आँधीखोलामा लोपोन्मुख माछाका भुरा छाडियो

युवराज पौडेल   POSTED ON : जेठ १, २०७८ (११:५० AM)

आँधीखोलामा लोपोन्मुख माछाका भुरा छाडियो

स्याङ्जा । आँधीखोलमा माछा लोप भइरहेको भन्दै माछा संरक्षण गर्ने उद्देश्यले ५ हजार माछाका भुरा छाडिएको छ ।

 आँधीखोला धार्मिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिले पनि स्याङ्जा जिल्लाकै महत्वपूर्ण चिनारीका रुपमा रहेको आँधीखोलामा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले गण्डकी प्रदेश सरकार र स्थानीय सरकार पुतलीबजार नगरपालिकाको सयुक्त कार्यक्रम अन्तर्गत माछाको भुरा छाडेको हो ।

स्थानीय जातिको शहर माछा लोपोन्मुख अवस्थामा पुगेको भन्दै शहर माछासहित अन्य जातको माछा आँधीखोलामा छाडिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले स्याङ्जाले जनाएको छ । आँधीखोलामा पाइने भतरलक, तेल चाप्रे, असला, सहरलगायतका रैथाने जातका माछा लोपोन्मुख अवस्थामा पुगेको भन्दै माछाको भुरा छाडिएको हो । लोपोन्मुख माछाको संरक्षण गर्दै माझी समुदायलाई आयआर्जनसँग जोडाउन माछा छाडिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा.ब्रजकिशोर ठाकुरले बताउनु भयो ।

पहिले आँधीखोलामा सहर, असला जस्ता स्वादिला माछाहरू थिए । यहाँका माछाहरू देशविदेशमा समेत चिनिएका थिए । तर हाल आँधीखोलमा माछा लोपहुँदै गएका छन् । विगतमा विषादीको प्रयोग गर्ने र करेन्ट लगाउने जस्ता गतिविधि लुकिछिपी गर्ने भएकाले पनि माछाका भुरा नै मासिएको स्थानीयहरूको भनाइ छ । खोलामा माछा लोप हुँदै गएको कारण सरोकारवालाहरूमा चिन्ता छाएको छ । यहाँ माछा मासिनुका विभिन्न कारण छन् । आधुनिकताको  प्रभाव आँधीखोलामा पनि परेको छ । आँधीखोलामा पाइने ढुङ्गा, गिटी, बालुवाको तीव्र उत्खननले खोलाको स्वरूप नै बिग्रेको छ । आजभोलि खोलामा ढुङ्गा नै छैनन् । ढुङ्गा नभएपछि माछाको बासस्थानमा पनि समस्या परिरहेको छ । दिनहुँजसो डोजर, ट्याक्टर, ट्रिपर लगायतका साधनहरूबाट ढुङ्गा, गिटी, बालुवा उत्खनन हुँदा पनि सम्बन्धित निकायको ध्यान जान सकेको छैन । 

माछा लोप हुन लागेको भन्दै यस अगाडि आँधीखोला गाउँपालिकाले पनि ५५ हजारभन्दा बढी माछाका भुरा खोलामा छाडेको थियो । आँधीखोला गाउँपालिकाले हालयसको संरक्षण गर्न र खोलामा विषादीहाल्ने तथा अन्य गैह्र कानुनी तरिकाले माछा मार्ने प्रवृत्तिलाई दुरुत्साहन गर्न कडाइ गरिरहेको छ । आँधीखोला गाउँपालिका अध्यक्ष सुधीरकुमार पौडेलले भन्नुभयो, ‘हाम्रो सभ्यताको मूल धरोहर आँधीखोलाका सुन्दर माछा लोप हुँदा त्यसले हाम्रो पहिचानमा समेत असर गर्छ, वातावरणका लागिपनि यो चिन्ताको विषय हो । त्यसैले हामीले यसलाई बचाउनका लागि हाम्रो क्षमताले भ्याएसम्म लागेका छौँ ।’

खोलामा माछा नहुदा माछा मारेर जीवन धान्ने माझीहरूको आयआर्जनमा समेत समस्या भएको छ । पुतलीबजार नगरपालिकाकी प्रमुख सिमाकुमारी क्षेत्रीले आँधीखोलाको सही प्रयोगबाट धेरै फाइदादिन सकिने बताउदै आँधी खोलालाई पर्यटकीय स्थलको रूपमा प्रयोग गर्दै आर्यआर्जनको रूपमा विकास गर्न माछाका भुरा छाडिएको जानकारी दिनुभयो । उहाँले सबै मिलेर आँधीखोलाको सभ्यता संरक्षणमा जुट्नपर्ने धारणा व्यक्त गर्नुभयो । 


Top