कोरोना र किराको संङ्क्रमणले थलापरे म्याग्दीका किसान

  POSTED ON : जेठ १, २०७८ (९:५२ AM)

कोरोना र किराको संङ्क्रमणले थलापरे म्याग्दीका किसान

म्याग्दी । नयाँ भेरिएन्ट सहितको कोरोना भाइरसको दोस्रो लहरको सङ्क्रमणले थलापरेका बेला खेतवारीमा लगाइएको मकैवाली फौजीकिराले नष्ट गरिदिए पछि म्याग्दीका किसान दोहोरो रोगको चपेटामा परेका छन् ।

गण्डकी प्रदेशमा कोरोनाको हटस्पट बन्दै गएको म्याग्दीमा भर्खरै उम्रिएको र गोड्ने बेला भएको मकै बाली फौजी कीराले नष्ट गर्न थालेपछि यहाँका किसान दोहोरो चिन्तामा परेका हुन् ।

जिल्लाको बेनी नगरपालिका सहित ६ वटै स्थानीय तहका किसानहरु अहिले कोरोनाबाट संङ्क्रमित भएर होम क्वारेन्टिन, आइसोलेशन तथा स्वास्थ्य संस्थाहरुमा उपचाररत छन् । यही बेलामा  किसानले लगाएको मकै बालीमा फौजी कीराको प्रकोप देखिएको हो । मकै उम्रिनासाथ फौजी कीराले डाँठ र पात दुवै खाएर नष्ट गर्न थालेको बेनी नगरपालिका २ बगरफाँटका कृषक खड्गबहादुर थापाले बताए । 

बगरफाँटको ४ सय रोपनी क्षेत्रफलको फाँटमा फौजी किराले मकैवाली कामै नलाग्ने गरी नष्ट गरिदिएको कृषक थापाले बताए । ‘खेती लगाएका किसान कोरोनाले विस्तारामा थलिएका छन्, खेतमा मकै किराले खाएर थलिएको छ, यस वर्ष खाद्यान्नको पनि संकट हुनेभयो’ कृषक थापाले भने ।

यसअघि गहुँबालीमा समेत किरा लागेर राम्रो उत्पादन हुन सकेको थिएन । गहुँसमेत राम्रो उत्पादन नहुँदा मकैको  आशा गरेर बसेका किसानहरु मकैवाली पनि किराले नष्ट गरिदिँदा चिन्तित बनेका छन् ।

ज्यामरुककोटका अर्का कृषक टेकबहादुर कार्कीले यस वर्ष रोग र भोकले किसानलाई बाँच्न कठिन हुने लक्षण देखिएको बताए । कोरोनाका कारण बजारमा गएर औषधी किन्ने वातावरण नहुँदा घरगाउँकै जैविक औषधी प्रयोग गर्दा रोग र किरा नियन्त्रणमा आउन नसकेको किसानहरुले गुनासो गरेका छन् । तर,कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख गोविन्दराज कोइरालाले औपचारिकरुपमा यस विषयमा किसानले कुनै गुनासो नगरेका बताए ।

किसानहरुका अनुसार भर्खरै उम्रिएका मकैमा कीराको प्रकोप झन बढी देखिएको छ । पर्याप्त आकाशे वर्षा भएपछि म्याग्दीका अधिकांश किसानले अहिले मकै बाली लगाइसकेका छन् ।


Top