21st June | 2021 | Monday | 12:25:48 PM

गण्डकी नयाँ सरकार गठन–विपक्षी गठबन्धनलाई धक्का : जनमोर्चाका दुई सांसद तटस्थ रहेको पत्र प्रदेश प्रमुखलाई

हिमालय टाइम्स   POSTED ON : बैशाख २९, २०७८ (५:१८ PM)

गण्डकी नयाँ सरकार गठन–विपक्षी गठबन्धनलाई धक्का : जनमोर्चाका दुई सांसद तटस्थ रहेको पत्र प्रदेश प्रमुखलाई

पोखरा । नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले मुख्यमन्त्री नियुक्त गर्न मागसहित चार दलको समर्थनमा गण्डकी प्रदेशको प्रदेश प्रमुख कार्यालयमा पत्र दर्ता गरेको केही समय पछि नै राष्ट्रिय जनमोर्चाका दुई सांसदले कुनै गठबन्धनमा नरहेको जनाएका छन् । 

योसँगै गण्डकीमा नयाँ सरकार गठन गर्ने विपक्षी दलहरूको प्रयासमा धक्का लागेको छ ।

बहुमत दावी गरेर मुख्यमन्त्री दाबेदार नेपालीसहित कांग्रेस माओवादी केन्द्रका नेताहरू प्रदेश प्रमुखको कार्यालयमै रहेको  बेला जनमोर्चाका अर्का सांसद खिमविक्रम शाहीले समेत आफू तटस्थ रहेको जनाउनु भएको छ । 

बागलुङमा रहनुभएको शाहीले लिखित वक्तव्यमार्फत विपक्षी गठबन्धनमा आफ्नो सहभागिता र संलग्नता नरहेको प्रष्ट पार्नुभएको छ ।  शाहीले आफू तटस्थ रहेको जनाउनु भएको छ ।

यसअघि दलका नेता कृष्ण थापाले पनि प्रदेश प्रमुखलाई पत्र लेखी आफू तटस्थ रहेको र दलको नेताबाट हटाएको कुरालाई मान्यता नदिन आग्रह गरेको पत्र पठाई सक्नुभएको छ ।

 जनमोर्चाका तीनमध्ये दुई सांसद तटस्थ रहेपछि विपक्षी गठबन्धनको बहुमत दावी फेल हुने भएको छ । 

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चाले आज अपरान्ह बहुमतको दावीसहित प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष पत्र दर्ता गरेका थिए ।

पोखरेलले आफूलाई नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका १२ (सभामुखसहित), राष्ट्रिय जनमोर्चाका ३ र जनता समाजवादी पार्टी २ सांसदको समर्थन रहेको उल्लेख गर्नुभएको थियो ।


अहिले कांग्रेस संसदीय दलका नेता नेपालीको दावीमाथि अध्ययन तथा छानविन भइरहेको छ यदि मुख्यमन्त्रीमा नेपालीको दावी बहुमत पुष्टि नभए आज नै अर्को प्रक्रिया शुरु हुनेछ । संविधानत बहुमत पुग्न नसके ठूलो दलको हैसियतमा पृथ्वी सुब्वा गुरुङनै मुख्यमन्त्री हुने देखिन्छ । 

Views: 89