21st June | 2021 | Monday | 2:00:47 PM

गण्डकी प्रदेश– जनमोर्चाले संसदीय दलको नेताबाट हटायो थापालाई

हिमालय टाइम्स   POSTED ON : बैशाख २९, २०७८ (३:४६ PM)

गण्डकी प्रदेश– जनमोर्चाले संसदीय दलको नेताबाट हटायो थापालाई

पोखरा । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशको संसदीय दलका नेताबाट कृष्ण थापालाई हटाएको छ ।

जनमोर्चा महासचिव मनोज भट्टले संसद सचिवालयलाई उक्त जानकारी दिनु भएको छ ।

गत वैशाख १० गते थापासहित बसेको जनमोर्चा केन्द्रीय समितिको बैठक र १२ गते दलका नेताको हैसियतमा थापाकै अध्यक्षतामा बसेको बैठकले गरेको निर्णय पालना नगरेका कारण दलको नेताबाट हटाएको भट्टले जनाउनु भएको छ । 

उक्त बैठकले गण्डकी प्रदेशमा नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीसँग मिलेर नयाँ सरकार बनाउने निर्णय गरेको थियो ।

 पार्टी निर्णय र निर्देशन विपरित काम गरेको भन्दै जनमोर्चाले थापालाई बुधबार स्पष्टीकरण सोधेको थियो । 

थापाले स्पष्टीकरण दिन अटेरी गरेको जनमोर्चा केन्द्रीय सचिवालयको बुधबार नै बसेको जुम बैठकबाट तत्काल संसदीय दलको नेताबाट हटाउने निर्णय गरेको महासचिव भट्टले संसद सचिवालयमा दर्ता गरेको पत्रमा उल्लेख छ ।


Views: 97