अक्सिजन अभाव हुन नदिन जिल्ला प्रशासन नै लाग्यो सिलिण्डर संकलनमा

डम्मर बुढा मगर   POSTED ON : बैशाख २५, २०७८ (३:५४ PM)

अक्सिजन अभाव हुन नदिन जिल्ला प्रशासन नै लाग्यो सिलिण्डर संकलनमा

बागलुङ । बागलुङका अस्पतालहरुमा अक्सिजन सिलिण्डरको अभावमा बिरामीको उपचार प्रभावित हुन नदिनको जिल्ला प्रशासन कार्यालयले निजी क्षेत्र तथा प्रतिष्ठानहरुमा रहेका सिलिण्डर संकलन गरेको छ ।

गृह मन्त्रालयको निर्देशमा प्रहरी र प्रशासनका कर्मचारीहरुले सिलिण्डर संकलन गरेका हुन् । निजी तथा सामुदायिक स्वास्थ्य संस्थाबाट बागलुङमा एक सय बढी सिलिण्डर संकलन भएको प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्कीले जानकारी दिनुभयो ।

प्रशासनले संकलन गरेका सिलिण्डर मध्ये ४४ वटा सिलिण्डर धौलागिरी अस्पतालमै प्रयोगमा रहेका हुन् । अन्य बाँकी यहाँका निजी क्षेत्र तथा प्रतिष्ठानहरुले व्यवसायीक प्रयोजनमा लगाएका सिलिण्डर हुन् । बिरामीले अक्सिजन नपाएको समाचार सार्वजनिक हुँदै गर्दा प्रशासनले सक्रियता देखाएको हो ।

‘गृहको निर्देशनपछि हामीले जिल्लामा प्रयोगविहीन सिलिण्डरको खोजी थालेका हौं, यहाँका व्यवसायीले निकै सौहार्दपूर्ण वातावरणमा सिलिण्डर दिनुभएको छ’ प्रजिअ कार्कीले भन्नुभयो ‘हामीले नमिठो बोल्नै परेन, काम सकिएपछि फिर्ता गर्ने दोहोरो सम्झौता गरेर लिएका छौं ।’

उक्त सिलिण्डर मध्ये जिल्लाको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको निर्णयानुसार तत्काल अत्यावश्यक रहेका अस्पताल तथा आईसोलेसन कक्षका लागि उपलव्ध गराइने छ । सिलिण्डरमा अक्सिजन भर्नु पूर्व सफाईका लागि पोखरा पठाउने तयारी छ ।

‘अहिले संकलन भएका सिलिन्डरहरु रिफिलिङ गरेर मात्रै अक्सिजन भर्ने काम हुन्छ, अभाव टार्न हामी तल्लिन छौं ।’ प्रजिअ कार्कीले भन्नुभयो । बागलुङका केही निजी अस्पताल, यहाँ सञ्चालनमा रहेका ग्यारेज, केही ठुला मेसिनका मर्मत केन्द्रबाट सिलिण्डर संकलन गरिएको जिल्ला प्रशासन कार्यालय बागलुङले जनाएको छ । 

धौलागिरी अस्पतालको अक्सिजन प्लान्ट समयमा मर्मत नहुँदा अक्सिजन खेर गैरहेको र बिरामी बढ्दै जाँदा अक्सिजनको अभाव हुने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका थिए ।

‘अहिलेको अवस्थामा उपलव्ध सिलिण्डरले पुग्ला भन्ने लागेको छ’ उहाँले भन्नुभयो ‘थप आवश्यक पर्ने अवस्थामा माथिल्लो निकायमा माग गरिरहेका छौं, अल्लीपछि सहज हुन्छ कि भन्ने छ, ।’ 

धौलागिरी अस्पतालको २५ शैयाको आईसोलेसनमा कोरोना संक्रमितको अक्सिजन लगाएर उपचार भैरहेको छ । बागलुङ नगरपालिकाले ३५, बडिगाड गाउँपलिकाले १०, ढोरपाटन नगरपालिकाले १० र ताराखोला गाउँपालिकाले १५ शैयाको अक्सिजन सहितको आईसोलेसन तयार पारेको हुँदा त्यहाँ समेत अक्सिजनको अवश्यकता पर्नेछ ।

अक्सिजन तथा सिलिण्डर व्यवस्थापनका लागि जिल्लामा क्रियाशील विभिन्न संघ संस्थाहरुले पनि महत्वपूर्ण सहयोग गर्दै आएका छन् ।


Top