धान फल्ने खेतमा बजार

डम्मर बुढा मगर   POSTED ON : जेठ १, २०७८ (९:२२ AM)

धान फल्ने खेतमा बजार

बागलुङ । मध्यपहाडी लोकमार्ग बागलुङ जिल्लावासीका लागि ‘लाइफ लाइन’का रूपमा साबित बन्दै गएको छ । विकट र पिछडिएको जिल्लाका नजरमा हेरिने बागलुङ अहिले विकसित जिल्लाहरूको सूचीमा पर्छ । लोकमार्ग निर्माणसँगै यहाँ स्थानीयका रहनसहन मात्रै फरिएन, सिंगो बागलुङवासीको दैनिकी र जीवन नै बदलिदिएको छ । 

१०÷१२ वर्ष अगाडि बाँझो रहेका तथा खेतीयोग्य जमिन अहिले भवन तथा विभिन्न किसिमका व्यवसाय गर्ने थलोका रूपमा विकास भएका छन् । खाली जग्गाहरूमा घर भवन निर्माण भइरहेका छन् । 

केही वर्ष अगाडिसम्म सुनसान रहेका ठाउँहरूमा अहिले निकै चहलपल बढी रहेको छ । त्यसमध्ये जिल्लाको बडिगाड गाउँपालिका–५ खौलारा पनि बजारको रूपमा विकास हुँदै गएको छ । सडक नपुग्दासम्म एक÷दुईवटा खरका छाप्राहरू रहेको खौलारामा अहिले ठूला ठूला पक्की भवन बनेका छन् भने सबै किसिमका सेवा सुविधा पनि स्थानीयले यही बजारबाट पाउन थालेका छन् । 

पूर्व–पश्चिममध्य पहाडी लोकमार्गले बडिगाड गाउँपालिकाको बीच भागबाटै चिररे निसीखोला हुँदै पूर्वी रुकुम जोडिएपछि सडकका छेउछाउमा घना बस्ती बस्न थालको छन् भने अधिकांश ठाउँहरूमा बजारको स्वरूप बन्दै गएको छ ।

सडक नहुँदा घण्टौँ यात्रा गरेर दैनिक उपभोग्य सामान ढुवानी गर्ने स्थानीयहरू अहिले घरै अगाडि सबै सामानहरू किनमेल गर्ना पाउँदा दंग छन् । सडकले नजोडिँदा सुनसान रहेको खौलारामा अहिले निकै चहलपहल बढेको स्थानीय शिवलाल आचार्यले बताउनुभयो । आचार्यले पहिले समथर खेत रहेको यो ठाउँमा अहिले बजार बनेको बताउनुहुन्छ ।

‘पहिले यहाँ घरहरू थिएनन्, साना–साना एक÷दुई वटा खरका झुपडी थिए, जताततै धान फल्ने खेत थिए, अहिले यस्तो बजार बनेको छ’ आचार्यले भन्नुभयो, ‘जब सडकले यस ठाउँ जोडियो त्यसपछि ठूला–ठूला घरहरू बन्न थाले, बस्ती विकास हुन थाल्यो र अहिले बजारको रूपमा विकास भएको छ, टाढा–टाढा गएर लिनुपर्ने सेवा अहिले घर छेउबाटै लिन सकिन्छ ।’

५६ वर्षीय आचार्यले आफूहरू नुन तेल लिनको लागि तम्घास, बुटवल, तानसेनसम्म पुग्नुपरेको स्मरण गर्दै पछिल्लो समय भएको तीव्र गतिको परिवर्तनले त्यस बेलाका समस्या अरू समाधान भएको बताउनुभयो ।

‘अहिले हामीले भनेको सबै सामान घरमै आउँछ, पहिले जस्तो टाढा जानुपर्दैन, दिन भर हिँडेर एक बोरा चामल ल्याउन तम्घाससम्म पुग्नुपथ्र्यो, अहिले जति भए पनि यहीँ आउँछ’ उहाँले भन्नुभयो, ‘हामीले यस्तो विकास होला घरमै गाडी आउला, बिजुली बत्ती बालौंला भन्ने सोँचेको पनि थिएनौं ।’ 

आचार्यले आफूहरूले पाल्पा, बुटवल पुगेर मोटर गाडी देखेको स्मरण गर्दै आफ्नै घरअगाडि गाडी आउँदा निकै खुसी लागेको बताउनुभयो । उहाँले सडकले यस क्षेत्र जोडिएपछि यातायातमा सहजता थपिएसँगै बिरामी पर्दा सहजै हस्पिटल पु¥याउन सकिने बताउनुभयो ।

अर्का स्थानीय टीकादेवी आचार्यले सडकले स्थानीयहरूको जीवन परिवर्तन गरिदिएको बताउनुभयो । ६० वर्षीया आचार्यले यस बडिगाडको सबै ठाउँहरू सडकले जोडिएको बताउँदै सडकले यहाँ उत्पादन भएका उत्पादित वस्तुहरू बजारसम्म पु¥याउन सहज भएको बताउनुभयो ।

सडक नआउँदा सामान्य कामको लागि दुई दिन हिँडेर सदरमुकाम बागलुङ बजार पुग्ने गरेको भन्दै अहिले तीन घण्टामै पुग्न सकिने बताउनुभयो । ‘सडक नआउँदा यहाँका जनताले धेरै सास्ती खेप्नुपरेको थियो, आज भोलि दुई÷चार घण्टा लाग्ने स्थानमा पुग्न दुई÷तीन दिन लाग्थ्यो, मान्छे बिरामी परेपछि डोकोमा बोकेर टाढा–पु¥याउनु पथ्र्यो’ आचार्यले भन्नुभयो ‘सडकले अहिले धेरै कुराहरूमा सहजता ल्याएको छ, पहिले जस्तो सास्ती खेप्नुपर्ने अवस्था छैन, बिरामी परियो भने पनि गाडीमै एकैछिनमा औषधि उपचार गर्न गइन्छ, पहिलेको जस्तो उपचार नपाएर अकालमा मर्नुपर्ने अवस्था छैन, अझै पनि विकास हुँदै छ ।’

बडिगाडको विभिन्न स्थानमा लोकमार्ग पुगेपछि सडक छेउछाउमा बस्तीसमेत बढ्न थालेको छ । यसरी बस्ती बढ्दै जाँदा सडक छेउका जग्गाको मूल्य निकै आकासिँदै गएको छ । सडक नआउँदा बाँझैं रहेका जग्गाहरू अहिले घडेरीमा परिणत भएका छन् । सानादेखि ठूला–ठूला भवनले खाली ठाउँ ढाकिन थालेका छन् । 


Top