डाक्टरको अभावमा स्वास्थ्य संस्था, बिरामीलाई सास्ती

डम्मर बुढा मगर   POSTED ON : बैशाख २७, २०७८ (४:४२ PM)

डाक्टरको अभावमा स्वास्थ्य संस्था, बिरामीलाई सास्ती

बागलुङ । बागलुङमा कोरोना संक्रमणको दर बढ्दै जाँदा जिल्लामा जनशक्ति अभाव हुँदै गएको छ । केही स्थानीय तह त झन् डाक्टर विहीननै बनेका छन् । स्वास्थ्य संस्थामा जनशक्ति अभाव हुँदै जाँदा बिरामीले उपचार नपाउने भन्दै चिन्ता व्यक्त गर्न थालेका छन् । यसै सन्दर्भमा जिल्लाको जैमिनी डाक्टर विहीन बनेको छ । 


जैमिनी नगरपालिकामा रहेको कुश्मिसेरा प्राथमिक स्वास्थ्य चौकीमा एक जना मात्रै डाक्टर थिए करारमा कार्यरत हुनुहुन्थ्यो । डाक्टरको करार सम्झौता अवधी सकिएपछि जैमिनी डाक्टरबिहीन बनेको नगरपालिकाले जनाएको छ । स्वास्थ्य केन्द्रमा कार्यरत डा राजु भट्टराई क्षेत्रीको सम्झौता सकिएपछि प्राथमिक स्वास्थ्य चौकी डाक्टरबिहीन बनेको नगर स्वास्थ्य शाखा संयोजक गोविन्दप्रसाद आचार्यले बताउनुभयो । 

कोरोना संक्रमणका बिरामीहरुका लागि नियुक्ती गरेका स्वास्थ्यकर्मीहरुको समेत करार अवधि सकिएपछि झन् समस्या भएको स्थानीयले गुनासो गरेका छन् । डाक्टरको करार मिति थपेर पुनः क्षत्रीलाई नै ल्याउने अथवा नयाँ विज्ञापन खुलाउने विषयमा छलफल भइरहेको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक आचार्यले बताउनुभयो ।

‘अहिले १० शैयाको अक्सिजनसहितको आइसोलेसन वार्ड बनाएका छौँ, १० दिनदेखि डाक्टरको करार सकिएपछि डाक्टरको अभाव छ’, आचार्यले भने, ‘अहिले कोरोना सङ्क्रमित होमआइसोलेसनमा छन्, समस्या परे अक्सिजनसहितको वेड तयारी अवस्थामा छ, एउटा डाक्टर भए निकै सहज हुन्थ्यो, अहिले करार सकिएका डाक्टरलाई नै पुनःनियुक्ति दिनेगरी पहल थालेका छौँ ।’ तत्काल आइसोलेसन खाली भए पनि सामान्य संक्रमित राख्दा जटिल आएमा समस्या हुने भएकाले अक्सिजन तथा उपचार आवश्यक संक्रमितलाई मात्रै आइशोलेसनमा भर्ना गर्ने तयारीमा रहेको आचार्यको भनाई छ ।

नगरपालिकाले हालै सञ्चालन गरेको कोभिड–१९ अस्थायी अस्पतालमा पनि कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीले नै काम गर्ने भएकाले कोरोना अस्पताल पनि प्रभावकारी हुने देखिएको भए पनि डाक्टरको अभाव रहेको  छ । सरकारको मापदण्डअनुसार कोरोना अस्पतालमा कम्तिमा एक डाक्टर, एक पारामेडिक्स्, एक स्टाफ नर्स र एक कार्यालय सहयोगीसहित चार स्वास्थ्यकर्मी अनिवार्य हुनुपर्ने व्यवस्था छ ।

स्वास्थ्य केन्द्रमा मौसमी फ्लु र अन्य बिरामी पनि पछिल्लो समय चाँप बढेको छ । तर डाक्टर नहुँदा बागलुङमै आउनु पर्ने बाध्यता रहेको स्थानीयको गुनासो छ । सम्बन्धित निकायले समयमै डाक्टरको व्यवस्थापन गर्न सकेन भने यसबाट ठूलो मुल्य चुकाउनु पर्ने छ । 


तस्बिर : जैमिनी नगरपालिकाको कार्यालय


Top