21st June | 2021 | Monday | 1:01:07 PM

म्याग्दीमा कोरोना संक्रमण दर उच्च, ७० प्रतिशतको रिपोर्ट पोजेटिभ

गण्डकी प्रदेशमा सबैभन्दा बढी संक्रमण दर म्याग्दीमा

ध्रुबसागर शर्मा   POSTED ON : बैशाख ३१, २०७८ (२:३९ PM)

म्याग्दीमा कोरोना संक्रमण दर उच्च, ७० प्रतिशतको रिपोर्ट पोजेटिभ

म्याग्दी । म्याग्दीमा कोरोना संक्रमणको दर निकै उच्च देखिएको छ । चैतको अन्त्यसम्म सामान्य अवस्थामा रहेको कोरोना सङ्क्रमणको अवस्था वैशाख लागे पछि भयानक वन्दै गएको हो । 

स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार वैशाख महिनामा जिल्लाबाट नमुना संकलन गरि कोरोना परिक्षण गरिएको तथ्यांक अनुसार कोरोना परिक्षण गराएकाहरुमध्ये ७० प्रतिशतको हाराहारीमा संक्रमण देखिएको छ ।

वैशाख महिनामा पिसीआर परिक्षणको लागि स्वाब दिएकाहरुमध्ये विहीवार साँझसम्म ३९६ जनाको रिपोर्ट आएको र त्यसमध्ये २४८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो । उहाँका अनुसार, जिल्लामा कुल १ हजार २६२ जनाको पिसीआर परिक्षणको लागि स्बाब संकलन गरि पठाईएकोमा अझै ८६६ जनाको रिपोर्ट आउन बाँकी छ ।

जिल्लामा कुल २९५ जनामा एन्टिजिनबाट कोरोना परिक्षण गरिएकोमा ८७ जनामा पोजेटिभ देखिएको छ । वैशाख महिनामा जिल्लामा नमुना संकलन गरिएकामध्ये पिसीआर र एन्जिटिन परिक्षण मार्फत ३ सय ३५ जनामा कोरोना पुष्टि भैसकेको छ ।

 म्याग्दीमा कोरोना संक्रमण पुष्टि भएर वैशाख महिनामा मात्रै बेनी अस्पतालमा उपचारका लागि आएका र रिफर गरिएका ८ जनाको ज्यान गैसकेको छ भने अहिले जिल्लामा १९४ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

गण्डकी प्रदेशमै उच्च

म्याग्दीमा कोरोना सङ्क्रमण भुसको आगो झैं भित्रभित्रै फैलिइरहेको छ । यहाँ कोरोनाको संक्रमणको दर गण्डकी प्रदेशमै उच्च देखिन थालेको स्वास्थ्य कार्यालयका प्रमुख लम्सालले बताउनुभयो ।

 ‘‘गण्डकीमा अन्य जिल्लाहरुको तुलनामा म्याग्दीमा संक्रमणदर धेरै देखिएको छ, संक्रमितको संख्या भन्दा पनि संक्रमणको दरले समुदाय स्तरमा यसको संक्रमणको अबस्था गम्भिर रहेको देखाएको छ, ७० प्रतिशतको हाराहारीमा पोजेटिभ देखिनुु अत्यन्तै जोखिमपूर्ण अबस्था हो’’– लम्सालले भन्नुभयो ।

विवाह र धार्मिक पूजाका कारण समुदाय स्तरमा फैलियो कोरोना

म्याग्दीमा वैशाख महिनामा परेका विवाह उत्सब र धार्मिक पूजाका कारण  भएकोे भिडभाडबाट समुदाय स्तरमा कोरोना फैलिएको निक्यौंल निकालिएको छ ।

 शहरी क्षेत्रसंगै ग्रामिण भेगमा समेत कोरोनाको संक्रमण देखिएपछि बेनी नगरपालिका र ५ वटै गाउँपालिकाले लक्षण देखिएका र संक्रमितको नजिकको सम्पर्कमा रहेका व्यक्तिहरुको नमुना संकलन गर्न थालेका छन् ।

समुदाय स्तरमै पुगेर संक्रमितको पहिचान गर्न अभियान चलाएको छ । ‘‘कोरोनाको संक्रमण दर ह्वात्तै बढेको छ, ठाउँ ठाउँमा कोरोनाका लक्षण भएका विरामीहरु देखिन थालेका छन्, थप फैलन नदिनका लागि संक्रमितहरुको पहिचान गर्नका लागि तालिका नै बनाएर स्बाब संकलन कार्य अघि बढाएका छौँ’’–बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले भन्नुभयो । 

म्याग्दीमा तीब्र रुपमा फैलिएको कोरोना संक्रमणलाई नियन्त्रण र व्यवस्थापन गर्न जारी निषेधाज्ञा (लकडाउन)को समय १० दिन थप गरिएको छ ।


जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बिहीवार बसेको बैठकले जिल्लामा वैशाख ३१ गतेसम्म जारी गरिएको निधेषधाज्ञालाई १० दिन थप गरि जेठ १० गतेसम्म गर्ने निर्णय गरेको हो ।

 जिल्लामा कोरोना संक्रमणको दर बढेको कारण संक्रमणलाई थप फैलन नदिन र नियन्त्रण तथा रोकथामका लागि निषेधाज्ञाको समयलाई थप गर्दै कडाई गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार, वैशाख ३१ गते राती १२ बजेदेखि जेठ १० गते राती १२ बजेसम्मका लागि दोस्रो चरणमा थप भएको निषेधाज्ञालाई कडाई समेत गरिने भएको छ ।

म्याग्दीमा समुदाय स्तरमै पुगेर संक्रमितको खोजी गरिँदै

म्याग्दीमा कोरोना संक्रमणको दर बढ्दै गएपछि समुदाय स्तरमै पुगेर संक्रमितको खोजी गर्ने अभियान शुरु भएको छ ।

 कोरोना भाइरसको संक्रमण समुदाय स्तरमै फैलिएपछि रोकथाम र नियन्त्रणका लागि कन्ट्याक्ट ट्रेसिङमा परेका र कोरोनाको लक्षण देखिएका विरामीहरुको पिसीआर परिक्षणका लागि स्वाब संकलन गर्न बेनी नगरपालिका,मंगला र मालिका गाउँपालिकामा स्वास्थ्यकर्मीको टोली खटिएका छन् । 

उनीहरुले खेतवारीमा काम गर्दै गरेका किसान,घरमै बसेका वृद्धबृद्धा,बालबालिका लगाएत रुघाखोकी,ज्वरोका सामान्य विरामीहरुको पनि स्वाव संकलन गरिरहेका छन् ।

बेनी नगरपालिकाले वडा नम्बर २ मा ३० जना र वडा नम्बर ४ मा ६७ जनाको स्वाब संकलन गरि पिसीआर परिक्षणको लागि पठाईएको  नगरपालिकाका प्रशासकीय अधिकृत छबिलाल सुवेदीले जानकारी दिनुभयो ।

  ‘कोरोनाको संक्रमण दर ह्वात्तै बढेको छ, ठाउँ ठाउँमा कोरोनाका लक्षण भएका विरामीहरु देखिन थालेका छन्, थप फैलन नदिनका लागि संक्रमितहरुको पहिचान गर्नका लागि तालिका नै बनाएर स्बाब संकलन कार्य अघि बढाएका छौँ’– अधिकृत सुवेदीले भन्नुभयो ।

त्यसैगरी मंगला र मालिका गाउँपालिकामा पनि वस्ती स्तरमा नै पुगेर सङ्क्रमितहरुको खोजी भैरहेको स्थानीय तहका जनप्रतिनिधिहरुले बताएका छन् ।

आवश्यक पूर्वाधार निर्माणको थालनी

कोरोना संक्रमित र मृत्युहुनेहरुको संख्या दिनानुदिन बढ्दै जान थालेपछि म्याग्दीका स्थानीय तहहरुले आवश्यक पूर्वाधार निर्माणको सुरुवात गरेका छन् ।


बेनी नगरपालिकाले कोरोना रोकथाम र नियन्त्रण संगै संक्रमितको उपचारको लागि समेत आबश्यक पूर्वाधार निर्माण थालेको छ । बेनी अस्पताल परिसरमा २० वेड क्षमताको कोभिड अस्पताल स्थापनाका लागि निर्माणधिन अस्पताल भवनमा आबश्यक पूर्वाधारको बन्दोबस्तको काम भैरहेको नगरपालिकाले जनाएको छ । त्यसैगरि बेनीको माउण्ट एभरेष्टमा रहेको २० वेड क्षमताको प्रि आईसोलेसन कक्षलाई समेत ५० बेडमा रुपान्तरण गर्ने काम अघि बढेको छ ।

 कोरोनाको जोखिम थप भयाबह नहोस भन्ने उदेश्यले नगरपालिकाले परिक्षण र उपचारको व्यवस्थापन संगै वडा स्तरमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, शिक्षक, स्वयमसेवक, युवा क्लब र आमा समूहहरु मार्फत समेत सचेतनाका कार्यक्रम अघि बढाएको नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले बताउनुभयो ।

उहाँले बजार क्षेत्रमा लक्षण देखिएका विरामीहरुले परिक्षण गर्न नगएको गुनासो आएपछिसंक्रमितको सम्पर्कमा रहेका व्यक्तिहरुको समेत अबस्था बुझ्ने काम अघि बढएको जानकारी दिनुभयो ।



Views: 160