः बडिगाड गाउँपालिका वडा नम्बर ४ मा स्वाब संकलन गर्दै स्वास्थ्यकर्मी । तस्वीर –हिमालय टाइम्स


Top