म्याग्दीमा ३ महिने शिशु र ८९ वर्षिय बृद्ध सहित ५३ जनाले जिते कोरोना

ध्रुवसागर शर्मा   POSTED ON : जेठ ४, २०७८ (१०:२० AM)

म्याग्दीमा ३ महिने शिशु र ८९ वर्षिय बृद्ध सहित ५३ जनाले जिते कोरोना

म्याग्दी । कोरोना संङ्क्रमणमा गण्डकी प्रदेशकै हटस्पट बनेको म्याग्दी जिल्लामा सोमबार ३ महिने शिशु र ८९ वर्षिय बृद्ध सहित ५३ जनाले कोरोनालाई जितेर सहज अवस्थामा फर्किएका छन् ।

स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार बेनी नगरपालिका घर भई पर्वत बेनी बस्ने आमासंगै सङ्क्रमित भएका तीन महिने शिशु, म्याग्दीको रघुगंगा गाउँपालिका– ३ रानीपौवा निवासी ८९ बर्षीय ज्येष्ठ नागरिक सहित ५३ जनाले कोरोनालाई जितेका छन् ।

त्यसैगरी हिजो सोमवार नै पिसिआर र एन्टिजिन विधिबाट गरी ८२ जना नयाँ कोरोना सङ्क्रमित थपिएको बेनी अस्पतालले जनाएको छ । उता उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेमा सञ्चालित कोभिड अस्पतालमा उपचाररत ८९ वर्षिय केशव सुवेदी कोरोनालाई पराजित गरी घर फर्किएका छन् । सुवेदीको स्वास्थ्यमा सुधार आएर निको भएपछि उनलाई सोमबार साँझ अस्पतालबाट घर पठाईएको हो ।

ज्येष्ठ नागरिक भएपनि कोरोनालाई सजिलै जित्नुभएका सुवेदीले कोरोनालाई अन्य मौसमी स्वास्थ्य समस्याहरु जस्तै सामान्य लिएर आत्मवल बलियो बनाउने र स्वास्थ्य सावधानी अपनाउँदै स्वास्थ्यमा आएको समस्यालाई नलुकाइकन समयमै अस्पताल पुगेर उपचार गरे सहजै निको हुन सकिने अनुभव व्यक्त गरे ।

कोरोना संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका सुवेदीलाई एक साता अघि कोरोनाको लक्षण देखिएपछि कोरोना परिक्षण गरिएको थियो । रिपोर्ट पोजेटिभ देखिएको र उहाँमा रुघाखोकी सहित अक्सिजनको मात्रा समेत कम देखिएपछि कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

सोमबार सम्ममा उनको स्वास्थ्यमा सुधार भएर निको भएपछि अन्य शक्तिवद्र्धक र रोगप्रतिरोधात्मक क्षमता बढाउने औषधिहरु सहित उहाँलाई घर पठाईएको अस्पतालका डाक्टर सन्तोषप्रसाद बोहराले बताए ।

‘अस्पतालमा उपचारमा अत्यन्तै राम्रो सेवा पाएँ, डाक्टर र स्वास्थ्यकर्मी नियमित रुपमा खटिनुभएको छ, कोरोनालाई लुकाएर घरमा नबस्न र विरामी भएमा उपचार गराउन सुझाब दिन्छु’–सुवेदीले भने । सुवेदीले अस्पतालको सेवाप्रति खुसी व्यक्त गर्दै थप व्यवस्थापनका लागि वडा अध्यक्ष जिवनकुमार मल्ललाई नगद रु ५ हजार सहयोग समेत हस्तान्तरण गरेका थिए ।


Top