बेनी अस्पतालमा २० शय्याको सुविधा सम्पन्न आइसोलेसन

ध्रुबसागर शर्मा   POSTED ON : जेठ ३, २०७८ (२:४७ PM)

बेनी अस्पतालमा २० शय्याको सुविधा सम्पन्न आइसोलेसन

म्याग्दी । गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणको हटस्पट बनेको म्याग्दीको सदरमुकाम बेनी स्थित, बेनी अस्पतालमा कोरोना सङ्क्रमितको उपचारका लागि अक्सिजन सहितको २० बेड क्षमताको आईसोलेसन कक्ष निर्माण गरिएको छ ।

 कोरोना संक्रमित बढेसँगै अस्पतालमा बेड अभाव हुनथालेपछि अस्पतालको निर्माणधिन भवनमा निर्माण गरिएको आइसोलेसन कक्ष आइतबार देखि सञ्चालनमा ल्याइएको हो । 

गण्डकी प्रदेश सरकारको १५ लाख र बेनी नगरपालिकाले उपलब्ध गराएको ५ लाख गरि २० लाख रुपियाँ खर्चिएर सुविधासम्पन्न आइसोलेसन बनाइएको छ । आइसोलेसन कक्षमा यसअघि बेनी नगरपालिका र अस्पतालले खरिद गरेका शय्या प्रयोगमा ल्याइएको छ ।

कोरोना भाइरस संक्रमण फैलिन क्रम रहेको र सङ्क्रमित थपिदै जाँदा बेडको अभाव नहोस भनेर अक्सिजन सहितको आइसोलेसन कक्ष निर्माण गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिनुभयो ।

निर्माणधिन भवनको तल्लो तल्लामा रहेका ५ वटा कोठालाई व्यवस्थापन गरेर आइसोलेसन बनाइएको हो ।

अस्पतालमा रहेको अक्सिजन उत्पादन केन्द्रबाट विरामीको बेड सम्म नै पाइपबाट अक्सिजन पु¥याउने तयारी गरिएको छ । आईसोलेसन कक्ष सञ्चालनमा आएपछि कोरोना संक्रमित विरामीहरुलाई उपचार गर्न सहज भएको छ ।

होम आइसोलेसनमा बसेका बिरामीमा श्वासप्रश्वास सहित विभिन्न समस्या देखिएर अस्पतालमा भर्ना हुन थालेपछि चिकित्सकको नियमित निगरानीका लागि आइसोलेसन कक्षको स्थापना गरिएको बेनी अस्पतालका अध्यक्ष कटुवालले बताउनु भयो । उहाँका अनुसार आइतबार ७ वटा बेड सञ्चालन गरिएपनि अन्य बेडहरू समेत तयारी अवस्थामा रहेका छन् । आइसोलेसन कक्षको भौतिक संरचना ब्यवस्थापन र मर्मतका लागि बेनी नगरपालिकाले डिसिसिएमसीको सिफारिसमा ६ लाख ३७ हजार आर्थिक सहयोग गरेको छ ।

अस्पतालका आकस्मिक कक्ष नजिक रहेकाले चिकित्सकलाई समेत निगरानी र बिरामीलाई आवश्यक परार्मश दिन सहज हुने बताइएको छ । आइसोलेसन कक्षमा अक्सिजन कन्सन्ट्रेटर सहित हाइ फ्लो अक्सिजन चाहिने बिरामी र स्वासप्रस्वासमा समस्या समस्या र अन्य संक्रमतिलाई छुट्टै राखिने छ ।

कोरोना भाइरसका बिरामी होम आइसोलेसन बसेको अवस्थामा एक्कासी स्वास्थ्यमा समस्या आएपछि धमाधम अस्पतालमा भर्ना हुन थालेकाले हाल आकस्मिक कक्ष र ओपिडीको प्रवेशद्धारमा बेड राखेर उपचार भइरहेको छ ।

 संक्रिय संक्रमित उपचारका लागि बेनी अस्पतालमा पुग्ने गरेको अवस्थामा अधिकांशको शरीरमा अक्सिजनको मात्रा कम र निमोनियाबाट ग्रसित रहेको देखिएको चिकित्सकहरुले बताएका छन् ।


Top