कोरोना संक्रमणबाट बागलुङमा माओवादी केन्द्रका नेतासहित तीन जनाको मृत्यु

डम्मर बुढा मगर   POSTED ON : बैशाख ३०, २०७८ (३:२६ PM)

कोरोना संक्रमणबाट बागलुङमा माओवादी केन्द्रका नेतासहित तीन जनाको मृत्यु

बागलुङ  । कोरोनाको संक्रमणबाट बागलुङमा बिहीबार एकैदिन तीन जनाको मृत्यु भएको छ । धौलागिरी अस्पतालमा उपचाररत एक नेतासहित तीन जनाको एक घण्टाको अन्तरालमा मृत्यु भएको अस्पतालले जनाएको छ । 

योसँगै जिल्लामा कोरोना संक्रमण्बाट मृत्यु हुनेको संख्या २० पुगेको छ । कोरोना संक्रमित भइ गत वैशाख १९ गतेदेखि अस्पतालमा उपचाररत ढोरपाटन नगरपालिका–९ का ५७ वर्षीय शेरमान घर्तीको उपचारकै क्रममा मृत्यु भएको हो । उहाँ नेकपा माओवादी केन्द्रका नेता हुनुहुन्छ ।

ढोरपाटन नगरपालिकाको मेयरमा पराजित भएका घर्तीले गत वर्ष भएको बागलुङ क्षेत्र नम्बर २ ख को उपनिर्वाचनमा पनि गण्डकी प्रदेश सदस्यमा उम्मेदवारी दिनुभएको थियो । तर, अन्तिम समयमा अहिले गण्डकी प्रदेश सभा सदस्य रहेर चर्चामा रहेका राष्ट्रियका खिमबिक्रम शाहीलाई समर्थन जनाएर उम्मेदवारी फिर्ता लिनु भएको थियो । 

अस्पतालमै उपचाररत गलकोट नगरपालिकाका वडा नम्बर २ का ५२ वर्षीय पुरुष र बागलुङ नगरपालिका वडा नम्बर ४ बस्ने ७७ वर्षीया पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड १९ फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिनु भयो ।

गल्कोटका ५२ वर्षीय पुरुष बैशाख २२ गते अस्पताल आएका थिए भने ७७ वर्षिय वृद्ध भने मंगलबार मात्रै अस्पताल भर्ना भएको अस्पतालले जनाएको छ । बागलुङमा दिन दिनै संक्रमणको दर फैलिँदै गएको छ । 


Top