बागलुङमा शव बाहन नहुँदा एम्बुलेन्सलेनै बोक्छन् शव

डम्मर बुढा मगर   POSTED ON : बैशाख २६, २०७८ (७:०९ PM)

बागलुङमा शव बाहन नहुँदा एम्बुलेन्सलेनै बोक्छन् शव

 बागलुङ ।  बागलुङ जिल्लामा अहिलेसम्म शव बाहना छैन । शव बहान नहुँदा एम्बुलेन्समै शव बोक्दै आएको छ । धौलागिरी अस्पतालमा गत बिहीबार दुई कोरोना संक्रमितको मृत्यु भयो । उनीहरुलाई बिरामी बोक्ने एम्बुलेन्समा राखेर कालिगण्डकी किनारामा लगेर शव व्यवस्थापन गरियो । 


स्वास्थ्यकर्मीहरुले एम्बुलेन्समा बिरामी र शव बोक्न नहुँने भन्दै आए पनि शव बाहन नहुँदा एम्बुलेन्समै शव राखेर सम्बन्धित स्थानमा पु¥याउनु पर्ने बाध्यता छ । अहिले संक्रमित बोक्ने एम्बुलेन्सकै अभाव भइरहेको सन्र्दभमा शव व्यवस्थापनमा शव बाहनै खाँचो देखिएको छ ।  


एम्बुलेस समेत पर्याप्त नभएको बागलुङमा हाल सम्म शव बाहन छैन । जिल्लामा कोरोना संक्रमणको दर बढ्दै गएको छ । उपचारत पछि संक्रमणबाट मृत्यु भएकालाई अन्तिम संस्कारका लागि लैजान शव बाहन आवश्यक भए पनि एम्बुलेन्समा लैजाने गरिएको छ । जस कारण अन्य बिरामीका लागि एम्बुलेन्स प्रयोग गर्न मिल्दैन । 


शव व्यवस्थापनमा नेपाली सेना सक्रिय रहे पनि सेनासंग शव बाहन नहुँदा एम्बुलेन्सको भर पर्नुपर्ने अवस्था रहेको छ । संक्रमित बोक्ने एम्बुलेन्समा नै शव राखेर अन्तिम दाहसंस्कारका लागि लैजाने गरेको छ । यसो गर्दा सामान्य बिरामीले एम्बुलेन्स उपयोग गर्न पाउने छैनन् । 


स्वास्थ्य कार्यालयका बागलुङका कोभिड–१९ फोकल पर्सन देव प्रकाश घिमिरेले शव व्यवस्थापनका लागि जिल्लामा एउटा शव बाहन अनिवार्य निकै आवश्यक भएको बताउनुहुन्छ । ‘महामारीमा संक्रमितको शव व्यवस्थापन गर्छ महामारी सकिएपछि पनी शव ल्याउन लैजान सहज हुनेछ’ घिमिरेले भन्नुभयो ‘बागलुङ नगरपालिकाले शव बाहन खरिद गर्ने कुरा सुनेको छु त्यो निकै सुखद् कुरा हो, शव बाहनको काम एम्बुलेन्सले गर्दा बिरामी बोक्न समस्या भइरहेको छ ।’


कोरोनाको पहिलो लहरमा रेडक्रसको एम्बुलेन्समा नगरपालिकाले चालक व्यवस्थापन गरी शव तथा संक्रमित बोक्दै आएकोमा अहिले नगरपालिकाको चालक समेत कोरोना संक्रमित भइसकेपछि झनै समस्या भइरहेको छ । बागलुङमा शव बाहनको लागि नगरपालिकाले दुई वर्षदेखि खरिद गर्न थालेको भए पनि अहिले बल्ल खरिद प्रक्रियामा पुगेको बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । 


‘बागलुङमा शव बहानको आवश्यकता पहिलेदेखिनै खड्किएको हो, हामीले महामारीमा नभई अघिपछिका लागि खरिद गर्न थालेका थियौ, यस बीचमा कोरोना महामारी आयो यसको झनै प्रभावकारी हुने देखेका छौं, प्राविधिक कारणबस ढिला हुन पुग्यो, अहिले खरिद प्रकृयामा छ’ नगर प्रमुख पौडेलले भन्न्ुभयो ‘केही हप्तामा शव बाहन आउला नगरपालिकाले खरिद गर्ने शव बाहन कोरोना संक्रमितको शवलाई निःशुल्क व्यवस्थापन गर्नेछ । महामारी सकिएपछि जनताले सर्वसुलभ दरमा शव ल्याउन,लैजान सक्नेछन् ।’

शव बाहन नहुदा भाडाका जीपले मनोमानी शुल्क लिदै आएकोमा यसको अन्त्य भएर जाने नगर प्रमुख पौडेलको भनाई रहेको छ । विदेशमा मृत्यु भएको शव गाउँ पु¥याउदा तथा अस्पतालबाट शव घाटसम्म ल्याउन जीप तथा भ्यानले २५ हजारभन्दा बढी रकम असुल्ने गरेका कारण नगरपालिकाले जनतालाई सहयोग गर्नका लागि शव बाहन ल्याउन थालेको हो । भन्सार छुट भएपछि शव बाहन झण्डै १२ देखि १५ लाखमा आउने छ । 


जिल्लामा एउटा पनि शव बहान नहुँदा स्थानीयहरुले हजारौँ रुपैयाँ तिरेर शव बोकाउन बाध्य छन् । अझ यो संकटको अवस्थामा एम्बुलेन्समै शव बोकाउनु पर्दा बिरामी समयमै अस्पताल पुग्न नसकेको गुनासो छ ।


Top