प्राविधिकले राजीनामा दिएपछि धौलागिरि अस्पतालमा भिडियो एक्सरे सेवा प्रभावित

डम्मर बुढा मगर   POSTED ON : जेठ १, २०७८ (९:१२ AM)

प्राविधिकले राजीनामा दिएपछि धौलागिरि अस्पतालमा भिडियो एक्सरे सेवा प्रभावित

बागलुङ । बागलुङ नगरपालिका–४ कुँडुलेकी एक गर्भवती महिला कोरोना महामारीकै बीच साहस जुटाएर नियमित चेकजाँजको लागि धौलागिरि अस्पताल पुगेकी थिइन् । चेकजाँचको क्रममा स्वास्थ्यकर्मीले भिडियो एक्सरे गर्न सुझाव दिए । सुझावसँगै भिडियो एक्सरे गर्ने डाक्टर बिदामा बसेको जानकारीसमेत गराए । ‘सुत्केरी हुने समय नजिकिएको छ, डाक्टरले भिडियो एक्सरे गर्नुस् भनेर कागजमा लेखिदिएका छन्,’ ती महिलाले भनिन् ‘अस्पतालमा भिडियो एक्सरे गर्ने डाक्टर नै छैनन् रे, यो कोरोना महामारीको बीचमा कहाँ जाने ?’ 

अस्पतालकै रेडियोलोजिष्टले प्राइभेट स्वास्थ्य संस्थामा पनि भिडियो एक्सरे गर्दै आएकाले उनी नहुँदा सदरमुकामका सबै भिडियो एक्सरे सेवा प्रभावित हुने बिरामीहरूको गुनासो छ । 

धौलागिरि अस्पताल बागलुङमा दैनिक ५० देखि ६० जना भिडियो एक्सरे गर्नुपर्ने बिरामी उपचारको लागि आउँछन् । हप्ताको दुई दिन आइतबार र बुधबार त त्यो संख्या बढेर झण्डै सय पुग्छ । तर, पछिल्लो समय अस्पतालमा भिडियो एक्सरे गर्ने रेडियोलोजिष्टको अभावको कारण नियमिति चेकजाँच गर्नुपर्ने गर्भवती र बिरामीहरू मर्कामा परेका छन् । 

धौलागिरि अस्पताल बागलुङमा गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयबाट करारमा खटाइएका एकजना मात्र रेडियोलोजिष्टले भिडियो एक्सरे गर्दै आएका थिए । सिंगो अस्पतालमा रहेका एक जना मात्र रेडियोलोजिष्ट केही दिन बिदामा बस्दा मात्रै ठूलो समस्या सिर्जना हुन्थ्यो । तर, यतिबेला अस्पतालबाट बिदा मागेर जानुभएका उहाँले इमेलमार्फत राजीनामा पठाएपछि अस्पतालको सेवा प्रभावित मात्र होइन, थप अन्योलमा परेको छ । 

सामाजिक विकास मन्त्रालयबाट करारमा खटिएका रेडियोलोजिष्ट डा.अजय पोखरेलले वैशाख ९ र १० गतेको लागि भन्दै अस्पताल प्रशासनमा बिदा माग गर्दै निवेदन दिनुभएको थियो । तर, वैशाख १२ गतेसम्म अस्पतालमा उपस्थित नभएका उहाँले दुई हप्ता अगाडि इमेलमार्फत राजीनामा पत्र पठाएको धौलागिरि अस्पताल बागलुङका प्रमुख डा.शैलेन्द्र विक पोखरेलले बताउनुभयो । 

‘अस्पतालमा एकजना मात्र रेडियोलोजिष्ट हुनुहुन्थ्यो, बिदामा बस्नुभएका उहाँले पनि इमेलमार्फत राजीनामा पठाउनुभयो’ पोखरेलले भन्नुभयो, ‘यतिबेला अस्पतालको सम्पूर्ण टिम कोरोना संक्रमितको उपचार र व्यवस्थापनमा खटिएको छ, पूर्व–जानकारी बिना उहाँले दिएको राजीनामाको कारण सिंगो अस्पतालको सेवा प्रभावित बनेको छ ।’

कोरोना महामारीको बीचमा सिंगो अस्पतालको एक मात्र रेडियोलोजिष्ट नहुँदा दैनिक सयौँ बिरामी प्रभावित बनेको भन्दै प्रदेश मन्त्रालयमा जानकारी गराए पनि तत्काल समस्या समधानको उपाय नदेखिएको डाक्टर पोखरेलको भनाइ छ । 

इमेलमार्फत राजीनामा पठाउनुभएका रेडियोलोजिष्ट पोखरेललाई अस्पतालमै आएर सल्लाह गरी राजीनामा दिन आग्रह गरेको भए पनि नआएको अस्पताल प्रशासन प्रमुख तारानाथ शर्माले बताउनुभयो । 

‘उहाँ पटक–पटक लामो समयसम्म बिदा बसिरहनुहुन्थ्यो, शर्माले भन्नुभयो, ‘अस्पतालका अन्य सेवाभन्दा भिडियो एक्सरे प्रायः प्रभावित बन्थ्यो,’ शर्माले भन्नुभयो ‘यसपटक बिदा बस्नुभएका उहाँले राजीनामा पठाउनुभयो, महामारीको बेला यसै पनि गर्भवती सुत्केरी र अन्य बिरामी धेरै प्रभावित हुन्छन्, अस्पताल आएर सल्लाह गर्नुस् भनेको उहाँ आउनुभएन ।’


Top