नेपाली कांग्रेस स्याङ्जाले पार्टी कार्यालयलाई आइसोलेशन बनाउने

युवराज पौडेल   POSTED ON : बैशाख २५, २०७८ (५:१० PM)

नेपाली कांग्रेस स्याङ्जाले पार्टी कार्यालयलाई आइसोलेशन बनाउने

स्याङ्जा । नेपाली कांग्रेस स्याङ्जाले आफ्नो कार्यालय अस्थायी कोभिड अस्पताल वा आइसोलेसन निर्माणको लागि आवश्यकता परेको समयमा दिने निर्णय गरेको छ । कोरोना महामारीको दोस्रो लहर निकै कडा रुपमा प्रस्तुत भइरहेका समयमा स्याङ्जामा पनि कोरोना व्यापक बन्दै गएको भन्दै काङ्ग्रेसले उक्त निर्णय गरेको हो । दोस्रो भेरियन्टको लहर तीव्र बन्दै गर्दा देशभरि अस्पताल, बेड, आइसोलेसनको अभाव भएका बेला जिम्मेवार दलका हैसियतले उक्त निर्णय गरिएको स्याङ्जा काङ्ग्रेसका कार्यवाहक सभापति बुद्धिबहादुर राना कुमारले बताउनुभयो । 

स्याङ्जा सदरमुकामस्थित अभियानपथमा रहेको उक्त भवन स्थानीय तह, प्रदेश सरकार, केन्द्र सरकार वा अन्य कुनै गैर नाफामुखी संस्थाले आइसोलेसन निर्माणको लागि लिन चाहेको खण्डमा तत्काल प्रयोग गर्न दिने निर्णय गरिएको नेपाली काङ्ग्रेस स्याङ्जाका सभापति रानाले हिमालय टाइम्सलाई बताउनुभयो । उहाँले सरकार, सम्पूर्ण राजनैतिक दल, नागरिक समाजलगायत सबैलाई महामारीको बेला सहयोगी भूमिका निर्वाह गर्न आग्रहसमेत गर्नुभयो । 

त्यस्तै तरुण दलका स्याङ्जाका अध्यक्ष तथा प्रदेश सभा सदस्य भागवत् प्रकाश मल्लले काङ्ग्रेसले कोरोना महामारीको विपत्लाई सहज बनाउन यस्तो निर्णय गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पार्टी अफिस आइसोलेसन वा अस्थायी कोभिड अस्पताल बनाउन दिने निर्णय मात्र नभएर आगामी दिनमा अन्य निर्णय पनि जनताको हितमा आवश्यकतानुसार गर्दै जाने छौँ ।‘ 

त्यस्तै काङ्ग्रेस स्याङ्जाका युवा नेता तथा सभासद् राजु थापाले स्याङ्जा काङ्ग्रेस यो महामारीमा नेपाली जनताको सुखदुखमा साथमा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘काङ्ग्रेसले यो महामारीमा के भूमिका खेल्न सक्छ भन्ने सन्दर्भमा आफूहरु गम्भीर भएर छलफल जुटिरहेको बताउनुभयो ।’  


Top