स्याङ्जामा जेठ १५ सम्म निषेधाज्ञा थपियो

युवराज पौडेल   POSTED ON : बैशाख २९, २०७८ (७:४५ PM)

स्याङ्जामा जेठ १५ सम्म निषेधाज्ञा थपियो

स्याङ्जा । स्याङ्जा जिल्लामा वैशाख ३१ गते राति १२ बजेदेखि जेठ १५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । आज बसेको जिल्ला कोभिड व्यवस्थापन केन्द्रको  (डिसिसिएमसी) बैठकको सिफारिस तथा आजै बसेको सुरक्षा समिति स्याङ्जाको निर्णयसमेतको आधारमा जिल्ला प्रशासन कार्यालयले उक्त निर्णय लिएको हो । 

स्याङ्जा जिल्लामा हिजोमात्रै ७३ जनामा कोरोना सङ्क्रमण देखिएको थियो । स्याङ्जामा कोरोना सङ्क्रमितको सङ्ख्या बढिरहेका बेलामा प्रशासनले सो निर्णय लिएको हो । निषेधाज्ञा अवधिभर औषधि उपचार तथा अत्यावश्यक कामबाहेक कुनै पनि काममा व्यक्ति घरबाहिर जान पाउने छैन । निषेधाज्ञा अवधिभर सबै प्रकारका गोष्ठी, तालिम, सभा, सम्मेलन, सेमिनार नगर्न तथा खेलकुदका कुनै क्रियाकलाप सञ्चालन नगर्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी दीपकाराज नेपालद्वारा हस्ताक्षरित पत्रमा जनाइएको छ । सो आदेशमा विवाह, ब्रतबन्ध एवम् अन्य संस्कारजन्य कार्यक्रमहरु घरमै गराउनुपर्ने, विवाहमा दुवै पक्षबाट गरि बढीमा १५ जनाभन्दा बढी सहभागी हुन नपाइने जानकारी गराइएको छ । बन्द अवधिभर पनि औषधी पसल भने २४ घण्टा नै खुल्ने छन् । 

सो अविधमा स्वास्थ्य, सुरक्षा, सञ्चार, विद्युत, खानेपानी, दमकलबाट प्रवाह गरिने सेवाबाहेक अन्य सरकारी तथा गैरसरकारी कार्यालय तथा निकायबाट प्रदान गरिने सबै प्रकारका सेवाहरु बन्द गरिएका छन् । एम्बुलेन्स, दमकल, शवबाहन, अत्यावश्यक खाद्य सामग्री, पशुपंक्षीका दाना, दूध, तरकारी, फलफूल, माछा, मासु, पानी, ग्याँस, पेट्रोलियम पदार्थ, प्रेस तथा सञ्चारकर्मीले प्रयोग गरेका सवारी साधन भने निर्बाध गतिमा चल्ने सूचनामा जनाइएको छ ।     

 



Top