अस्पतालमै अक्सिजन भर्न मिल्ने प्लान्ट निर्माण भएपछि आपूर्तिमा सहज

धु्रवसागर शर्मा   POSTED ON : जेठ १, २०७८ (१०:४० AM)

अस्पतालमै अक्सिजन भर्न मिल्ने प्लान्ट निर्माण भएपछि आपूर्तिमा सहज

म्याग्दी । म्याग्दीको बेनी अस्पतालमा खाली सिलिन्टरमा पनि भर्न मिल्ने गरी अक्सिजन प्लान्ट निर्माण भएपछि अक्सिजन आपूर्तिमा सहज भएको छ ।

आवश्यक अक्सिजनको जोहो गर्नका लागि म्याग्दीमा प्रहरीले बजारबाट अक्सिजन सिलिन्डर संकलन गरेर बेनी अस्पताल लाई बुझाएको छ । बेनीको बजार क्षेत्रका ग्यारेज र उद्योगबाट विहिवार संकलन गरेका २२ थान सिलिन्डर अस्पताललाई बुझाएको हो ।

कोभिड–१९ को संक्रमणबाट म्याग्दी जिल्लामा बिरामीको चाप बढेकोले उपचारको क्रममा अति आवश्यक अक्सिजन  सिलिन्डरको अभाव हुन नदिन प्रहरीले बजार क्षेत्रबाट सिलिन्डर संकलन गरेको डिएसपी श्यामकुमार राईले बताउनुभयो ।

प्रमुख प्रहरी नायव उपरीक्षक श्याम राईले प्रमुख जिल्ला अधिकारी गणेश बहादुर अधिकारी,प्रमुख अनुसन्धान अधिकृत महेश गुरुङको उपस्थितिमा बेनी अस्पताल  व्यवस्थापन समितिका अध्यक्ष बेल बहादुर कटुवाललाई हस्तान्तरण गर्नु भएको थियो ।

नेपालका धेरै अस्पतालमा अक्सिजनको अभावमा उपचार प्रभावित भैरहेका बेला म्याग्दीमा भने अहिलेसम्म त्यस्तो समस्या उत्पन्न नभएको अस्पताल विकास समितिका अध्यक्ष कटुवालले बताउनुभयो ।

महामारीका रूपमा फैलिएको कोरोना भाइरसका साथै श्वासप्रश्वासका बिरामीको उपचारका लागि आवश्यक पर्ने अक्सिजनमा म्याग्दी जिल्ला आत्मनिर्भर बनेको अस्पतालले जनाएको छ ।

 बेनी अस्पतालले अक्सिजन उत्पादन केन्द्र सञ्चालन गरेर जिल्लालाई अक्सिजनमा आत्मनिर्भर बनाएको हो । देशका विभिन्न ठाउँमा अक्सिजन अभावमा कोरोना सङ्क्रमित र श्वासप्रश्वासको समस्या भएका बिरामीको उपचारमा समस्या भएको खबर सार्वजनिक भइरहेका बेला म्याग्दीमा भने अक्सिजनको उत्पादन र आपूर्ति पर्याप्त छ ।

बेनी अस्पतालका प्रमुख डा जितेन्द्र कँडेलले उपचारका लागि आउने र घरमै अक्सिजन लगाउनुपर्ने बिरामीका लागि पर्याप्त अक्सिजन व्यवस्थापन गरिएका बताउनुभयो । ‘अस्पतालको सबै शय्यामा प्लान्टबाट सिधैँ पाइपबाट अक्सिजन आपूर्ति गर्ने व्यवस्था मिलाएका छौँ’, उहाँले भन्नुभयो– ‘आइसोलेशन कक्षमा पनि पाइपबाट सिधैँ अक्सिजन आपूर्ति गर्ने संरचना तयार पार्दैछाँै । सिलिण्डर पनि तयारी अवस्थामा छन् ।

बेनी अस्पतालमा ३४ ठूला, चारवटा मध्यम र एम्बुलेन्समा जडान भएकासहित छवटा साना अक्सिजनका सिलिण्डर छन् । अस्पतालका सिलिण्डर बिरामीलाई घर लैजान दिइएको छैन । दीर्घरोगीको निधनपछि घरमै प्रयोगविहीन भएर थन्किएका अक्सिजन सिलिण्डर उपलब्ध गराउन अस्पतालले अपिल गरेको छ ।




Top